लिंगको दैहिक परिचयभन्दा माथि उठेर प्रेम गरेका हुन्छन् समलिंगीले। यो अझै उच्चस्तरको प्रेम हो। झमेला त विषमलिंगी विवाहमा पनि हुन्छ।
गत असार १२ गते सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्ने व्यवस्था मिलाउन सरकारलाई आदेश दिएसँगै नेपालमा समलिंगी विवाहले तत्कालका लागि मान्यता पाएको छ। यसले एलजीबीटीक्युआई+ अधिकारकर्मी र दम्पतीबीच खुशीको सञ्चार गराएको छ।
सरकारले आफूहरूलाई नागरिकका रूपमा पहिचान दिए तापनि विवाह गर्न पाउने र विवाहमार्फत जोडिन आउने अन्य अधिकारलाई मान्यता नदिएका कारण आफ्नो नैसर्गिक अधिकार खोसिएको उनीहरूको दाबी थियो। सर्वोच्चको महत्त्वपूर्ण आदेशसँगै नेपाल समलिंगी विवाहलाई मान्यता दिने एसियाकै दोस्रो र दक्षिण एसियाको पहिलो राष्ट्र बन्न सफल भएको छ।
सर्वोच्चको आदेश आफैँमा प्रगतिशील कदम हो। यसले नेपाल आफ्नो प्रजातान्त्रिक मूल्य-मान्यतालाई निकै महत्त्वपूर्ण रूपमा हेर्छ र नेपालको प्रजातन्त्रले आफ्ना अल्पसंख्यकलाई कुनै आधारमा भेदभाव गर्दैन, हरेक नागरिकलाई उत्तिकै सम्मान हक-अधिकार सुनिश्चित गर्नेछ भन्ने सन्देशसमेत दिएको छ।
पूर्व पञ्चहरूको प्रतिनिधित्व गर्ने केही पार्टीमध्ये एक, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई भने सर्वोच्चको सो फैसला मन परेन। उनले फैसला आएलगत्तै सामाजिक सञ्जालमा लेखे, 'समलिंगी विवाह दर्ताको सम्बन्धमा सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण छ। समलिंगी विवाह प्राकृतिक नियम, सामाजिक मान्यता र संस्कार विपरीत छ। विवाह महिला र पुरुषबीचको पवित्र सम्बन्ध हो। समलिंगी विवाहले वैधानिकता पाउने हो भने यसले पारिवारिक झमेला एवं सामाजिक विकृति सिर्जना गर्दछ।'
के थापाले भनेजस्तै अदालतको आदेश गलत छ? समलिंगी तथा यौनिक अल्पसंख्यकबीचको राजीखुशी विवाहले समाजमा विकृति सिर्जना गर्छ?
अदालतको फैसला गलत छ त?
अदालतको कुनै फैसला त्यतिखेर मात्र त्रुटिपूर्ण हुन्छ, जतिबेला त्यो संविधानको भावनासँग बाझिन्छ। नेपालको संविधान २०७२ को धारा १८ (१) ले लिंगको आधारमा कोही नागरिकलाई भेदभाव गरिने छैन भनी प्रस्ट्याएको छ। त्यस्तो आधारभूत कानूनी व्यवस्थालाई नजरअन्दाज गर्दै समलिंगीबीच विवाह गर्न मिल्दैन भन्ने खालको आदेश दिएको खण्डमा चाहिँ त्यस्तो आदेश त्रुटिपूर्ण हुन जान्थ्यो।
खुलेर आफूलाई व्यक्त गर्न नसके पनि नेपालमा उल्लेख्य रूपमा लैंगिक र यौनिक अल्पसंख्यक छन्। नेपालको संविधानले देशको सार्वभौमसत्ता जनतामा निहित रहेको हुन्छ भनी निर्क्योल गरेको हुँदा यस सरहदभित्र जन्मेका र विधि पुर्याएर बसेका सबै यस देशका नागरिक हुन्। त्यसो हुँदा यौनिक अल्पसंख्यक पनि यही मुलुकका नागरिक हुन् र अन्यझैँ सबैखाले अधिकार तिनको पनि रहन्छ। उनीहरूले पनि आम नागरिकझैँ विवाह गर्न पाउनुपर्छ।
