रास्वपा सांसद श्रेष्ठले दर्ता गरे डेंगु नियन्त्रणसम्बन्धी संकल्प प्रस्ताव

रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले प्रतिनिधिसभामा डेंगु नियन्त्रणसम्बन्धी संकल्प प्रस्ताव दर्ता गराएका छन्।

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डेंगु नियन्त्रण, रोकथाम तथा उपचारका लागि समयमै तयारी थाल्नुपर्ने भन्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गराएको छ। रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले आइतबार संघीय संसद् सचिवालयमा आइतबार संकल्प प्रस्ताव दर्ता गराएका हुन्।

संकल्प प्रस्तावमा सरकारी तथ्यांकलाई उद्धृत गर्दै गत वर्ष नेपालका ७७ वटै जिल्लामा डेंगु रोग फैलिएको, २८ हजार १०९ जनामा संक्रमण दिएको र ३८ जनाको मृत्यु भएको उल्लेख गर्दै यस वर्ष वर्षायाम शुरू हुनुअघि नै सावधानी अपनाउनुपर्ने उल्लेख छ। विगतमा सबैभन्दा बढी संक्रमण र मृत्यु बागमती प्रदेश र काठमाडौँ जिल्लामा देखिएकाले यस विषयमा सदनमा गम्भीर बहस हुनुपर्ने पनि संकल्प प्रस्तावमा उल्लेख छ।

“डेंगु रोगको प्रकृतिअनुसार यो एक प्रकारको भाइरल इन्फेक्सन भएको, लामखुट्टेको माध्यमबाट यो एक मानिसबाट अर्को मानिसमा सर्ने भएको र यसले महामारीको रूप लिएको खण्डमा जनधनको अपूरणीय क्षति हुन सक्ने सम्भावनालाई यस वर्षको वर्षायाम शुरू हुनुअगावै यसको प्रभावकारी रोकथाम, प्रतिकार्य र उपचार व्यवस्थाका लागि संसद्मा गम्भीर रूपले छलफल गरी नेपाल सरकारलाई निर्देशन दिने,” संकल्प प्रस्तावमा भनिएको छ।

उनले डेंगु रोगका विषयमा व्यापक जनचेतना जगाउनका लागि प्रभावकारी कार्यहरू सञ्चालन गर्नेलगायत विभिन्न सात वटा विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिनुपर्ने माग गरेका छन्।