बिहीबार सम्पन्न १४औँ चरणको खेलमा संकटा क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले उपाधि होडमा पुनरागमन गरेको छ।
काठमाडौँ– पछिल्ला दुई खेलमा सातदोबाटो यूथ क्लब र थ्री स्टारसँग गोलरहित बराबरी खेल्दै उपाधि होडबाट बाहिरिएको साबिक विजेता मछिन्द्र क्लबले पुनरागमन गर्दा संकटा र न्युरोड टिम (एनआरटी)माथि रेलिगेशनको डर यथावत् रहेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलमा तीन अंक गुमाएपछि संकटा र एनआरटीलाई रेलिगेशनको डर भएको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न १४औँ चरणको खेलमा संकटा क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले उपाधि होडमा पुनरागमन गरेको छ।
मछिन्द्र २४ अंक बटुल्दै अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहेको जावलाखेल यूथ क्लब र चर्च ब्वाइज युनाइटेडभन्दा तीन अंकले पछि रहेको छ। समान खेलबाट २३ अंक बटुलेको थ्री स्टार र २२ अंकसहित चौथो स्थानमा रहेको सातदोबाटोसँग भने मछिन्द्रले अंक दूरी घटाएको छ।
मछिन्द्रले १४ खेलको समाप्तिमा ५ जित, ६ बराबरी र ३ हारसहित २१ अंक जोडेको छ। तालिकाको पाँचौँ स्थानमा रहेको मछिन्द्रलाई १९ अंक साथ सातौँ स्थानमा रहेको विभागीय टोली एपीएफसँग खेल्ने छ।
बिहीबारको खेलमा मछिन्द्रलाई ३ अंक दिलाउन देवेन्द्र तामाङ, ओलाओले अफिज र बिमल घर्तीमगरले १/१ गोल गरे। जुनिअर ओन्गुनेले गोल गर्दै संकटालाई खेलमा फर्काउने संकेत देखाएका थिए। तर, संकटाले २ गोलको अग्रता फर्काउन सकेन।
खेलको चौथो मिनेटमै मछिन्द्रले देवेन्द्रको गोलमार्फत अग्रता लिएको थियो। मिडफिल्डर पुजन उपरकोटीको प्रहार गोलरक्षक टिकेन्द्र थापालाई लागेर फर्किएको थियो। उक्त बललाई कलेक्ट गर्दै देवेन्द्रले करिब ६ यार्डबाट गोलमा परिणत गर्दिए। पहिलो हाफमा एक गोल मात्रै भएको खेलको दोस्रो हाफमा तीन गोल भएको थियो। ६९औँ मिनेटमा अफिजले सौरभ लिम्बुको पासमा वन भर्सेस वनको अवस्थामा गोल गरे।
७२औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरेपनि सहायक रेफ्री नानीराम थापामगरले अफसाइडको संज्ञा दिँदा मछिन्द्रले तीन गोलको अग्रता बनाउने मौका गुमाएको थियो। त्यसको ६ मिनेटपछि जुनिअरले निशान खड्काको क्रसमा हेडरमार्फत गोल गर्दै संकटलाई खेलमा फर्काउने प्रयास गरेका थिए। तर, ७८औँ मिनेटमा देवेन्द्रको लामो फ्रिकिकमा पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेका विमलले गोल गर्दै मछिन्द्रलाई ३-१ गोल अन्तरको जित दिलाए।
पराजित भएसँगै संकटालाई रेलिगेशनको डर यथावत् रहेको छ। १४ खेलबाट ४ जित, ४ बराबरी र ६ हार बेहोरेको संकटाको १६ अंक रहेको छ। संकटासँग रेलिगेशन जोनमा रहेका खुमलटारभन्दा २ र फ्रेन्ड्स तथा पुलिससँग भन्दा १ अंक बढी रहेको छ। १४औँ स्थानमा रहेको खुमलटारको १४ र फ्रेन्ड्स तथा पुलिसको १५/१५ अंक रहेको छ।
एपीएफ र एनआरटीको बराबरी
पहिलो लेगको खेलमा एपीएफमाथि १-० गोल अन्तरको जित निकालेको एनआरटी दोस्रो लेगमा बराबरीमा रोकिएको छ। एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न खेलमा दुवै टोलीले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्। एनआरटीका लागि भारतीय खेलाडी लालनुनजामाले गोल गरे। तर, एडम डोम्बियाले गोल गर्दै एपीएफलाई हारबाट जोगाए।
पहिलो हाफ गोलरहित सकिएको खेलको दोस्रो हाफमा दुवै गोल भएका हुन्। खेलको ५७औँ मिनेटमा लालनुनजामाको गोलमार्फत एनआरटीलाई अग्रता लिएको थियो। तर, इन्ज्युरी समयमा सम्हालिन नसक्दा एनआरटीले स्पष्ट तीन अंक गुमायो।
बराबरीसँगै एपीएफले १४ खेलमा १९ अंक जोडेको छ। अंक तालिकामा एपीएफ सातौँ स्थानमा रहेको छ। एपीएफले ४ जित, ३ बराबरी र ७ हार बेहोरेको छ। नवौँ स्थानमा रहेको एनआरटीले १७ अंक जोडेको छ। एनआरटीले ४ जित, ५ बराबरी र ५ हार बेहोरेको छ। एनआरटीलाई पनि रेलिगेशनको डर यथावत् रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
