बचतकर्तालाई रुवाएर अर्बौंको ‘व्यापारिक साम्राज्य’ खडा गरेका सहकारी सञ्चालक

शिवशिखर सहकारीका सञ्चालकले मात्र बचतकर्ताको १० अर्ब ७७ करोड ७६ लाख हिनामिना गरेर ‘व्यापारिक साम्राज्य’ खडा गरेको सीआईबीको अनुसन्धानले देखाउँछ। यो ३६ जिल्लाका १ लाख ६८ हजार ७२५ जनाको पैसा हो। 

सर्वसाधारण बचतकर्ताको झन्डै ११ अर्ब रुपैयाँ उठाएर आफू र आफन्तजनका ४३ कम्पनीमा लगानी गरेको आरोपमा सीआईबीद्वारा पक्राउ परेका शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मा।

काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भक्तपुरको कौशलटारमा मुख्य कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्मालाई केही दिनअघि नेपालगन्जबाट पक्राउ गर्‍यो। बचतकर्ताले जम्मा गरेको झन्डै १० अर्ब ७८ करोड रुपैयाँँ हिनामिना गरी फरार रहेका शर्मालाई प्रहरीले नियन्त्रणमा लिएपछि कलंकी स्युचाटारकी कान्छी लामालाई आफूले दुःखले कमाएर यो सहकारीमा जम्मा गरेको ३ लाख रुपैयाँ फिर्ता पाइने आशा पलाएको छ।

आफ्नो बचतको खोजी गर्दै सहकारी विभाग पुगेकी उनी यो मुद्दामा सीआईबीले अनुसन्धान गरिरहेको थाहा पाएपछि छोरीसँगै मंगलबार उजुरी दिन पुगेकी थिइन्। यो सहकारीमा उनकी छोरीको पनि १ लाख ६२ हजार रुपैयाँ बचत थियो।

६० वर्षीया लामाले २०६६ सालदेखि नै उक्त सहकारीमा बचत जम्मा गर्न थालेकी हुन्। दैनिक ज्यालादारीमा काम गर्दा उनले दिनमा बढीमा साढे २ सय रुपैयाँ कमाउँथिन्। २/४ वटा बाख्रा पनि पालेकी थिइन्। त्यसरी नै कमाएर जोगाएको पैसा बुढेसकालको लागि टेको बन्ने उनको विश्वास थियो।

काठमाडौँको बागबजारस्थित शिवशिखर सहकारीको शाखामा जम्मा गरेको रकम फिर्ता लिन गत फागुनयता कैयौँ पटक धाउँदा उनले एक रुपैयाँँ पनि फिर्ता पाइनन्।

आफूजस्तै बचतकर्ताको अर्बौं रुपैयाँँ हिनामिना गर्ने सहकारीका मुख्य सञ्चालकलाई पक्राउ गरेपछि भने उनमा आफ्नो रकम फिर्ता पाउने आशा पलाएको छ। “दैनिक ज्यालादारीमा काम गरेँ, २/४ वटा बाख्रा पालेर त्यसको आम्दानी पनि बुढेसकालमा खान नपाइएला कि भनेर सहकारीमा राखेँ। त्यहीँ पनि फसेपछि अहिले औषधि उपचार गर्ने पैसा पनि छैन,” सहकारीको शाखा कार्यालय र सहकारी विभाग धाउँदाधाउँदै थाकिसकेकी लामा भन्छिन्। 

दु:खको आम्दानी बचाएर बुढेशकालका लागि शिवशिखर सहकारीमा जम्मा गरेको ३ लाख रुपैयाँ फिर्ता पाउने आशामा प्रहरीसँग हारगुहार गरिरहेकी कान्छी लामा। तस्वीर: केशु/उकालो

२०७९ माघ २० गते शिवशिखरले प्रतिबद्धतापत्र निकालेर ‘सबै बचतकर्ताहरूको रकम फिर्ता गर्न सक्षम रहेको र मुलुकको अर्थतन्त्रमा सृजना भएको असहज अवस्थाले सबै लगानी उठ्न नसकेको’ बताएको थियो। तर, सञ्चालकहरू आफैँले विभिन्न कम्पनी खोली रकम अपचलन गरेकाले संस्थाले दिनुपर्ने सावाँ पनि दिन नसकेको प्रहरीको निष्कर्ष छ।

