प्रधानमन्त्री र अस्ट्रेलियाली सहायक विदेशमन्त्रीबीच भेटवार्ता, कृषिको व्यवसायीकरणबारे छलफल

भेटका क्रममा मन्त्री वाट्सले नेपालको विकास र समृद्धिको अभियानमा अस्ट्रेलियन सरकार र जनताको सहयोगको सहयोग निरन्तर रहने विश्वास दिलाए। 

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका अस्ट्रेलियाली सहायक विदेश मन्त्री टिम वाट्सले भेटवार्ता गरेका छन्।

बुधबार बिहान बालुवाटारमा भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो। प्रधानमन्त्री दाहालले अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको अवस्था र समस्याका बारेमा चासो व्यक्त गरेका थिए।

यस्तै, उनले अस्ट्रेलियाका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो पनि दिएका छन्। भेटमा नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यवसायीकरण र कृषिमा आधारित उद्योगको विकास र पर्यटन क्षेत्रको प्रवर्द्धनमा सहयोगका बारेमा छलफल भएको थियो। मन्त्री वाट्सले अस्ट्रेलियामा नेपालीहरूले राम्रो प्रभाव पारेको भन्दै उनीहरूको योगदानको प्रशंसा गरे।

उनले नेपालको विकास र समृद्धिको अभियानमा अस्ट्रेलियन सरकार र जनताको सहयोगको सहयोग निरन्तर रहने विश्वास दिलाए।