बराबरी खेलपछि चर्च ब्वाइजले शीर्ष स्थानमा मछिन्द्रसँग ५ अंकको दूरी कायम गर्न मौका गुमाउँदा मनाङ भने रेलिगेसन जोनमा पर्ने दबाब झेलिरहेको छ।
काठमाडौँ- उपाधि होडमा रहेको चर्च ब्वाइज युनाइटेड क्लबले शहीद स्मारक 'ए' डिभिजन लिगमा खराब लयमा रहेको मनाङ मर्स्याङ्दीसँग अंक बाँडेको छ। च्यासल मैदानमा बिहीबार सम्पन्न खेलमा चर्च ब्वाइजले मनाङसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो।
शीर्ष स्थानमा रहेको चर्च ब्वाइजको यो लगातार दोस्रो बराबरी हो। १९औँ खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले पराजित गरेपश्चात् चर्च ब्वाइजले जित हासिल गर्न सकेको छैन।
च्यासलमै भएको २०औँ खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पा क्लबसँग १–१ गोलको बराबरी खेलेको थियो।
मनाङसँगको बराबरीसँगै चर्च ब्वाइजले दोस्रो स्थानमा रहेको साबिक विजेता मछिन्द्र फुटबल क्लबसँग ५ अंकको दूरी कायम गर्ने मौका गुमाएको छ। २१ खेल खेलेको चर्च ब्वाइजको ३८ अंक छ भने त्यति नै खेल खेलेको मछिन्द्रको ३५ अंक छ।
लगातार ७ खेलमा जितविहीन मनाङ
कीर्तिमानी आठपटकको लिग विजेता मनाङले जितविहीन यात्रा सातमा पुर्याएको छ। पछिल्लोपटक विभागीय टोली नेपाल आर्मीलाई १–० गोलले पराजित गरेको मनाङले त्यसयता जित हासिल गर्न सकेको छैन।
मनाङले सातदोबाटो यूथ क्लब (०–०), नेपाल पुलिस (२–२), हिमालयन शेर्पा (१–१), जावलाखेल यूथ (२–२), संकटा (२–२) र एपीएफ (२–२)सँग बराबरी खेलेको छ। चर्च ब्वाइजसँगको बराबरीसँगै मनाङ रेलिगेसनतर्फ धकेलिएको छ। ११औँ स्थानमा रहेको मनाङले २१ खेलबाट २५ अंक जोडेको छ।
मनाङ रेलिगेसन जोनमा रहेको संकटाभन्दा २ अंकले मात्र माथि छ। संकटा क्लबको २३ र पुछारमा रहेको एफसी खुमलटारको २१ अंक छ।
फ्रेन्ड्सलाई राहत
२०औँ चरणसम्म अंक तालिकाको १३औँ स्थानमा रहेको फ्रेन्ड्स क्लबले शीर्ष चारमा रहेको सातदोबाटो यूथ क्लबलाई पराजित गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा फ्रेन्ड्सले सातदोबाटोलाई ४–० गोलअन्तरले पराजित गरेको हो। खेलको पहिलो मिनेटमै राफिक अमिनुले गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाएका थिए। पहिलो हाफ १ गोल गरेको फ्रेन्ड्सले दोस्रो हाफमा थप तीन गोल गर्यो।
५५औँ मिनेटमा प्रकाश बूढाथोकीले गोल गर्दै अग्रता दोब्बर बनाए। खेलको अन्तिम समयमा आक्रमक देखिएको फ्रेन्ड्सले थप दुई गोल गर्न सफल भयो। ८७औँ मिनेटमा टोरिक जेब्रिनले गोल गर्दा फ्रेन्ड्सले ३–० को अग्रता बनाएको थियो। त्यसको तीन मिनेटपछि नै उनले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेन्ड्सलाई ४–० गोलअन्तरको जित दिलाए।
जितसँगै फ्रेन्ड्स अंक तालिकामा एक स्थान माथि उक्लिएको छ। १२औँ स्थानमा रहेको फ्रेन्ड्सको २१ खेलमा २४ अंक छ। पराजित सातदोबाटोको समान खेलबाट २९ अंक छ। सातदोबाटो चौथो स्थानमा यथावत छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