विराटनगरको तुलसी बहुमुखी सहकारी संस्थाको अध्यक्षसमेत रहेका शर्मालाई प्रहरीले उनको गृहजिल्ला बाँकेको नेपालगन्जबाट नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। शर्मा पक्राउ परेपछि जाहेरी दिन आउने पीडित बचतकर्ताहरूको संख्या पनि बढिरहेको सीआईबीका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।

 यो पनि : माइतीघर मण्डलमा १० दिनदेखि सहकारी पीडितको चित्कार, मौन छ सरकार

शिवशिखर सहकारीमा भक्तपुरमा मात्र सर्वसाधारणले १ अर्ब ७१ करोड रकम जम्मा गरेका थिए। त्यसमध्ये १ हजार २९२ बचतकर्ताले ६६ करोड ३१ लाख मागदाबी सहित उजुरी दिएका छन्।

शिवशिखरको ललितपुर कार्यालयमार्फत ६ हजार १२३ बचतकर्ताले ४९ करोड ३ लाख बचत रकम जम्मा गरेका थिए। ती बचतकर्तामध्ये बुधबारसम्ममा ४९२ जनाले उजुरी दिएका छन्।

उक्त सहकारीले काठमाडौँमा रहेका ४ वटा शाखा कार्यालयबाट २१ हजार ३६९ बचतकर्ताको २ अर्ब ११ करोड ५२ लाख निक्षेप संकलन गरेको थियो।

शर्माले शिवशिखर सहकारीमा बचतकर्ताले जम्मा गरेको १० अर्ब ७७ करोड ७६ लाख रकम हिनामिना गरेको सीआईबीको अनुसन्धानले देखाएको छ। ३६ जिल्लामा रहेका ४३ वटा शाखामार्फत १ लाख ६८ हजार ७२५ जना निक्षेपकर्ताले उक्त रकम जम्मा गरेका थिए।

शर्मा अध्यक्ष रहेको मोरङको तुलसी बहुमुखी सहकारी संस्थाले २१ हजार १५४ निक्षेपकर्ताबाट संकलित १ अर्ब ५४ करोड ७५ लाख रुपैयाँँ हिनामिना गरेको प्रहरीको अनुसन्धानले देखाइसकेको छ।

बचतकर्ताको पैसाबाट शर्माको अपत्यारिलो ‘व्यापार साम्राज्य’
२०५१ सालमा आफ्नो गृहथलो कोहलपुरमा व्यवसाय शुरू गर्दा केदारनाथ शर्मासँग ४ लाख रुपैयाँँ मात्र थियो। सोही लगानीको कमाइ लिएर पछि काठमाडौँमा किराना व्यवसाय विस्तार गरेका शर्माले केही वर्षमा भक्तपुरको सल्लाघारीमा शिवशिखर कृषि सहकारी र कौशलटारमा शिखरदीप बहुउद्देश्यीय सहकारी संस्था खोले।

२०७७ सालमा उनले यी दुवै सहकारीलाई ‘मर्ज’ गरेर शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था बनाए। शुरूमा आफैँ अध्यक्ष बनेका शर्माले सहकारीको पैसा अपचलन गरी विभिन्न कम्पनी खडा गरे। पछि उक्त सहकारीमा त्यहीँका कर्मचारी सुशील बानियाँलाई अध्यक्ष बनाएका शर्माले २०७८ सालमा आफैँ अध्यक्ष रहनेगरी विराटनगरमा तुलसी सहकारीको स्थापना गरे। त्यहाँका बचतकर्ताबाट उठाएको डेढ अर्ब रुपैयाँँभन्दा बढी रकम उनकै मनोमानीबाट अपचलन भएको प्रहरीको अनुसन्धानले देखाएको छ।

