पोखराको कथाः लाहुरे बन्न खुट्टा उचालिरहेको शहर

पर्यटकीय नगरी भनेर चिनिने पोखराको अर्को परिचय हो लाहुरेको शहर। एकाबिहानै डोकोमा ढुंगाको भारी बोकेर दौडिरहेका युवा ‘लाहुरे’ हुने सपना बोकेर पोखराका चोक र डाँडामा पसिना बगाइरहेका छन्।

तस्वीरहरू: श्याम/उकालो

पोखरा– नियमित रूपमा ‘मर्निङवाक’ गर्नेहरूले पोखरामा डोकोभरि ढुंगा बोकेर दौडिरहेका युवा भेट्नु सामान्य हो। उनीहरू ‘लाहुरे’ बन्न खुट्टा उचालिरहेका युवा हुन्। पोखरा यसै पनि ‘लाहुरेको शहर’ भनेर चिनिन्छ। 

गएको वैशाख १९ गते बिहानै अमरसिंहचौरमा असिनपसिन हुँदै तालिममा व्यस्त थिए कपिल खड्का। उनी लाहुरे बन्ने तालिम लिनकै लागि अर्घाखाँचीबाट पोखरा आएका हुन्। यहाँ दुई वर्षदेखि ‘प्रि–आर्मी’ तालिम लिइरहेका छन्। “पोहोर पनि देखाएको (बेलायती सैन्य भर्तीको शारीरिक परीक्षा दिएको) थिएँ। यसपालि पनि देखाउने भनेर प्रयास गरिरहेको हो,” उनी भन्छन्। 

पहिलोचोटि देखाउँदा असफल भएको, तर यसपटक सफल हुनेमा आशावादी भएको कपिलले बताए।

कपिलको परिवारका कोही पनि सदस्य लाहुरे छैनन्। प्रशस्त पैसा कमाउनका लागि आफू लाहुरे हुन चाहेको बताउँछन्। “मेरो साथीका दाइ लाहुरे भएर आउनुभएको छ। अनि, मेरा साथीहरू धनी बाउआमाका छोराछोरी भए,” उनी भन्छन्, “पढाइमा मैले राम्रो गर्न सकिरहेको थिइनँ। ९ कक्षामा आइसकेपछि बल्ल लाहुरे हुने भन्ने थाहा पाएँ। त्यसपछि प्रयास गर्न थालेको हुँ।”

कपिलजस्ता लाहुरे बन्ने तयारीमा लागेकाहरूको आकर्षण बेलायती सेना र सिंगापुर पुलिसमा भर्ती हुँदा पाइने सेवासुविधा नै हो। पोखराको हस्पिटल चोकस्थित प्रि–आर्मी ट्रेनिङ स्कुलका सञ्चालक तथा प्रशिक्षक यकिन गुरुङका अनुसार बेलायती सेना र सिंगापुर पुलिसमा भर्ती हुनेबित्तिकै १७ सयदेखि २२ सय पाउन्ड तलब हुन्छ। यो रकम औसत ३ लाख रुपैयाँ हुन्छ।

यही सुविधाका कारण युवाहरू भर्ती हुन मरिमेटेर लाग्ने गुरुङ बताउँछन्। “सबैको आकर्षण भनेकै राम्रो तलब र पेन्सन सुविधा नै हो। लाहुरे भइहाले आफ्नो लागि त राम्रो भयो नै, परिवारले पनि सुख पाउने भयो,” गुरुङ भन्छन्।

बेलायती सेनामा भर्ती लिने नेपालस्थित ब्रिटिश क्याम्पको कार्यालय पोखरामा नै छ। यही क्याम्पले सिंगापुर पुलिसका लागि पनि भर्ती लिन्छ। त्यसकारण प्रि–आर्मी तालिम दिने संस्था पोखरामा नै खुलेका छन्। देशका विभिन्न भागबाट युवाहरू तालिमका लागि बर्सेनि यहाँ आउने प्रि–आर्मी स्कुल संचालक गुरुङ बताउँछन्। पोखरामा मात्र करिब पाँच दर्जन प्रिआर्मी स्कुल खुलेका छन्।

