आफू आएपछि नेपाल वायुसेवाले ४ अर्ब नाफा गरेको पर्यटनमन्त्रीको दाबी कति सत्य?

मन्त्री किरातीले दाबी गरेजस्तो उनी आएपछि मात्र निगमले सञ्चालन नाफा गरेको होइन। गत आर्थिक वर्ष पनि निगमको सञ्चालन नाफा १ अर्ब ४ करोड रुपैयाँ थियो।

काठमाडौँ– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले कार्यभार सम्हालेपछि नेपाल वायुसेवा निगम सञ्चालन नाफामा रहेको दाबी गरे। गएको जेठ २२ गते उकालोमा प्रकाशित अन्तर्वार्तामा नाफाबाट झण्डै ४ अर्ब ऋण तिरेको पनि उनले बताएका थिए। 

अन्तर्वार्तामा पर्यटनमन्त्रीले भनेका थिए, “म आएपछि ‘अपरेसनल कस्ट’ मा नाफामा छौँ, तर धमिजा, लाउडाकाण्ड र कोभिड–१९ को त जिम्मा लिन सक्दिनँ। अहलेको अपरेसन कस्टमा ऋण तिरियो, जहाज किन्ने भइयो। जुन समयदेखि आइयो, त्यसयताको कुरा गर्दैछु। हिजोको ऋण बाँकी छ, तर ‘अपरेसन कस्ट’ कटाएर नेपाल एयरलाइन्स अहिले नाफामा छ।” 

उकालोमा मन्त्री किरातीको अन्तर्वार्ता प्रकाशित हुँदा उनले मन्त्रालय सम्हालेको चार महिना मात्र पूरा भएको थियो। यसबीचमा उनले अरु मञ्चहरुबाटसमेत आफू आएपछि निगमले नाफा गरेको बताउँदै आएका छन्।

किरातीको यस्तो भनाइपछि गत बिहीबार प्रतिनिधिसभामा बोल्दै पूर्वपर्यटनमन्त्री समेत रहेका नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेम आलेले भने तीन महिनामा निगमले चार अर्ब रुपैयाँ नाफा कमायो भनेर झुटो बोलेको दाबी गरे। आलेले नेपाल एयरलाइन्सको यथार्थ आर्थिक अवस्थाबारे संसद्लाई जानकारी गराउन सरकारसँग माग पनि गरे।

गत आर्थिक वर्षको महालेखापरीक्षकको प्रतिवेदन र अर्थ मन्त्रालयको आर्थिक सर्वेक्षणमा नेपाल वायु सेवा निगमको घाटा १ अर्ब ७० करोड रुपैयाँ देखिएको उल्लेख गर्दै सांसद आलेले भने, “नाफा कमायो भनी पर्यटनमन्त्रीले सञ्चारमाध्यममा झूट बोलेको सुनियो, के हो यो? आजको दिनमा नागरिकलाई भ्रम छर्न पाइँदैन। यो सदनमार्फत निगमको यथार्थ आर्थिक अवस्था कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको लाखौँ बचतकर्तालाई स्पष्ट जानकारी गराइयोस्।” 

राईले संसदमा भनेजस्तै पर्यटनमन्त्री किरातीले झूट बोलेका हुन त? नेपाल वायु सेवा निगमका अनुसार सञ्चालन खर्च घटाएर बाँकी रहने सञ्चालन नाफा यो वर्ष बढेको छ। यद्यपि गत वर्ष पनि निगम सञ्चालन नाफामै थियो। निगमको आम्दानीबाट जहाज सञ्चालनका क्रममा लाग्ने खर्च कटाएर बाँकी रहने रकम नै सञ्चालन नाफा हो।

यसमा विमान खरिद गर्दा नागरिक लगानी कोष र सञ्चय कोषबाट लिएको ऋणको ब्याज (फाइनान्सियल कस्ट) पर्दैन। मन्त्री किरातीले दाबी गरेजस्तो उनी आएपछि मात्र सञ्चालन नाफा भएको भने होइन। गत आर्थिक वर्ष निगमको सञ्चालन नाफा १ अर्ब ४ करोड रुपैयाँ थियो। कोरोना माहामारीका कारण उडान प्रभावित हुँदा २०७७/७८ मा भने निगम १ अर्ब १४ करोड सञ्चालन घाटामा थियो। 

चालु आर्थिक वर्षमा आम्दानी बढे पनि हालसम्म कति सञ्चालन नाफा भयो भन्ने यकिन विवरण लेखापरीक्षणपछि मात्र थाहा हुने निगमका प्रवक्ता रमेश पौडेल बताउँछन्। यद्यपि चालु आर्थिक वर्षको सञ्चालन नाफाबाटै निगमले चैत मसान्तसम्म कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई २ अर्ब ९४ करोड २८ लाख ६५ हजार रुपैयाँ ऋणको किस्ता तिरेको छ। 

निगमले अन्तर्राष्ट्रिय उडानका लागि किनिएका दुई न्यारोबडी र दुई वाइडबडी विमानको लागि लिएको ऋणको तेस्रो किस्ताबापत चैतमा दुवै ऋणदातालाई ५३ करोड ९ लाख ५५ हजार रुपैयाँ बुझाइसकेको छ। निगमले त्यसअघि २०७९ असारमा १ अर्ब ३५ करोड, असोजमा ७३ करोड ९ लाख ५५ हजार तथा पुसमा ३३ करोड ९ लाख ५५ हजार बुझाएको थियो । चालु आर्थिक वर्षमा मात्र निगमले ३ किस्ता बुझाइसकेको छ र अन्तिम किस्ता यसै महिनाभित्र बुझाइसक्ने पौडेलको दाबी छ। 

चार वटा विमान खरिद गर्दा लिएको साँवा र ब्याजको किस्ता गरी गत आर्थिक वर्षसम्म निगमको ऋण ४८ अर्ब रुपैयाँ पुगेको थियो। नेपाल सरकारको जमानतमा निगमले ती विमान किन्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग क्रमशः २२ र १२ अर्ब रुपैयाँ ऋण लिएको हो। निगमको व्यापार विस्तार भएको र नगद प्रवाहमा क्रमिक रूपले सुधार भएसँगै सञ्चालन नाफाबाट चालु आर्थिक वर्षमा नियमित किस्ता तिरेको प्रवक्ता पौडेल बताउँछन्।

कोभिड–१९ को महामारीका बेला उडान बन्द हुँदा किस्ता, ब्याज र जरिवाना समेत गरेर थपिएको ४ अर्ब रुपैयाँ छुट गर्न निगमले सञ्चय कोष र नागरिक लगानी कोषलाई पटक-पटक आग्रह गर्दै आएको छ।