तराई/मधेशको पर्यावरणीय सन्तुलनका लागि आँपको वृक्षारोपणले योगदान गर्न सक्छ। सँगै, एउटा पुस्ताले लगाएको आँपबाट त्यसपछिका पुस्ताले व्यावसायिक लाभ पनि लिन सक्नेछन्।
आमवा महुअवा के झुमे डलिया
तनी ताकना बलमुआ हमार ओरिया
भोजपुरीको यस लोक भाकामा भनिएको छ, “आँप र महुआका हाँगाहरू हल्लिएका छन्, प्रियतम थोरै मतर्फ हेर न।” मधेशका गाउँबस्ती बीच र खेतमाझ आँपका रुख तथा बगैँचाहरू घट्दै गए पनि लोकगीतहरूमा भने आँपको उपस्थिति अझै सघन छ।
नयाँ वर्षको शुरूआत (वैशाख १) हुँदै गर्दा मधेशमा सतुआन मनाइन्छ। सात प्रकारका अन्नले बनेको सातु खाने सो दिनलाई आँपलाई मुखमा हाल्ने अनुमति प्राप्त हुने दिनका रूपमा पनि बुझिन्छ। वैशाख १ गतेअघि टिपेर त के रुखबाट झरेका आँप पनि खानु हुँदैन भन्ने सांस्कृतिक मान्यता छ। आँपका कलिला दानाहरूमा हुने कसका कारण खान नहुने बताइन्छ।
अलि हुर्किसकेका काँचा आँपमा ‘कस’ घटेर अमिलोपना बढिसकेको हुन्छ। स्थानीय बोलीमा ‘टिकोला’ भनिने सानासाना काँचा आँपलाई बालबालिकाहरू नुनमा चोबेर खान्छन्। खेतमा हुर्किरहेका प्याज र कलिला आँपको बोक्रा ताछेर मसिनो चाना पारेर नुन, खुर्सानी र तेल हाली बनाइएको ‘कचउरी’ बालबालिकादेखि किशोरकिशोरी सम्मले जिब्रो पड्काउँदै खान रमाइलो मान्छन्।
यतिखेर तराई/मधेशमा आँप पाक्ने मौसम शुरू हुँदैछ। अहिले तयार हुने आँपको अचार केही वर्षसम्म राख्न सकिन्छ। मीठा (सखर या खुदो)को रसमा मसलासहित पकाएर अमिलो र गुलियो मिसाएर बनाइएको ‘खट्टमिट्ठी’ खाना र खाजाको हिस्सा बन्ने समय पनि यही हो। मैथिलीको यो लोकगीतले आँपको चटनीको चलनलाई यसरी व्यक्त छ:
चैत, वैशाख दुई मास
अमुआ मजरै छै कोना,
टिकला तोरय हखो दियरवा,
पिया मोरे चटनी खेथिन् ना
(चैत र वैशाख दुई महिना आँप किन फुल्छ त? काँचो आँप तोडेर ल्याइदेऊ न देवर! मेरो श्रीमानले चटनी खान्छन्।)
वसन्त ऋतुको उत्तरार्द्धमा पर्ने सतुआनदेखि वैशाख महिनाभर आँपको ‘टिकोरा’बाट बनेका चटनी, अचार, खट्टमिट्ठीजस्ता परिकारले भान्छामा आफ्नो दमदार उपस्थिति दिइरहेको हुन्छ। आँपको ‘टिकोरा’ सुकाएर ‘अमचुर’ (आँपको सुकुटी) बनाइन्छ। त्यसमा तेल र मसला हालेर लामो समय टिक्ने खालको अचार पनि बनाइन्छ।
काँचो आँपबाट बनाइएको अचार ग्रामीण क्षेत्रमा वर्षभर खपत हुन्छ, जसलाई माटोको भाँडोमा भण्डारण गरिन्छ। शहरी क्षेत्रमा एउटै अचार विभिन्न प्याकेटमा उपलब्ध हुन्छ। आँपको मौसम सकिएपछि समेत खान मिल्ने गरी आँपको रसलाई तहमाथि तह सुकाएर 'आमावट' बनाइन्छ। आयुर्वेदिक मान्यताअनुसार स्वास्थ्यका लागि आँपको रस र पातहरू धेरै फाइदाजनक छन्। आँपको रसले शरीरलाई आवश्यक पौष्टिक तत्त्व प्रदान गर्नुका साथै शरीरमा चमक बढाउँछ।
