ताप्लेजुङमा खाद्यान्न र पेट्रोलियम पदार्थ सहज बनाउन माग

हेवाखोला पुलका कारण मेची राजमार्गमा सवारीका साधन चल्न नसक्दा ताप्लेजुङमा मानवीय संकट आउन लागेको भन्दै तत्काल बेलीब्रिज निर्माण गर्न माग गरिएको छ।

मेची राजमार्गको हेवाखोला क्षेत्र। यहाँको पुल बाढीले बगाएपछि ताप्लेजुङमा खाद्यान्नलगायतको अभाव हुन थालेको छ। तस्वीर: रासस

पाँचथर– ताप्लेजुङको ‘लाइफलाइन’का रूपमा रहेको मेची राजमार्ग अवरुद्ध हुँदा पेट्रोलियम पदार्थ, खाना पकाउने ग्यास र खाद्यान्नको अभाव हुन लागेको जनाउँदै सरोकारवालाले संघीय सरकारको ध्यानाकर्षण गराएका छन्।

बाढीपहिराले गरेको क्षतिको निरीक्षणका लागि आएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई भेटेर ताप्लेजुङको टोलीले मानवीय संकट उत्पन्न हुन लागेको जनाएका हुन्। ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङसहितको टोलीले मानवीय संकट आउनबाट रोक्न आग्रह गरेको हो।

प्रजिअ चेम्जोङका अनुसार यही असार २ गते बाढीले हेवाखोलाको पुल बगाउँदा ताप्लेजुङमा १५ दिन पुग्ने खाद्यान्न मौज्दात रहेको आकलन गरिएको थियो । हेवाखोला डाइभर्सनबाट केही घन्टा यातायातका साधन चल्दा थप केही खाद्यान्न र पेट्रोलियम पदार्थ ताप्लेजुङ भित्रिएको थियो।

यसरी जम्मा भएको खाद्यान्न र पेट्रोलियम पदार्थ सकिन लागेको उनले बताइन्। “हेवाखोला पुलका कारण मेची राजमार्गमा सवारीका साधन चल्न नसक्दा मानवीय संकट आउन लागेको छ,” उनले भनिन्, “त्यसैले मेची राजमार्ग र तमोर करिडोर चाँडोभन्दा चाँडो सञ्चालन गराउन मन्त्रीज्यूमार्फत म विशेष आग्रह गर्दछु।”

ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण थापाले जिल्लाको अवस्था दयनीय बनेको बताए। “पेट्रोलियम पदार्थ नपाइँदा यातायात अवरुद्ध हुन लागेको छ। चामलको मौज्दात सकिन लागेको छ,” उनले भने, “अब चार–पाँच दिनसम्म मालवाहक सवारी ताप्लेजुङ नआउने हो भने यहाँ समस्या हुन्छ।”

डाइभर्सन सञ्चालनको प्रयास प्रभावकारी नभएको अध्यक्ष थापाले गुनासो गरे। यस्तै बेलीब्रिज निर्माणमा पर्याप्त जनशक्ति परिचालन गर्न ताप्लेजुङवासीले आग्रह गरेका छन्। “असार ३ गते १०–१२ दिनमा बन्छ भनेको बेलीब्रिज अझै १०–१५ दिनपछि मात्रै सम्पन्न हुने देखिन्छ,” अध्यक्ष थापाले भने, “यसमा सरकार गम्भीर बनेर लाग्नुपर्‍यो।”

प्रजिअ चेम्जोङका अनुसार बाढीपहिरोका कारण ताप्लेजुङमा तीन जनाको मृत्यु भएको छ भने तीन घाइते छन्। यस्तै तीन अझै बेपत्ता छन्। सिदिङ्वा, सिरिजंघा र मैवाखोला गाउँपालिकामा ३३  घरमा पूर्ण क्षति भएको छ भने उच्च जोखिममा १११ घर छन्।

विस्थापितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। ताप्लेजुङमा एउटा मोटरेबल पुल पूर्ण क्षति भएको छ भने तीनवटा मोटरेबल पुलमा क्षति पुगेको छ।

यस्तै, १० झोलुंगे पुल, १०  लघुजलविद्युत्‌मा क्षति पुगेको प्रजिअ चेम्जोङले जानकारी दिइन्।