ग्रीसमा डुंगा दुर्घटना: मृत्यु हुनेको संख्या ७९ पुग्यो, १०० भन्दा बढी बेपत्ता

ग्रीसको सरकारले यो सबैभन्दा ठूलो आप्रवासी त्रासदीमध्ये एक भएको जनाउँदै तीन दिन शोकको घोषणा गरेको छ। 

तस्वीर: रोयटर्स।

दक्षिणी ग्रीसमा आप्रवासी चढेकाे डुंगा पल्टिँदा मृत्यु हुनेको संख्या ७९ पुगेको छ।

दुर्घटनामा १०० भन्दा बढी बेपत्ता भएको बीबीसीले जनाएको छ। तर, बाँचेका र ग्रीक अधिकारीहरूले जहाजमा सयौँ आप्रवासी रहेको बताएका छन्।

सरकारले यो ग्रीसको सबैभन्दा ठूलो आप्रवासी त्रासदीमध्ये एक भएको जनाउँदै तीन दिन शोकको घोषणा गरेको छ। डुंगा आयोनियाली सागरको अन्तर्राष्ट्रिय जलक्षेत्रमा बुधबार पल्टिएको थियो। 

डुंगा लिबियाबाट इटाली जाँदै गरेको बताइएको छ। जसमा सवार अधिकांश २० वर्षमाथिका पुरुष थिए। स्थानीय सञ्चारमाध्यमका अनुसार उनीहरू केही दिनदेखि यात्रा गरिरहेका थिए।

डुंगालाई खाना र पानी आपूर्ति गर्ने माल्टीज कार्गो जहाजले मंगलबार दिउँसो सम्पर्क गरेको थियो।

ग्रीसका क्षेत्रीय स्वास्थ्य निर्देशक यानिस कार्वेलिसले डुंगामा क्षमताभन्दा बढी यात्रु रहेको बताएका छन्।