आँपबाट दर्जनौँ परिकार बन्छन्। गाउँतिरको ‘अमरस’ शहर पुग्दा ‘म्याङ्गो शेक’ कहलिन्छ। यतिकै ताजा आँप ताछेर, चुसेर वा काटेर खान नरुचाउने मान्छे बिरलै होलान्। ताछेर र चुसेर खाँदा आँपको स्वादमा फरक पर्छ।
चिउरा, रोटी र भातसँगसमेत आँप खाने चलन छ। खाना खाइसकेपछि आँप काटेर ‘स्विट डिस’को रूपमा खाने चलन पनि बढ्दो छ। पानीभित्र केही समय आँप डुबाएर झिक्दै चुस्दै खाने पुरानो चलन अचेल कम हुँदै गएको देखिन्छ।
जेठदेखि गृष्म ऋतु शुरू हुन्छ। यता आँप पनि छिपिइसकेको हुन्छ। अब आँपलाई गरम ठाउँमा दुईचार दिन राखेपछि स्वतः पाक्न थाल्छ। अर्थात् गुलियो, रसिलो र स्वादिलो फल खाने सिजन शुरू हुनै लागेको छ। आँपको नाममै मिठास छ।
फलहरूको राजा भनिने आँप एउटा स्वादिलो फल मात्र छैन, खानका लागि धेरै हिसाबले सुरक्षित र स्वास्थ्यकर छ। आँपमा फ्याट (चिल्लो पदार्थ)को मात्रा अति कम हुन्छ। प्रत्येक १०० ग्राम आँप खादा मात्र ०.४ फ्याट शरीरमा पुग्छ। जसमा कोलेस्ट्रोलको मात्रा शून्य हुन्छ। यसमा कार्बोहाइड्रेट १५ ग्राम, क्याल्सियम ११ ग्राम, रेसा १.६ ग्राम, प्रोटिन ०.८ ग्राम, आइरन ०.२ ग्राम र पोटासियम १६८ मिलिग्राम पाइन्छ।
आँप कृषकहरूका लागि यो एउटा भरपर्दो नगद आम्दानीको स्रोत हो। यसले धेरैलाई मौसमी रोजगारी भने दिन्छ। तराईमा आँपका बगैँचा भएकाहरूले रुखभरिको आँप एकमुष्ट रूपमा बेच्ने गर्छन्। आफ्नो लागि केही भाग भने आरक्षित हुन्छ। बगैँचाको आँप किन्नेले बजारको थोक विक्रेतालाई र थोक विक्रेताले खुद्रा विक्रेतालाई आँप बेच्छन्। त्यसपछि सर्वसाधारण उपभोक्तासम्म आँप पुग्छ। आँपको एउटा बेग्लै अर्थतन्त्र छ, जुन बजारको बिचौलियावादबाट अछुतो भने छैन।
विश्वको समग्र आँप उत्पादनको ५० प्रतिशतभन्दा बढी भारतले उत्पादन गर्छ। नेपालको हकमा भारतसँग सीमा जोडिने तराईको भूभाग आँप हुने मुख्य क्षेत्र हो। ‘स्पिसेस प्रोफाइल फर पेसिफिक आइसल्यान्ड एग्रोफरेस्टरी’ भन्ने अध्ययनका अनुसार दुनियाँभरमा करिब एक हजार हाराहारी प्रजातिका आँप पाइन्छन्। जसमध्ये दुई दर्जन प्रकारका आँप व्यावसायिक रूपमा महत्त्वपूर्ण मानिन्छन्। हामीकहाँ माल्द, सबुजा, जर्दा, दशहरी, दलमा, भदेयाजस्ता जातका आँप पाइन्छन्, खाइन्छन्। आँपको प्रजातिका नाम पनि ठाउँअनुसार फरक हुने गर्छ।
जन्मदेखि मृत्युसम्म
