प्रधानमन्त्री दाहालसहितका शीर्ष नेताहरूले समाजवादी मोर्चाको औचित्य प्रस्ट्याइरहँदा झलनाथ खनालले भने मोर्चालाई सत्ता टिकाउने कदमका रूपमा प्रयोग नगर्न सचेत गराएका थिए।
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा राजनीतिक परिवर्तनविरुद्ध लाग्नेहरूका निम्ति युद्धको घोषणा भएको बताएका छन्। सोमबार सत्तारूढ तीनसहित चार दलको संयोजनमा बनेको ’समाजवादी मोर्चा नेपाल’ घोषणा कार्यक्रमलाई सम्बोधनका क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले आफूहरूको कदम राजनीतिक परिवर्तनविरुद्ध लाग्नेहरूका लागि युद्धको घोषणा भएको बताएका हुन्।
सोमबार माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र सत्ता बाहिर रहेको नेपाल कम्युनिस्ट पार्टीको संयोजनमा समाजवादी मोर्चा घोषणा गरिएको थियो। मोर्चा निर्माणसम्बन्धी सातबुँदे समझदारीपत्रमा चारै दलका शीर्ष नेताहरू माओवादी अध्यक्ष दाहाल, एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा महासचिव नेत्रविक्रम चन्द्र 'विप्लव'ले हस्ताक्षर गरेका छन्।
मोर्चाको घोषणापछि पालैपालो शीर्ष नेताहरूले सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा नेताहरूले समाजवादी मोर्चा निर्माणको औचित्य पुष्टि गर्न आफ्नो समय चर्चिएका थिए।
सम्बोधनका क्रम प्रधानमन्त्री दाहालले समाजवादी मोर्चा परिवर्तनलाई होच्याउने, अपमानित गर्ने अराजक र प्रतिगामी प्रवृत्तिका मान्छेहरूले टाउको उठाउन खोज्नेविरुद्ध युद्ध भएको तर्क गरे। मोर्चा जनताको पक्षमा, प्रगतिशील र वामपन्थीहरूको पक्षमा भएको दाबी गर्दै प्रधानमन्त्री दाहालले १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता र संविधान बनाउन भूमिका खेल्ने सबैलाई हातेमालो गर्न आग्रह गरे। “यो देशलाई फेरि अराजकताको, निरंकुशताको, सामन्तवादको अँध्यारोतिर लान चाहने विचार, प्रवृत्ति र शक्तिविरुद्ध संघर्षको मैदानमा अगाडि बढौँ भन्न चाहन्छु,” उनले भने।
नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व गरेका नेत्रविक्रम चन्द मोर्चामा सामेल हुनु गुणात्मक र क्रान्तिकारी महत्त्व भएको भन्दै प्रधानमन्त्री दाहालले यसले संसदीय राजनीतिमा सामेल भएका आफूहरूमा लागेको धुलोमैलो सफा गर्न मद्दत पुग्ने बताए।
“सायद कमरेड विप्लवजस्ता पार्टीहरू यहाँ मोर्चामा आउँदा हाम्रो धुलोमैलो सफा गर्न पनि मद्दत हुन्छ भन्ने मलाइ लाग्छ। त्यस अर्थमा आजको यो मोर्चा गठन र घोषणाको दूरगामी महत्त्व छ भन्ने म ठान्छु“ उनले भने।
उनले क्षणिक र आवेगमा नभई ठूलो संघर्ष, त्याग, दुःख, कष्ट, गल्ती कमजोरीबाट पाठ सिक्दै फेरि इतिहासमा अग्रगमनको पक्षमा र प्रतिगमनविरुद्ध एउटा नयाँ आन्दोलन शुरू गर्ने संकल्प लिएर मोर्चा गठन गरिएको जिकिर गरे। उनले नेता–कार्यकर्ताको उत्साहले समाजवादी मोर्चाको औचित्य स्थापित भइसकेको बताउँदै यसलाई अभियानका रूपमा लैजाने उल्लेख गरे।
सम्बोधनका क्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीतर्फ इंगित गर्दै समाजवादी मोर्चा कसैसँग मुकाबिला गर्न नबनेको बताए। एमाले अध्यक्ष ओलीले समाजवादी मोर्चा कांग्रेसलाई तर्साउन र एमालेसँग मुकाबिला बन्न लागेको टिप्पणी गरेका थिए।
“कसैलाई तर्साउन पनि गरेको होइन। कसैको मुकाबिला गर्नका लागि पनि होइन। यो सबै सकारात्मक शक्तिहरूलाई एकताबद्ध गर्नका लागि यो मोर्चा बनाएका छौँ” उनले भने। अध्यक्ष नेपालले प्रतिगमनविरुद्ध मोर्चाले डटेर सामना गर्ने बताउँदै अग्रगमनका पक्षधर सबै शक्तिहरूलाई मोर्चामा आबद्ध हुन आह्वान गरे।
सत्तापक्ष र सत्ताबाहिर रहेका दल सहभागी रहेको मोर्चाले सबैलाई समेट्ने सामर्थ्य राख्ने बताएका अध्यक्ष नेपालले देशभक्त र क्रान्तिकारी शक्तिसँग हातेमालो गर्दै अघि बढाउने योजना मोर्चासँग रहेको जिकिर गरे। समाजवादी शक्तिमा रहेका जनताको प्रभावलाई विस्तार गर्न मोर्चा निर्माण गरेर अघि बढ्ने निर्णय लिएको उनले बताए।
