नवलपुरबाट वैदेशिक रोजगारमा गएका २८ जनाको एकै वर्षमा मृत्यु

विदेशमा अत्यधिक समय काम गर्ने, कार्यस्थलको असुरक्षा, तनावलगायत कारणले ज्यान गुमाउने गरेको पाइएको छ। 

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरबाट एक वर्षमा वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु भएको छ।

चालु आर्थिक वर्षको हालसम्ममा जिल्लाबाट वैदेशिक रोजगारमा गएका उनीहरूले ज्यान गुमाएका हुन्। वैदेशिक रोजगारको क्षेत्रमा काम गर्दै आएको सुरक्षित आप्रवासन कार्यक्रमका संयोजक रितुराम सोतीका अनुसार यसवर्ष २७ पुरुष र एक महिलाको वैदेशिक रोजगारका क्रममा मृत्यु भएको छ।

ज्यान गुमाउनेमा देवचुलीका सात, कावासोतीका छ, मध्यविन्दुका छ, गैँडाकोटका चार, विनयी त्रिवेणीका तीन र हुप्सेकोटका एक जना छन्।

अत्यधिक समय काम गर्ने, कार्यस्थलको असुरक्षा, तनावलगायत कारणले ज्यान गुमाउने गरेको पाइएको छ। अत्यधिक रकम खर्चेर विदेश जाँदा धेरै आम्दानी गर्ने दबाबका कारण लगातार काम गर्दा कतिपय घटना हुने गरेको प्रतिवेदनमा उल्लेख छ। 

संयोजक सोतीका अनुसार एक वर्षमा वैदेशिक रोजगारसम्बन्धी नवलपुरमा १८८ मुद्दा दर्ता भएका छन् । तथ्यांकअनुसार ठगीमा पर्नेको संख्या सबैभन्दा बढी छ।

१८८ मध्ये ११८ मुद्दा ठगीसम्बन्धी छन्। उद्धारसम्बन्धी ३०, मृत्युका ३० र अन्य प्रकृतिका १० मुद्दा छन्।