गुरुङका अनुसार लाहुरे तयारीमा आउने अधिकांश युवाले पढाइलाई दोस्रो प्राथमिकतामा राखेका हुन्छन्। कतिपयको पढाइ बीचैमा टुट्ने गरेको छ। त्यसैले भर्ती हुन नसकेका युवाले जीवनशैली पुरानै लयमा फर्काउन संघर्ष गर्नुपर्छ। “लाहुरे नै बन्छु, मेरो अन्तिम गोल नै लाहुरे हो भनेर आउँछन्। छनौट हुन नसके के गर्ने? यहाँनेर एकदमै गाह्रो हुनेगर्छ,” उनी भन्छन्। 

बेलायती सेना र सिंगापुर पुलिसमा छनौट हुन नसकेका युवा भारतीय सेनामा जाने गर्थे। दोस्रो रोजाइमा भारतीय सेना पर्ने गरे पनि भारत सरकारले लागू गरेको ‘अग्निपथ’ योजनाले अहिले गोर्खा भर्ती रोकिएको छ। अग्निपथ योजनाअनुसार भर्ती भएकामध्ये २५ प्रतिशतलाई सेनामै राख्ने र बाँकी ७५ प्रतिशतलाई एकमुष्ट रकम दिएर चार वर्षपछि फिर्ता पठाउने भारत सरकारको नीति छ। तर, नेपाल सरकारले सहमति नजनाएपछि भर्ती रोकिएको छ। 

परिवेश फरक, सपना एउटै
युके आर्मी र सिंगापुर पुलिसमा भर्ती हुन १८ वर्ष पुगेको र २१ वर्ष उमेर ननाघेको हुनुपर्छ। ११ पढ्दापढ्दै भर्ती हुन आएका अर्घाखाँचीका कपिल यसपटक भर्ती हुन नसके अरू दुई वर्षसम्म प्रयास गर्ने योजनामा छन्।

उदयपुरबाट लाहुरे हुन पोखरा आएका २० वर्षीय रोहित कार्की उमेरले भ्याएसम्म प्रयास गर्ने बताउँछन्। उनलाई पनि बेलायती सेनाको राम्रो तलब सुविधाले आकर्षित गरेको हो। “लाहुरे हुन्छु भन्ने सोच पहिल्यैदेखि थियो। तर, कलेज पढ्न लागेर देखाउन सकिएन। अहिले प्लस टु सकाएर फ्रि समयमा देखाउने तयारीमा छु,” उनी भन्छन्। 

रोहितका बुबा नेपाली सेनामा छन्। उनी बीबीएस भर्ना भए पनि तालिममा नै केन्द्रित छन्। अहिले कडा मिहिनेत गर्नुपरे पनि भर्ती भएपछिको सुविधाले नै आफूलाई तानेको उनी बताउँछन्।

डडेलधुरादेखि लाहुरेको तयारीका लागि पोखरा आएका १८ वर्षीय सन्तोष देउवाका अनुसार सुदूरपश्चिममा बेलायती सेना र सिंगापुर पुलिसमा भर्ती हुनेको संख्या धेरै छैन। “यहाँ म एक जना दाइको माध्यमबाट आएको हुँ। डडेलधुरामा सिंगापुर (पुलिस), ब्रिटिश आर्मीबारे केही थाहा छैन। नेपाल आर्मी र नेपाल प्रहरी बन्ने धेरै छन्,” उनी भन्छन्, “दौडिन लाग्यो भने ‘यो पागल टाइपको मान्छे’ भनेर सोच्छन्। गाउँलेको लाजले पनि तयारीमा त्यति फोकस हुन सकिनँ।”

