सोमबार देशभरका अदालतमा कानून व्यवसायीले बहस नगर्ने

नेपाल बार एसोसिएसनले अदालतको सीसीटीभी फुटेज सार्वजनिक गर्नुपर्ने, घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन गर्नुपर्ने लगायत ६ बुँदे माग राखेको छ।

काठमाडौँ– नेपाल बार एसोसिएसनले भोलि सोमबार देशभरका अदालतमा बहस नगर्ने घोषणा गरेको छ। ललितपुर जिल्ला अदालतमा कार्यरत नायब सुब्बा प्रेमिका तामाङलाई कुटपिट गरेको आरोपमा अमिर लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएपछि बारेले विज्ञप्ति निकालेर सोमबार बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस नगर्ने जनाएको हो।

यद्यपि, बारेले राखेको मागमध्ये एउटा अधिवक्ता लामिछानेलाई २४ घण्टाभित्र रिहा गर्न राखेको माग भने पूरा भएको छ। जिल्ला प्रशासन कार्यालय ललितपुरले आइतबार अधिवक्ता लामिछानेलाई साधारण तारेखमा छाडेको हो।

यसबाहेक घटनासँग सम्बन्धित अदालतको सीसीटीभी फुटेज प्रमाणको निम्ति सार्वजनिक गर्नुपर्ने, घटनाको सत्यतथ्य छानबिन गर्न समिति गठन गर्नुपर्ने लगायत ६ बुँदे माग बारेले अगाडि सारेको छ।

गत असार १३ गते ललितपुर जिल्ला अदालतमा भएको घटनामा वास्तविकता र यथार्थ विवरणलाई बंग्याइ सीसीटीभीको फुटेज नहेरी अधिवक्ता लामिछानेलाई एकतर्फी दोषी देखाउने कोशिश गरेको बारले टिप्पणी छ।

"यस्ता प्रकृतिका घटना घट्न निश्चय नै दुःखद हुनुको साथै यस्ता कार्यले न्यायालयको स्वच्छता र गरिमालाई धुमिल पार्दछ," विज्ञप्तिमा भनिएको छ, "अदालतमा जडित सीसीटिभीको माध्यमबाट सत्यतथ्य अन्वेषण गरी दोषीउपर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्नेमा सीसीटीभी फुटेज नहेरी विवादलाई आफ्नो पक्षमा पार्न उद्वेलित हुनु जानाजान आफ्नाविरुद्धमा फुटेज प्रमाण भएकोले प्रकाशमा ल्याउन आनाकानी गरिएको त हैन भन्ने संशय पैदा गरेको छ।"

कर्मचारीले आवेगमा आई कानून व्यवसायीमाथि हातपात गर्ने कार्यले किमार्थ पनि अदालतको जनआस्था अभिवृद्धि हुन नसक्ने बारको ठहर छ। साथै, अदालतमा कार्यरत कर्मचारीले पद अनुकूलको आचरण पालना गर्नुपर्नेमा आफ्नो पदीय जिम्मेवारी र भूमिकाको ख्याल नगरी उत्तेजित भई आफ्नो पक्षको तर्फबाट कागजातहरू माग गर्दा एक कानून व्यवसायीप्रति अमर्यादित व्यवहार गरेको भन्दै बारले भर्त्सनासमेत गरेको छ।

No description available.