एक दशकमा लगभग आधा बस्ती बसाइँ हिँडेपछि खेतमा भारतीयहरू आउन थालेको स्थानीयवासी बताउँछन्। नेपालतिर आएर भारतीयले खेतीपाती गर्ने क्रम बर्सेनि बढ्दै गएको छ।
झापा– हरेक बिहान घाम नउदाउँदै एक हुल मानिस भारतबाट सीमा छिचोलेर नेपाली भू–भागतिर पस्छन्। दशगजा जोडिएको नेपाली खेतमा कोही हलो जोत्छन्, कोही झार उखेल्छन्। खाजा र भात नेपालतिरै खान्छन्। बेलुकी घाम अस्ताउनुअघि मेची नदीमा नुहाएर उनीहरू भारततिरै बाटो लाग्छन्।
यो दृश्य मेचीपारिको नेपाल भनेर चिनिएको मेचीनगर–१५ ग्वालाबस्तीको हो। बस्तीको पूर्वबाट मेची नदी बग्ने भएका कारण हजारौँ बिघा जग्गा रहेको यो नेपाली भू–भाग टापुजस्तो अवस्थामा मेचीपारि छ। यहाँ नेपाली खेतमा भारतीय नागरिक आएर वर्षौँदेखि निर्वाध खेतीपाती गर्दै आएका छन्।
भारतको पश्चिम बंगाल प्रान्तको चुन्नीलाल जोत निवासी ३१ वर्षीय वासुदेव मुर्मूले विगत लामो समयदेखि नेपाली भूमिमा तरकारी खेती गरिरहेको बताए। उनले तीन बिघा जग्गामा यसपालि पर्वल, करेला र लौका खेती गरिररहेका छन्।
हरेक दिन कामदार लिएर उनी भारतबाट नेपालतिर आउँछन्। वास्तविक जग्गाधनीको नाम र ठेगाना पनि उनलाई थाहा छैन। तर धुलाबारीतिरका एक व्यक्तिले सो जग्गाको वार्षिक १० हजार भाडा उठाउने गरेको उनी बताउँछन्।
“यसपालि पर्वलखेती राम्रो फस्टाउला भन्ने आशा छ”, तरकारीका बिरुवा गोडमेल गर्दै मुर्मूले सुनाए, “आकाशे पानी पनि राम्रै परिरहेको छ । बजारभाउ बढ्यो भने निकै नाफा हुन्छ होला।”
मेचीपारि मेचीनगर–१५ मा ग्वालाबस्ती र सिसौडाँगी गरी दुई नेपाली बस्ती छन्। एक दशकमा लगभग आधा बस्ती बसाइँ हिँडेपछि खेतमा भारतीयहरू आउन थालेको स्थानीयवासी बताउँछन्। नेपालतिर आएर भारतीयले खेतीपाती गर्ने क्रम बर्सेनि बढ्दै गएको छ।
विसं २०१८ देखि ग्वालाबस्तीमा बसोबास गर्दै आएका ८२ वर्षीय राजेन्द्र यादवले बस्तीमा विकासे पूर्वाधार केही नभएका कारण बसाइँ हिँड्ने क्रम बर्सेनि बढ्दै गएको बताए। बसाइँ हिँड्ने बढेपछि बस्तीका कतिपय खेत बाँझै रहने गरेका छन्। त्यही भएर सीमापारिका मान्छेहरूले नेपाली खाली भू–भागमा आँखा लगाउन थालेको स्थानीयवासी बताउँछन्।
बसाइँ सरेर मेचीवारि आएकाहरू खेतीका लागि मेची नदी तरेर जान रुचि राख्दैनन्। बरु भाडामा खेती गर्न आउने भारतीयलाई नै जग्गा दिने गरेको यादव बताउँछन्। बलौटे तर उर्वर माटो भएकाले त्यहाँ अन्नबालीभन्दा तरकारी बाली फस्टाउने गरेको भारतीय कृषक मुर्मू बताउँछन्। सो बस्तीमा कुनै नेपाली सुरक्षा पोस्ट नभएको हुँदा भारतीयलाई आउजाउ गर्न सहज छ। पाकेको बालीसमेत उनीहरू ट्र्याक्टर र मोटरसाइकलमा लोड गरेर भारततिरै लैजान्छन्।
“तरकारी फलेपछि भारतीय बजार बतासी र अधिकारीमा लगेर बेच्छौँ”, उनले भने, “नेपाली जग्गामा फलेको सब्जी भनेपछि भारतीय हाटबजारमा किन्नेहरू हारालुछ गर्छन् ।” कहिलेकाहीँ धेरै उत्पादन हुँदा भारतका ठूला सीमावर्ती बजार पानीटंकी र नक्सलबारीमा लगेर सब्जी बेच्ने गरेको उनले जानकारी दिए।
ग्वालाबस्तीमा पाँच बिघा बगरखेती भएका डुक्कु बेस्रा मेचीवारि नै बसोबास गर्नुहुन्छ । मेची नदी तरेर जाने झन्झट उठाउनुको साटो उनले पनि भारतीय नागरिकलाई नै जग्गा भाडामा दिने गरेका छन्।
उनले दिएको जग्गामा तरकारी र अनारस (भुइँकटहर) खेती हुर्किरहेको छ। महँगो मूल्यमा बिक्री हुने र बिक्रीका लागि बजारको समस्या नरहेकाले अनारस खेतीमा भारतीय नागरिकको आकर्षण बढेको पाइएको छ। ती जग्गामा सिँचाइका लागि इनार खनिएका छन्। इनारको पानीलाई सानो वाटरपम्प मेसिनको सहायताले तानेर खेत भिजाउने गरिएको छ। भारतीयहरूले उतैबाट रासायनिक मल ल्याएर प्रयोग गर्दै आएका छन्।
मेचीपारिका ती बस्तीहरू तरकारी खेतीका लागि वर्षौँदेखि प्रसिद्ध छन्। यहाँको बगरखेतीमा फल्ने खरबुजा, काँक्रा, लौका, फर्सीजस्ता तरकारीले नेपालको भद्रपुर, काँकरभिट्टा, धुलाबारी र बिर्तामोडसम्म बजार पाउँथ्यो। तर एक दशकयता नेपालीहरूले खेतीपाती घटाउँदै लगेका कारण भारतीय नागरिकको हालीमुहाली बढ्दै गएको छ।
नेपाली सुरक्षा निकायको कुनै चौकी नभएको ग्लालाबस्ती र सिसौडाँगीमा सशस्त्र प्रहरीको सीमा सुरक्षा हेर्ने बिओपी ज्यामिरगढीको गस्तीटोली कहिलेकाहीँ पुग्ने गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