आफूले युट्युबबाट ब्रिटिश आर्मीबारे थाहा पाएपछि पोखरा आएको सन्तोष बताउँछन्। बेलायती सेना वा सिंगापुर पुलिसमा नभए नेपाल प्रहरीमै पनि भर्ती हुने उनको योजना छ। “(भर्ती हुनुको) मेन कारण पैसा हो। धेरै पैसा हुन्छ भनेर हो,” उनी भन्छन्। 

सन्तोष दुई महिनादेखि प्रि–आर्मी तालिम लिइरहेका छन्। अहिले पनि तालिमबारे केही जानकारी लिन युट्युब नै हेर्ने गरेको बताउँछन्। “यहाँ सफल नभए के होला भनेर त्यहाँसम्म सोचेको छैन। अहिले मिहिनेतमा फोकस गरौँ भन्ने छ,” उनी भन्छन्, “भइहाले ठीक छ। त्यहाँ नभए हेरौँ भन्ने छ।”

चितवनबाट लाहुरे हुन पोखरा आएका दिलु गुरुङका बुबा पनि लाहुरे हुन्। बुबाकै कारण उनी यता आकर्षित भए। “फेसिलिटिज (सुविधाहरू) हेरेँ, भन्न त बाबाले पनि भन्नुभएको थियो। बाजेहरूले सिंगापुर (पुलिस) मा देखाउनू (परीक्षा दिनू) भन्नुभएको थियो। मलाई ब्रिटिश नै राम्रो लाग्यो,” उनी भन्छन्। 

जोसँग युद्ध, उसैको सेनामा भर्ती
सन् १८१४ देखि १८१६ सम्म इस्ट इन्डिया कम्पनी र गोरखा राज्यबीच चलेको युद्धकै बेला गोर्खा भर्ती शुरू भएको मानिन्छ। सन् १८१५ मे ५ मा तत्कालीन इस्ट इन्डिया कम्पनी र गोरखाबीच भर्ती लिने सहमति भएको थियो। त्यतिबेला पनि युद्ध जारी थियो।

“त्यो बेला पश्चिममा नेपालमा अमरसिंह थापाले कमान्ड सम्हालेका थिए। इस्ट इन्डियाबाट जनरल अक्टरलोनी कमान्डर थिए, उनीहरूबीच सम्झौता भयो,” गोर्खा भर्तीको इतिहासबारे त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरिरहेका मनोज घर्तीमगर भन्छन्, “सम्झौताको एउटा बुँदामा ‘अमरसिंह थापाको निजी सुरक्षार्थ खटिएका सुरक्षाकर्मीबाहेक अरू गोर्खालीहरू इस्ट इन्डियाको सेनामा भर्ती हुन पाउने छन्’ भन्ने वाक्य थियो। त्यसले भर्तीको औपचारिक शुरूआत गरेको भन्न सकिन्छ।”

नेपाल र इष्ट इन्डिया कम्पनीबीचको युद्ध भने सन् १८१६ मार्च ७ मा भएको सुगौली सन्धिले समाप्त गरेको थियो।

भगौडा गोर्खाली सेना समेटेर पहिलोचोटि इस्ट इन्डिया कम्पनीले चार वटा पल्टन बनाएको घर्ती बताउँछन्। सन् १८२५ अप्रिल २४ मा त्रिमुर, मुसिरी, कुमाउ र मलाउ नाम दिएर ४ बटालियन बनाइएको थियो। यी बटालियनमा मलाउको किल्लामा इस्ट इन्डियन कम्पनीसँगको हारपछि युद्धबन्दी भएका करिब १५ सय गोर्खाली समेटिएका थिए।

राणा शासकहरू गोर्खा भर्तीको विरुद्धमा थिए। तर, पहिलो विश्व युद्धमा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले नै सहयोगको प्रस्ताव गरेका थिए। दोस्रो विश्वयुद्धमा त जुद्धशमशेरले औपचारिक रूपमा नै चार रेजिमेन्ट सेना युद्ध लड्न पठाएको इतिहास छ।

