खहरे गाउँमा मौलिक परम्परा बोकेका घर भेट्टाउनै मुस्किल छ। सडकको छेउछाउमा रहेका खेतीयोग्य जमिन मासेर कंक्रिटका नयाँ घर भवन बनिरहेका छन्।
ढोरपाटन– बागलुङ बजारनजिकै छ खहरे गाउँ। दशक अगाडिसम्म गाउँमा ढुंगाले बान्की मिलाएर छाएको छानो, सेतो कमेरो र माटोले पोतिएका घर थिए। शहरबाट नजिक सुन्दर गाउँ भएकाले घुम्न आउने मोहित हुन्थे। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमै पर्ने भए पनि खहरे गाउँलाई आधुनिकताले छोएको थिएन। मौलिक कला, संस्कृति र सम्पदा संरक्षित थिए।
अहिले गाउँले मौलिकता गुमाउँदै गएको छ। गाउँमा मौलिक परम्परा बोकेका घर भेट्टाउनै मुस्किल छ। खर र ढुंगाका छाना भएका घर कम हुँदै गएका छन्। पछिल्लो समय गाउँमा घर जस्तापाताले छाइन र सिमेन्टले ढलान हुन थाले। त्यसले गर्दा गाउँको पहिचान हराउन थाल्यो। अहिले धमाधम सिमेन्ट र रडले घर निर्माण भइरहेका छन्। माटो र कमेरोको सट्टा सिमेन्ट र केमिकलका रङ लगाउने प्रचलन बढ्दै गयो। यस गाउँका वरपर थुप्रै पाटी पौवा, पोखरी र शीतलताका लागि चौतारा थिए।
सडकका कारण पोखरी र चौतारालगायतका सम्पदा मासिँदा अहिले उजाडजस्तो बनेको छ। सडकको छेउछाउमा रहेका खेतीयोग्य जमिन मासेर नयाँ घर भवन बनिरहेका छन्। गाउँमा सहर बजारका जस्ता घर बन्दै गएपछि मौलिकता गुम्ने खतरा बढेको स्थानीय जंगबहादुर कार्कीले बताए।
साढे दुई दशकअगाडि लोकमार्गले खहरे गाउँ जोडिएपछि लामो समय गाउँ गाउँकै रूपमा रहे पनि अहिले तीव्र रूपमा बजारीकरण हुन थालेको कार्कीको भनाइ छ। अहिले गाउँबाट विदेश जानेको संख्या बढेको र विदेशमा कमाएर ल्याएपछि गाउँमा पुराना घर भत्काएर सिमेन्टका पक्की घर बनाउन थालेको कार्की बताउँछन्। सहजताका लागि आफूले पक्की घर बनाए पनि घरको फाइदाभन्दा बेफाइदा धेरै रहेको कार्कीलाई आजभोलि महसुस हुन थालेको छ।
“हाम्रो पालामा गाउँमा यस्ता घर थिएनन्, तलदेखि माथिसम्म सबै ढुंगा माटोका घर थिए, बस्ती पनि अहिलेको जस्तो बाक्लो थिएन तर अहिले दिनदिनै नयाँ घरहरू बन्दै गए, बस्ती थपिँदै गए, गाउँ त अहिले बजार जस्तै भएको छ”, कार्कीले भने, “विकास हुन त राम्रो हो, तर मौलिकता मासेर आधुनिकतालाई अँगाल्नु विल्कुलै राम्रो होइन, पहिले गाउँ घरमै खेतबारीमा काम गर्ने, खेतीपाती गरेर जीवन निर्वाह गर्ने, परम्परागत घरमै बस्ने गरिन्थ्यो, अहिले सबै विदेश जान थाले, विदेशमा कमाएको पैसाले आफू जन्मे हुर्केको घर भत्काएर विदेशीको नक्कल गरेर घर बनाउन थाले।”
पछिल्लो समय यहाँबाट चितवन, पोखरा, काठमाडौँलगायतका सुविधायुक्त शहरमा बसाइँसराइ गरेर जान थालेका छन्। गाउँ भएर पनि बजारकै सेवासुविधा पाएका स्थानीयले घर उस्तै बनाउँदै गएको स्थानीय ६५ वर्षीया चन्द्रकला क्षेत्रीले बताइन्। देख्न राम्रो भए पनि गाउँमा बनेका सिमेन्टका पक्की घर स्वास्थ्यका लागि अनुकूल नभएको क्षेत्री बताउँछिन्। आफ्ना छोराले विदेशमा कमाएर गाउँमा पक्की घर बनाएको जनाउँदै क्षेत्रीले पक्की घरका कारण रोगी बन्नुपरेको बताइन्।
“घरमा आमाबाबालाई लिपपोत गर्न दुःख भयो भनेर छोराले पक्की घर बनाइदिए, ढुंगा माटोको घर हुँदा दाउरामा आगो बालिन्थ्यो, आगोमै पकाएर खाइन्थ्यो, त्यसैले शरीर स्वस्थ हुन्थ्यो, अहिले त दाउरा बाल्नै छोडियो, आगो ताप्ने ठाउँमा हिटर ताप्छन्, यसले स्वास्थ्यलाई राम्रो गरेन, चिसो लाग्ने, शरीर दुख्ने, समस्या बढ्यो, अहिले र घरघरमा एउटा होइन, दुई/दुई वटा ग्यास चुला छन्, बरु पहिलेकै माटो ढुंगाको घर ठीक थियो,” क्षेत्री भन्छिन्।
सडकले बजारसँग जोडेर गाउँलेलाई सुविधा त बनायो, तर सुविधासँगै गाउँको सुन्दरता र मौलिक संस्कृति भने हराउने गरायो। अहिले खहरे गाउँसँगै बागलुङका अधिकांश सडक छेउमा पर्ने गाउँ बजारमा रूपान्तरण हुँदै छन्। जिल्ला सदरमुकाम बागलुङ बजारदेखि पश्चिम पातीहाल्नेसम्म दर्जन गाउँ तीव्र रूपमा बजारीकरण भइरहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