जसपा अध्यक्ष उपेन्द्र यादवको सम्बोधन पनि एमाले अध्यक्ष ओली लक्षित देखिन्थ्यो। अध्यक्ष यादवले ओलीतर्फ इंगित गर्दै समाजवादी मोर्चासँग तर्सिन नपर्ने बताए। अध्यक्ष यादवले मोर्चा कसैका विरुद्ध लक्षित नरहेको पटक पटक दोहोर्याए। परिवर्तनका मुद्दालाई अगाडि बढाउने, राष्ट्र निर्माणलाई अगाडि बढाउने र मुलुकमा देखा परेका समस्यालाई हल गर्दै अगाडि बढ्नका लागि मोर्चा गठन गरिएको उनको तर्क थियो।
“साथीहरू घोषणा हुनुभन्दा अगाडि नै बरबराउन थाल्नु भएको थियो, मिडियाहरू बरबराएको पढ्न, सुन्न पाइयो। त्यस्तो नबरबराउँदा हुन्छ,” उनले भने, “हामी देशको जनताको हितका लागि, मुलुकको अग्रगामी परिवर्तनका लागि सहकार्य, परस्पर सहयोगको आधारमा अगाडि बढ्छौँ। तर, प्रतिगमनकारी शक्तिहरू, जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई, विगतका आन्दोलनका संघर्ष र बलिदानलाई समाप्त पार्ने खेल खेलेका छन्। निश्चित रूपमा तिनहरूविरुद्ध यो मोर्चा उभिने छ।”
अध्यक्ष यादवले प्रतिगमनका पक्षधर, संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध उभिनेहरूका विरुद्धमा भने मोर्चाले संघर्ष गर्ने चेतावनीसमेत दिए। उनले समानता, सामाजिक न्याय र समतामा आधारित एउटा समाजवादी समाजको निर्माण गर्ने दिशातर्फ अगाडि बढ्नका लागि नै मोर्चा गठन गरिएको र त्यसमा सफलता हात पार्ने दाबी गरे। अध्यक्ष यादवले सबै समुदायका जनतालाई परिवर्तनको अनुभूति गराउन लागि सामूहिक प्रयास गर्न पनि समाजवादी मोर्चा उपयोगी हुने बताए।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले समाजवादी मोर्चा निर्माणलाई नेपाली राजनीतिका लागि नयाँ मोडका रूपमा व्याख्या गरे। सरकारमा भएको र संघर्षमा रहेको पार्टीको बीचमा मोर्चा बन्नु नेपालको इतिहासकै नयाँ प्रयोग भएको उनको दाबी थियो। “नेपालको स्वाधीनता र जनताको अधिकारका लागि एउटा नयाँ संघर्ष, लडाइँ अगाडि बढाउनुपर्छ भन्ने सोचसाथ हामीले एउटा नयाँ अभ्यास अगाडि ल्याएका छौँ, समाजवादी मोर्चा नेपाल। यो नेपाली राजनीतिको एउटा नयाँ मोड हो।”
उनले अत्यासलाग्दो परिस्थितिमा गुज्रिएको देशको राजनीति मुक्त पार्न, प्रतिगामी र पश्चगामीहरूलाई मौकाको फाइदा उठाउन नदिनका लागि मोर्चा बनेको उल्लेख गरे। महासचिव विप्लवले देशको नेतृत्व अग्रगामीले गर्ने बताउँदै भने, “पूर्ण आत्मविश्वासका साथ हामीले दाबी गरेका छौँ, यो देशको नेतृत्व अग्रगामीहरूले गर्ने हो। यो देशको नेतृत्व समाजवादी मोर्चाले गर्ने हो।”
उनले आगामी दिनमा मोर्चाले देशलाई आशा जगाउने, शहीद तथा बेपत्ताहरूको समाजवाद स्थापना गर्ने सपनालाई साकार पार्दै देशमा भएका राजनीतिक परिवर्तनहरूको रक्षा गर्ने बताए।
कार्यक्रममा पूर्वप्रधानमन्त्री नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भने समाजवादी मोर्चाप्रति संशय व्यक्त गरे। उनले समाजवादी मोर्चालाई सत्ता टिकाउने कदमका रूपमा प्रयोग नहोस् भन्दै नेताहरूलाई सचेत गराए।
“म चारै दलका नेताहरूलाई आग्रह गर्न चाहन्छु, यो मोर्चा खाली सत्तालाई टिकाउने मोर्चा मात्रै नबनोस्। यो मोर्चा साँचो अर्थमा आमूल परिवर्तनको मोर्चा बनोस्।” उनले देशभरका वामपन्थी, समाजवादी र क्रान्तिकारीहरूलाई एकताबद्ध नगरेसम्म देशमा सही विकल्प निर्माण हुन नसक्ने बताउँदै मोर्चालाई अझ बिस्तार गर्नुपर्ने आवश्यक औँल्याए।
उनले देशको भविष्यलाई उज्यालो बनाउनका लागि आफूहरूको लक्ष्य समाजवादी गणतन्त्र भएको बताए। उनले देशमा भएका शोषण, दमन, अन्याय र अत्याचार समाप्त गर्ने एक मात्र विकल्प समाजवाद भएकाले आफूहरू त्यसप्रति प्रतिबद्ध रहने उल्लेख गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