सिंगापुर पुलिसमा भने सन् १९४९ देखि भर्ती लिन थालिएको थियो। सिंगापुरको गोर्खा कन्टिन्जेन्टमा अहिले दुई हजार नेपाली कार्यरत छन्। नेपालबाट सिंगापुर पुलिसमा वर्सेनि कम्तीमा १२० र बेलायती सेनामा ३०० देखि ४५० जना भर्ती हुने घर्तीले बताए।

बेलायती सेनाको भर्तीमा आकर्षण बढ्दै जाँदा तालिम दिने स्कुल पनि खुल्न थाले। झण्डै २२/२३ वर्षअघि खुलेको यस्तो तालिम दिने स्कुल ‘टास्क फोर्स नेपाल’ सञ्चालक मीन गुरुङ भन्छन्, “२३ वर्ष भयो शुरू गरेको। मभन्दा पुराना साथीहरू छैनन्। भएका कतिले छोडिसके, कति मरिसके। मै छु बाँचेको।”

प्रिआर्मी स्कुल सञ्चालकहरूको एसोसिएशन ‘नेपाल फिजिकल ट्रेनिङ स्कुल’मा नेपालभरिका १२५ वटा संस्था आबद्ध छन्। तीबाहेक आबद्ध नभएका समेत गरी २०० हाराहारी प्रिआर्मी स्कुल सञ्चालनमा रहेको गुरुङको भनाइ छ। 

‘लाहुरेहरूले पोखरेली रैथानेलाई धनी बनाए’
वरिष्ठ संस्कृतिविद् जगमान गुरुङ २०१८ सालमा कास्कीको याङ्जाकोटबाट पढ्न पोखरा झरेका थिए। त्यतिबेला पोखरामा गुरुङका घर चार वटा मात्रै थिए। बाहुन, क्षेत्री र नेवारहरूको बाक्लो बस्ती थियो। 

“अहिले त पोखरा गुरुङको टोल भएको छ। यहाँ नेवारले व्यापारको पूर्वाधार बनाएका हुन्। बाहुन, क्षेत्रीले राजनीतिक आधार बनाएको हो,” उनी भन्छन्, “पछि गुरुङ आएपछि यहाँका बाहुन, क्षेत्री नेवारहरूको मकै, कोदो रोप्ने जग्गा घडेरीका रूपमा गुरुङहरूले किने, थोरै मगरहरूले किने। बारीको पाटो बेचेर बाहुन, क्षेत्री धनी भए।”

पछि लाहुर नजानेहरू पनि पोखरा आएर व्यापार थाले। यसरी लाहुरेहरूले पोखरालाई फराकिलो शहर बनाएको संस्कृतिविद् गुरुङ बताउँछन्। 

ढुंगेपाटन, भण्डारढिक, रिठ्ठेपानीतिर लाहुरेहरूलाई उहिले सित्तैमा पनि जग्गा दिइएको गुरुङको भनाइ छ। १ रुपैयाँको टिकट टाँसेर दरखास्त दिएपछि एउटा घडेरी दिइएको उनी सुनाउँछन्। “कस्तो जमाना होला त्यो, २०/२५ सालतिर नेपाल, भारत, ब्रिटिश जहाँको लाहुरे होस् सबैले त्यस्तो घडेरी पाए,” उनी भन्छन्, “भण्डारढिकमा सैनिक बस्ती भन्ने छ। उनीहरूलाई सरकारले सुविधा दिएर राखेको थियो।”

अहिलेको अमरसिंह माध्यमिक विद्यालय ‘डिस्ट्रिक सोल्जर बोर्ड हाइस्कुल’को नाममा २०१७ सालमा भारतीय सैनिक कोषले स्थापना गरिदिएको उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी बताउँछन्। त्यस्तै, विश्वयुद्धमा हराएका नेपालीका लागि कोष स्थापना गरेर अहिलेको गण्डकी अस्पताल साथै गाउँ–गाउँमा प्राथमिक विद्यालय खोलिएको पनि उनी बताउँछन्।