कोलम्बियाको जंगलमा हराएका ४ बालबालिकाको ४० दिनपछि उद्धार

बालबालिकालाई जंगलबाट उद्धार गरी अस्पताल भर्ना गरिएको छ। गत मे १ मा भएको विमान दुर्घटनामा उनीहरू बेपत्ता भएका थिए। 

तस्वीर: रोयटर्स।

विमान दुर्घटना परी कोलम्बियाको जंगलमा हराइरहेका चारजना बालबालिका ४० दिनपछि जीवितै फेला परेका छन्।

ती चार बालबालिकालाई जंगलबाट उद्धार गरी शनिबार राजधानी बोगोटा पुर्‍याइएको एएफपीले जनाएको छ। बालबालिका बोकेको कोलम्बियाई सेनाको मेडिकल विमान सैन्य विमानस्थलमा अवतरण भएको थियो।

उनीहरूलाई अस्पताल भर्ना गरिएको छ। गत मे १ मा भएको दुर्घटनामा अन्य चार जनाको भने मृत्यु भएको थियो। हराएका बालबालिका खोज्न दर्जनौँ सैनिक र स्थानीय खटिएका थिए।

बालबालिका फेला पर्नुलाई कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले जादुमय दिनका रूपमा लिएका छन्। “उनीहरू एक्लै थिए। उनीहरू आफैँले पूर्ण अस्तित्वको उदाहरण हासिल गरे जुन इतिहासमा रहनेछ,” उनले भनेका छन्, “यी बालबालिका शान्तिका सन्तान र कोलम्बियाका सन्तान हुन्।”

कोलम्बियाको रक्षा मन्त्रालयले पोस्ट गरेको भिडियोमा जंगलमा अग्ला रूखमाथि हेलिकप्टरमा बालबालिकालाई चढाइएको देखाइएको छ।