शर्मा र उनका नजिकका आफन्तले ‘शिखर अर्गनाइजेसन’ अन्तर्गत सञ्चालित विभिन्न ४३ कम्पनीमा लगानी गरेका छन्। सबैजसो क्षेत्र समेट्ने ती कम्पनीहरूमा गोरखा बेभरेज प्रालि, शिखर नेपाल टेक्नोलोजी प्रालि, शिखरदिप फुड इन्डष्ट्रिज प्रालि, शिखरदिप एग्रो पालि, उपकार एक्सपोर्ट–इम्पोर्ट प्रालि, तुलसी काउ फार्म एन्ड डेरी प्रालि लगायत छन्। त्यस्तै, तुलसी कफी उद्योग, उपकार अगरबत्ती उद्योग, उपकार मिडिया ग्रुप, तुलसी फुड इन्डष्ट्रिज प्रालि, शिखर मेशिनरी एन्ड अटोमोबाइल प्रालि लगायतका कम्पनी छन्।

त्यसबाहेक शर्मा र उनका नजिकका आफन्तले काठमाडौँ, ललितपुर, कञ्चनपुर, डडेलधुरा, बाँके, सुर्खेत, दाङ, चितवन लगायतका जिल्लाको २० ठाउँमा ‘गार्डेन मार्ट डिर्पाटमेन्ट स्टोर’ सञ्चालन गरेको पनि प्रहरी अनुसन्धानले देखाएको छ।

शर्माले आफू र आफन्तजनका नाममा जग्गाजमिन र विभिन्न कम्पनी खोली सहकारी संस्थामा रहेको रकम दुरुपयोग गरेका थिए। उनी आबद्ध कम्पनीहरुका नाममा २०० भन्दा बढी सवारी साधन रहेको भेटिएको छ। शर्माले हजारौँ बचतकर्ताको रकम निजी व्यापार व्यवसायमा लगानी गरेको पाइएको सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले जानकारी दिए।

सहकारीका बचतकर्ताहरूबाट उठाएको रकमका अतिरिक्त शर्माले विभिन्न बैंकहरूबाट ४ अर्बभन्दा बढी ऋण लिएर शिखर अर्गनाइजेशन अन्तर्गतका कम्पनीहरूमा लगानी गरेको पनि पाइएको छ।

शिवशिखर सहकारीका वर्तमान अध्यक्ष सुशील बानियाँ पनि अहिले फरार छन्। उनलाई प्रहरीले खोजिरहेको छ।

सहकारीबाट ठगिएका पीडितहरूको उजुरी लिइरहेको सहकारी विभाग। तस्वीर सौजन्य: विभागको वेबसाइट।

केदारनाथ शर्मासहित शिवशिखरका सञ्चालकहरू गीता शर्मा, पुस्कर मल्ल, अमिश राजभण्डारी, सुशील बानियाँ, तेजबहादुर तामाङ, राजु साखकर्मी, दिपकबहादुर ऐर, लिलानाथ गौतम र भोजराज पौडेलले सहकारी ऐन २०७४ को दफा १२२ विपरीत बचतकर्ताको रकम हिनामिना गरेको जिल्ला सरकारी वकिलको कार्यालय भक्तपुरले जिल्ला अदालतमा पेश गरेको अभियोगपत्रमा उल्लेख छ। गीता शर्मा, अमिश राजभण्डारी र पुष्कर मल्ललाई प्रहरीले यसअघि नै प्रक्राउ गरेर पुर्पक्षका लागि थुनामा पठाएको छ।

सहकारी ऐनको दफा १२२ मा सञ्चालक समितिको सदस्य, व्यवस्थापक वा कर्मचारीले सहकारी संस्थाको सम्पत्ति, बचत वा शेयर रकम हिनामिना गरेमा हुने सजायबारे उल्लेख छ। असुल हुन नसक्ने गरी समितिका कुनै सदस्य, निजको नातेदार वा अन्य व्यक्ति वा कर्मचारीलाई ऋण दिएमा, समितिका कुनै सदस्यले एक्लै वा अन्य सदस्यको मिलेमतोमा सहकारीको शेयर वा बचत रकम आफूखुशी परिचालन गरी संस्थालाई हानी नोक्सानी पुर्‍याएमा, झूटा वा गलत विवरण पेश गरी कर्जा लिएमा र राखेको धितो कच्चा भएमा वा ऋण हिनामिना गरेमा विभिन्न सजाय तोकिएको छ। 

