एमए चिदम्बरम क्रिकेट रंगशालामा मुम्बईले दिएको १८३ रनको लक्ष्य पछ्याएको लखनऊले १६.३ ओभरमा अलआउट हुँदै १०१ रन मात्र बनायो।
काठमाडौँ– मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।
मुम्बईले दिएको १८३ रनको लक्ष्य पछ्याएको लखनऊ १६.३ ओभरमा सबै विकेट गुमाउँदै १०१ रनमा समेटियो। लिग चरणको खेलमा लखनऊले मुम्बईलाई ५ रनले पराजित गरेको थियो।
सोही लयलाई कायम राख्ने लक्ष्यसाथ क्रिजमा उत्रिएको लखनऊले दोस्रो ओभरको पाँचौँ बलमा ओपनर प्रेरक मांकडलाई ३ रनमा डीप ब्याकवर्ड पोइन्टमा गुमायो।
१२ रन बनाउँदा नै पहिलो विकेट गुमाएको लखनऊले थप ११ रन जोड्दा अर्का ओपनर काइल मेयर्सलाई पनि १८ रनमा गुमायो। मिड अनमा क्याच हुनुअघि उनले १३ बलमा ३ चौकासहित १८ रन बनाए।
त्यसपछि लखनऊको इनिङ्स मार्कस स्टोयनिस र कप्तान क्रुनाल पण्ड्याले सम्हाले। उनीहरूले तेस्रो विकेटका लागि ३० बलमा ४६ रनको साझेदारी गरे। तर, ८.२ ओभरमा क्रुनाल लङ अनमा व्यक्तिगत ८ रनको स्कोरमा क्याच आउट भए।
यता, पाँचौँ नम्बरमा क्रिजमा आएका आयुष बदोनी १ रनमा बोल्ड भए भने निकोलस पूरन गोल्डेन डक आउट भए। क्रिजमा जमेर खेलिरहेका मार्कस २७ बलमा ५ चौका र १ छक्कासहित ४० रन बनाएर रन आउट हुँदा लखनऊ ११.५ ओभरमा ६–८९ को स्थितिमा थियो।
थप १० रन बनाउँदा लखनऊले सबै विकेट गुमाउन पुग्यो। कृष्णप्पा गौतम २ र दीपक हुड्डा १५ रनमा रन आउट भए। रवि बिश्नोई लाङ अनमा ३ रनमा क्याच हुँदा मोहसिन खानले ७ बल खेल्दै खाता नखोली बोल्ड भए।
नवीन उलहक भने १ रनमा अविजित रहे। मुम्बईका आकाश मधवालले सर्वाधिक ५ विकेट लिए। ३.३ ओभर बलिङ गरेका उनले ५ रन मात्रै दिए। क्रिस जोर्डन र पीयूष चावलाको नाममा १/१ विकेट रह्यो।
त्यसअघि चेन्नईको घरेलु मैदान एमए चिदाम्बरम रंगाशालामा टस जितेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन बनाएको थियो।
मुम्बईले पनि लखनऊविरुद्ध गतिलो शुरूआत गर्न सकेन। ३.२ ओभरमा ३० रन बनाउँदा मुम्बईले ओपनर तथा कप्तान रोहित शर्मालाई ११ रनमा गुमायो। उनी कभरमा नवीन उलहकबाट क्याच भए।
अर्का ओपनर इशान किशन ब्याक अफ लेन्थमा आएको बललाई कट गर्ने धुनमा लखनऊका विकेटकिपर निकोलस पूरनबाट क्याच आएट भए। उनले १२ बलमा ३ चौकासहित १५ रन मात्रै बनाउन पाए।
४.२ ओभरमा २–३८ को स्थितिमा रहेको मुम्बईलाई सूर्यकुमार यादव र क्यारुन ग्रिनले उद्दार गरे। उनीहरूबीच तेस्रो विकेटका लागि ३८ बलमा ६६ रनको साझेदारी भयो। सूर्यकुमार २० बलमा २ चौका र २ छक्कासहित ३३ रन बनाउँदै ११औँ ओभरको चौथो बलमा लङ अनमा क्याच आउट भए।
त्यसको दुई बलपछि नै मिडिल स्टप ढाल्दै नवीनले ग्रिनको विकेट लिए। ग्रिनले २३ बलमा ६ चौका र १ छक्कासहित ४१ रन बनाए। विकेट गुमाइरहेपनि मुम्बईका खेलाडीले गर्दै आएको साझेदारीलाई लखनऊले तोड्न सकेन।
मुम्बईका लागि टिम डेभिड र तिलक बर्माले पाँचौँ विकेटका लागि ३३ बलमा ४३ रनको साझेदारी गरे। १६.३ ओभरमा फुल टस आएको बलले उचाई नलिँदा डेभिड १३ बलमा १३ रन बनाउँदै लङ अनमा क्याच भए।
त्यसपछि तिलक वर्मा २६ र क्रिस जोर्डन ४ रनमा लङ अनमा क्याच आउट भए। नेहाल वढेरा भने १२ बलमा २३ रन बनाउँदै डीप पोइन्टमा क्याच आउट भए।
लखनऊका नवीन उलहकले सर्वाधिक ४ विकेट लिए। यश ठाकुरले ३ विकेट लिँदा मोहसिन खानको नाममा १ विकेट रह्यो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