आँपको रुख सामान्यतया ३०-४० फिटसम्म अग्ला हुन्छन्। आँपको रुख छायादार हुन्छ। तराई/मधेशमा आँपको रुखको छायामा मानिसहरू घाँस राख्ने ‘डेली’ बनाउँदै, माछा मार्ने जाली बुन्दै र कच्ची घरहरू बनाउन काम लाग्ने रस्सी (डोरी) तयार गर्दै गरेको भेटिन्छ। बाघचाल र १६ गोटियाजस्ता बुद्धिबिलासका खेल पनि आँपका बगैँचामा बसेर खेलिन्छन्। बालबालिकाका लागि आँपको बोटमुन्तिर झुलुवा (पिङ) पनि हुने नै भयो। खासगरी तराई/मधेशमा घरपरिवार, साथीभाइ र टोलछिमेकका छिमेकीहरूलाई एक ठाउँमा बटुल्ने काम गर्छन् आँपका बगैँचाले।
आँपको रुखमुनि जम्मा हुँदै हाँसोठट्टा गर्ने, कथा भन्ने-सुन्ने र स्वादिष्ट आँपहरू बाँड्दै आनन्द लिने संस्कृति अझै छ। कहिलेकाहीँ आँपकै कारण छिमेक र समुदायमा सानातिना क्लेश पनि निम्तिन्छन्।
एकपटक रोपेपछि धेरै वर्षसम्म फाइदा लिन सकिने आँपको बोटका सबै भाग प्रयोगमा आउँछन्। नेपाली र भारतीय संस्कृतिसँग आँप गहिरोसँग जोडिएको छ। पौराणिक कथा, कला र साहित्यमा पनि आँप उत्तिकै भेटिन्छ। आँप प्रायः प्रेम, प्रजनन र समृद्धिसँग सम्बन्धित छ:
लाल लाल हेठवा से,
बरसे ललइया
कि हो सर चुएला,
जइसे अमवा के मोजरा से
रस सर चुएला।
(राता तिम्रा ओठहरूबाट लाली बर्सिएको छ, जसरी आँपको ‘मञ्जरी’बाट रस चुहिन्छ।)
आँपसँग जोडिएको यो पुरानो भोजपुरी गीतमा ‘मञ्जरी’बाट रस चुहिएको प्रसंग छ। यतिखेर फूल फलमा रूपान्तर भइरहेको हुन्छ। आँपको मोजराबाट रस चुहिने गरेकै कारण मान्छेहरू आँपको छहारीमुनि बस्न भने तर्कन्छन्। आँपको सामाजिक र सांस्कृतिक महत्त्व गहिरो र बहुआयामिक छ।
हिन्दु पौराणिक कथाहरूमा आँपको रुखलाई पवित्र मानिन्छ। बुद्धिशीलता र शुभका देवता भगवान् गणेश आँपको रूखमुनि बस्छन् भन्ने मान्यता छ। रामायण, महाभारतलगायत पुरातन ग्रन्थमा आँपका प्रसंगहरू उल्लेख छन्। बच्चा जन्मिएपछि छैटौँ दिनमा गरिने पूजामा आँपको दाउरामा पकाएका परिकारको उपयोग हुन्छ। तागाधारीहरूमा व्रतबन्ध गर्दा बटुकलाई आँपकै काठले बनेको आसनमा बसाएर कर्मकाण्डका विधिहरू गर्ने प्रचलन छ।
हिन्दु समाजमा हुने हरेक पूजा/अनुष्ठानमा कलशमा पिपल, चाँप र आँपको पात र नरिवल राखिन्छ। तोरण (सजावटका लागि रंगीविरंगी कागज वा फूलसहित झुन्ड्याइने डोरी)मा समेत आँपको पात आवश्यक ठानिन्छ। पूजा गर्ने यजमानको औँलामा औँठीजस्तै आँपको पातको बीच भागबाट 'पवित्री' बनाएर पहिराइन्छ। तराई/मधेशमा छोराछोरीको बिहेअगाडि आँप र महुआको रुखको बिहे गराइने चलन छ। त्यसो गर्दा खराब ग्रह नक्षत्रको प्रभाव नवदम्पतिमाथि पर्दैन भन्ने मान्यता छ। बिहेको मण्डपमा दुलहादुलहीको हातमा आँपको पातबाट बनेको डोरीले कंगन बनाइ पुरोहितले लगाइदिने गर्छन्।