यो पनि : अनावश्यक सरकारी निकाय खारेजीः पाँच वर्षदेखि निर्णय र घोषणा जारी, प्रगति शून्य

उक्त कसुरमा १० लाख रुपैयाँँसम्म बिगो भएमा एक वर्षसम्म कैद, त्यसभन्दा बढी ५० लाख रुपैयाँँसम्म बिगो भएमा दुईदेखि तीन वर्षसम्म कैद र १ अर्ब रुपैयाँँभन्दा बढी जतिसुकै बिगो भए पनि ८ देखि १० वर्षसम्म कैदको व्यवस्था छ। 

सीआईबीका अनुसार प्रहरीले हाल ३६ जिल्लामा शिवशिखर सहकारीबाट भएको ठगीको अनुसन्धान गरिरहेको छ। देशैभरका बचतकर्ताले जम्मा गरेको रकमको केही भाग भारतका विभिन्न कम्पनीमा लगेर लगानी गरेकोसमेत पाइएको प्रहरीको भनाइ छ। यसबारे थप अनुसन्धान भइरहेको सीआईबीका प्रवक्ता अधिकारी बताउँछन्।

५ अर्ब उठाएर भाग्ने गौतमश्री, जहाँबाट खुल्यो सहकारीको ठगी शृंखला
काठमाडौँको कुलेश्वरमा रहेको गौतमश्री सहकारीका अध्यक्ष रामबहादुर गौतम फरार भएको चर्चा चलेपछि २०७९ साउन १५ गते सयौँ बचतकर्ताहरूको भिड सहकारी विभागमा पुग्यो। त्यसको दुई दिनअघि कार्यालयमा ताला लगाएर अध्यक्ष गौतम सम्पर्कबिहीन भएको थाहा पाएपछि उनीहरू उजुरी गर्न विभागमा गएका थिए।

ती बचतकर्ताको उजुरीका आधारमा सहकारी विभागले २०७९ साउन १८ गते पहिलोपटक गौतमश्री सहकारीलाई समस्याग्रस्त घोषणा गर्न भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गर्‍यो। त्यतिबेलासम्म त्यसका सञ्चालक र कर्मचारीहरूसमेत सम्पर्कबिहीन भइसकेका थिए। विभागका अधिकारीहरूको भनाइअनुसार सोही घटनापछि नै अन्य सहकारीको ठगी र रकम हिनामिनाबारेका सूचना सतहमा आउन थाले। त्यसयता विभागमा बचतकर्ताको उजुरी संख्या पनि बढ्दै गयो।

कार्यालय नै बन्द गरेर सम्पर्कबिहीन भएका गौतमश्रीका अध्यक्ष गौतम त्यसको एक सातापछि प्रहरीको सुरक्षा घेराबीच सहकारीको केन्द्रीय कार्यालय, कुलेश्वरमा सार्वजनिक भए। त्यसबेला रोचक के भयो भने, गौतम फरार भएको सुनेर आक्रोशित बचतकर्ता उनी सार्वजनिक हुँदा फूलमालासहित स्वागत गरिरहेका देखिए। 

बचतकर्ताबाट उठाएर आफ्ना विभिन्न निजी व्यवसायमा समेत लगानी गरेको ४ अर्ब ९८ लाख रुपैयाँ एक वर्षभित्र फिर्ता गर्न सहकारी विभागसँग प्रतिबद्धता जनाएका गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामबहादुर गौतम र काठमाडौँको कुलेश्वर स्थित उनको सहकारी संस्था। 

अध्यक्ष गौतमले बचतकर्तालाई नआत्तिन र केही समय दिन आग्रह गर्दै त्यतिबेला भनेका थिए, “धेरै ऋण उठ्न बाँकी छ, मेरो सम्पत्ति बेचेर पनि तपाईंहरूको पैसा तिर्छु, ढुक्क रहनुहोस्।”

उनले आफ्नो सहकारीले बचतमा राम्रो ब्याजदर दिएको भन्दै सावाँ भुक्तानीका लागि केही ब्याज मिनाहा गरिदिन पनि बचतकर्तालाई एक वर्षअघि नै आग्रह गरेका थिए। त्यसबीचमा सहकारी विभागले गौतमलाई पटक–पटक बचतकर्ताको रकम भुक्तानीसम्बन्धी कार्ययोजना पेश गर्न निर्देशन दिएको थियो।

