कालीमाटीमा टमाटर फ्याँकेर विरोध जनाएका किसान भन्छन् : ८ रुपैयाँ किलो किनेर ४० मा बेच्नु भएन

गोलभेँडा उत्पादक कृषक वरुणबहादुर रोकाले नेपाली किसानले उत्पादन गरेको गोलभेँडा बजार मूल्य र प्राथमिकता नपरेकाले सडकमा फ्याँक्न बाध्य भएको बताए। 

तस्वीर : कृष्पा श्रेष्ठ/उकालो

काठमाडौँ– किसानले मूल्य नपाएको भन्दै कालीमाटी तरकारी बजारमा गोलभेँडा (टमाटर) सडकमा फ्याँकेर विरोध जनाएका छन्। आइतबार गोलभेँडा व्यवसायी र किसानले बजारमा खपत नभएको तथा बजार मूल्य नपाएको भन्दै सडकमा फ्याकेको हुन्। 

व्यवसायी र किसानहरूले कालीमाटी तरकारी बजार क्षेत्रको गेट तथा बजारको क्षेत्रमा गोलभेँडा फ्याँकेर विरोध गरेका छन्। 

नेपालमा उत्पादित गोलभेँडाको खपत कम भएको र मूल्य पनि नपाइएको भन्दै आइतबार किसानले टमाटर फ्याँकेका हुन्। गोलभेँडा उत्पादक कृषक वरुणबहादुर रोकाले नेपाली किसानले उत्पादन गरेको गोलभेँडा बजार मूल्य र प्राथमिकता नपरेकाले सडकमा फ्याँक्न बाध्य भएको बताए। 

उनले सरकारले किसानले उत्पादन गरेको तरकारीजन्य वस्तुहरूको मूल्य तोकेर सहुलियतमा उपभोक्ताले पाउनुपर्ने बताए। उनले अहिले नेपाली किसानले उत्पादन गरेको वस्तुले बजार मूल्य र प्राथमिकता पाउने नपाउने तर विदेशीबाट आयात भएर आएको वस्तुले बजार लिने गरेको बताए। उनले कालीमाटी बजारमा व्यवसायीले किसानसँग ८ रुपैयाँ किलो किन्ने र बजारमा उपभोक्तालाई ४० रुपैयाँमा बेच्न नहुने बताए। उनले सरकारले किसानले पाउने मूल्य र उपभोक्ताले खरिद गर्ने मूल्य तोक्न नसक्नुले विकृति भइरहेको बताए।

कालीमाटी तरकारी बजारमा किसानले तीन/चार सय क्रेट जति गोलभेँडा सडकमा फ्याकेका छन्। किसानले करिब ३० हजार किलो गोलभेँडा कालीमाटी बजारको गेट, भित्री सडक र बजारमा फ्याँकिएको छ। फ्याँकिएका गोलभेँडा रामकोट, नागार्जुन, थानकोट, भक्तपुरलगायत क्षेत्रका किसानले उत्पादन गरेका हुन्।