बिहे भएको वर्ष बेहुली माइतीमा भए केटा पक्ष र बेहुली घरमा भए केटी पक्षले आँपको सिजनमा आँपकै कोसेली लैजाने चलन छ। गृह प्रवेश होस् वा धार्मिक अनुष्ठान, आँपको पात, दतिवन, पल्लव, दाउरा र काठको आवश्यकता पर्छ। तराई/मधेशको सबैभन्दा महत्त्वपूर्ण र पवित्र उत्सव छठमा प्रसाद तयारी गर्न आँपकै काठ चाहिन्छ। सनातन- वैदिक-हिन्दु समाजमा मृतकको अन्त्येष्टिमा पनि आँपको काठ/दाउरा चाहिन्छ। यसरी आँप तराई क्षेत्रमा खास गरी बहुसंख्यक हिन्दु समाजमा जीवनको प्रारम्भदेखि सद्गतिसम्म चाहिने एउटा रुख हो।
घरनजिक ठूला रूखहरू लगाउनुलाई शुभ मानिन्न तर तर, आँप र शमीको रुख स्वीकार्य र शुभ मानिन्छ। महिलाहरूले संस्कार गीतको लोकभाकामा जब आशीर्वचन प्रदान गर्छन्, त्यसमा लक्षित व्यक्ति आँपको रुख र बगैँचाले सम्पन्न होस् भन्ने कामना गरिएको हुन्छ। आँपको बगैँचा हुनु गाउँ–समाजमा वैभवको प्रतीक पनि हो।
तराई/मधेशमा पहिले आँपको बगैँचा धेरै देखिन्थे। वर्षमा एक पटक मात्र आम्दानी (फल) दिने भएकाले कतिपयले दाउराको मूल्यमा रुख बेच्न थालियो। अहिले भने बगैँचाभित्र पनि मिश्रित खेती गर्ने अवधारण आएपछि यो क्रम केही कम भएको छ। वृक्षारोपणको अवधारणाले आँपलाई पुनर्स्थापितसमेत गर्न थालेको छ।
रुख यत्तिकै पनि मानव जीवनका लागि अत्यावश्यक भनेर स्विकारिएकोमा वर्षमा एक पटक अमृततुल्य आँप फल्ने रुख नै किन नरोप्ने भन्ने मानिसहरूले अनुभूत गर्न थालेका छन्। हुन पनि, तराई/मधेशमा व्यावसायिक उत्पादनका लागि आँपको बगैँचा लगाउने अभियानहरू बृहत् रूपमा चाल्नुपर्छ। यसमा अनुदानमा उन्नत जातका र माटो सुहाउँदो आँपका बिरुवा उपलब्ध गराउने अभिभारा स्थानीय सरकारहरूले उठाउनु उचित हुन्छ।
बढ्दो तापक्रम, अनावृष्टि र अतिवृष्टिको समस्या भोगिरहेको मधेशको पर्यावरणीय सन्तुलनका लागि समेत आँपको वृक्षारोपणले योगदान गर्न सक्छ। सँगै, एउटा पुस्ताले लगाएको आँपबाट त्यसपछिका पुस्ताले व्यावसायिक लाभ पनि लिन सक्नेछन्। सँगसँगै सांस्कृतिक जगेर्ना पनि हुनेछ।
दुनियाँले मुख मिठ्याएर खाने फलको रूख र बगैँचा तराई/मधेशको लोकजीवनको अभिन्न अंग हो। पंक्तिकारको पुरानो छोटो कविताले यस्तो भन्छ:
भीडभडाका, शोर शराबा से भरल
राउर शहर में बस काम से काम बा,
लोग चिन्हिए उहाँ त पद आ पैसा से
फोकट में शहर के ‘शहर’ नाम बा
फुलवरिया में सिहके बयार जहाँवा
आईं चली देहात जहाँ गाछ बा, आम बा।
(भीडभाडा र होहल्लाले भरिएको तपाईंको शहरमा कामसँग मात्र मान्छेको काम छ। त्यहाँ मानिसहरू पद र पैसाले चिनिन्छन्, फोकटमै शहरको ‘शहर’ नाम छ। बगैँचामा सिरिरि हावा चल्छ जहाँ, आउनुस् जाऊँ देहाततिर रुख छ अनि आँप छ।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