उनले एक वर्षभित्र ४ अर्ब रुपैयाँँ फिर्ता गर्ने लिखित प्रतिबद्धता जनाएको विभागका एक अधिकारी बताउँछन्। मागेको समय पूरा हुनै लाग्दा ७६ करोड रुपैयाँ बचत भुक्तानी गरेको विवरण गौतमले सहकारी विभागमा बुझाएका छन्। त्यो पनि उनले व्यापार गर्ने मेशिनरी सामान, जग्गा मिलान लगायतबाट भुक्तानी गरेको देखिएको छ। विभागले दिएको जानकारीअनुसार गौतमश्री सहकारीले बचतकर्ताबाट ४ अर्ब ९८ लाख रुपैयाँँ उठाएको थियो।

उक्त सहकारीबाट बचत रकममा वार्षिक १८ प्रतिशतसम्म पनि ब्याज पाएको सहकारी विभागमा उजुरी दिन पुगेका बचतकर्ताहरूले नै बताएका छन्। सहकारी संस्थाहरूले ऋण लगानीमा नै १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने गरी सीमा तोकिएको छ। त्यसमाथि विभागले बचत र ऋणको ब्याजदरबीच ६ प्रतिशत अन्तरसीमा कायम गरिदिएको छ। यसप्रकार बचतकर्तालाई अधिकतम १० प्रतिशत मात्रै ब्याज दिन पाउने व्यवस्था छ।

उक्त सहकारीका सञ्चाकलहरू रामबहादुर गौतम, अनिलकुमार गौतम, अर्जुनबहादुर गोतामे, सुमित्रा कार्की र मिलन गौतम रहेका छन्।

गौतमश्रीको कारोबारबारे स्वतन्त्र लेखापरीक्षकको प्रतिवेदन २०७८/७९ मा लेखापरीक्षणको लागि गौतमश्रीले आवश्यक कागजात उपलब्ध नगराएको र कर्जा नोक्सानी व्यवस्था, निक्षेप, पुँजीलगायतका कोषबारे एकिन नभएको उल्लेख छ। सहकारीमा सर्वसाधारणले जम्मा गरेको ४ अर्ब ९८ करोडमध्ये ८० प्रतिशत रकम सञ्चालक समितिले उपभोग तथा अपचलन गरेको हुनसक्ने आशंका पनि प्रतिवेदनमा गरिएको छ। काठमाडौँ र मकवानपुर कार्यक्षेत्र रहेको उक्त सहकारीले पुरानो कर्जा असुली नहुँदै थप कर्जा प्रवाह गरेको पनि लेखापरीक्षणबाट खुलेको छ।

गौतमश्री सहकारीले पनि बचतकर्ताबाट उठाएको रकम विभिन्न स्थानमा व्यापार विस्तारका लागि लगानी गरेको पाइएको छ। अध्यक्ष रामबहादुर गौतमले काठमाडौँमा गौतमश्री ओभरसिज, काभ्रेको पात्लेखेतमा गाई फार्म, मार्ट तथा गोदामहरू सञ्चालन गरेका थिए। यस्तै, उनले सहकारीमा संकलित बचत रकमबाट चितवन, झापा, कैलाली लगायतका विभिन्न जिल्लामा जग्गा किनेको पाइएको सहकारी विभागका एक अधिकारी बताउँछन्।

गौतमले ठूलो परिमाणमा हार्डवेयरको सामग्री आयात गरेर व्यवसाय विस्तार गरेका थिए। सहकारी विभागले हाल गौतमश्रीका सञ्चालकको नाममा रहेको सबै सम्पत्ति रोक्का गरिदिएको छ। संस्थाका अध्यक्ष गौतमले सञ्चालन गरेका विभिन्न व्यवसायमा बैंकले समेत लगानी गरेको भेटिएको छ। त्यसमध्ये एभरेष्ट बैंकले मात्र करिब २० करोड रुपैयाँ कर्जा लगानी गरेको छ।