विषमलिंगी (हेटोरोसेक्सुअल) जोडीझैँ संयुक्त बैंक खाता खोल्न र सम्पत्ति सँगै राख्न तथा 'फिलिङ अफ वननेस' (एकत्व) भाव बोध गर्न तिनले पाउनुपर्छ। यसो गर्न नदिइनु आफैँमा व्यक्तिको स्वतन्त्रता र आत्मसम्मानविपरीत हुन्छ, प्रजातान्त्रिक मूल्य-मान्यतामाथि त्रुटि भएको अनुभूति हुन्छ, किनकि प्रजातन्त्रमा राज्यका अगाडि सबै नागरिक समान हुन्छन्।
समानता, स्वतन्त्रता र मानवअधिकारको सम्मानका सिद्धान्तहरूमा प्रजातन्त्र आधारित भएकाले यस्तो व्यवस्थामा एलजिबिटीक्युआईप्लस अधिकारको महत्वलाई अतिरञ्जित गर्न सकिँदैन। समावेशी प्रजातन्त्रले सबै व्यक्तिको अन्तर्निहित गरिमा र मूल्यलाई मान्यता दिन्छ। लोकतान्त्रिक आदर्शहरूको पूर्ण प्राप्तिका लागि सबैको यौन झुकाव र लैंगिक पहिचानको सम्मान गरिनुपर्छ।
तर प्रजातन्त्रको आँगनमा निर्धक्क नाच्न पाएका कमल थापाहरूलाई भने केबल राजनीतिको रोटी सेक्नु छ। र, रोटी सेक्ने क्रममा जोसुकैका भावना पोलिए पनि तिनलाई बिस्मात् छैन। आफ्नो पार्टीको नाम नै प्रजातान्त्रिक पार्टी भए पनि अलोकतान्त्रिक हर्कत गरेर उनलाई ताली बटुल्नु छ। उसो त थापाझैँ संसारभरका अनुदारवादी र रुढीवादीहरू हरेक कुरा आफ्नो संस्कार र संस्कृतिसँग जोडेर हेर्छन्।
उनीहरू जान्दैनन् या बिर्सन्छन्-सामाजिक मूल्य-मान्यता र संस्कार त समाजले बनाउने हो। यी विषय समयअनुसार परिभाषित हुन्छन्। थापा र उनको लयमा ताली पिट्नेहरू यो कुरा पनि बिर्सन्छन् कि समाज व्यक्तिहरूको साझा अभिव्यक्ति हो। त्यसो हुँदा यसै समाजमा समलिंगीहरू छन्। समलिगींहरूबीचको आपसी, स्वतन्त्र सम्बन्ध तथा ममतामा प्रश्न गर्ने हामी को हौँ? दुई व्यक्तिको खुशीमा तगारो हाल्नै किन आवश्यक छ? आखिर समाजको रीतिथिति बसाल्ने यसै समाजका मानिसले हो।
समलिंगी विवाह प्राकृतिक नियमविरुद्ध छ?
उसो त के प्राकृतिक हो र के प्राकृतिक होइन भन्ने सवाल आफैँमा आत्मपरक विषय हो। त्यसो हुँदा सबैजसो मानवीय व्यवहारहरू प्राकृतिक हुन्। समलिंगी विवाह पनि प्राकृतिक हो। त्यसमाथि, विवाहको अवधारणा समयसँगै विकसित हुँदै आएको विषय हो।
मौलिक रूपमा प्रेम, प्रतिबद्धता र आवश्यकताहरू बीचको साझेदारीको कानूनी मान्यताको एक रूप हो विवाह। त्यसो हुँदा लैंगिक झुकाव वा लैंगिक पहिचानलाई पर्वाह नगरी पनि दुई व्यक्ति कानूनी रूपमा सँगै रहन सक्छन्। त्यसमाथि हरेक समाजको इतिहासमा समलिंगी व्यक्तिको अस्तित्व छ, त्यसका प्रमाण लिपिबद्ध छन्। त्यसकारण पनि विवाहलगायत प्रतिबद्ध सम्बन्ध निर्माणबारे व्यक्तिको चाहनालाई 'अप्राकृतिक र असांस्कृतिक' भन्दै टिका लगाइदिने अधिकार तेस्रो व्यक्तिलाई छैन। त्यो व्यक्तिगत छनोट र स्वतन्त्रताको विषय हो। नेपाली नागरिकको व्यक्तिगत स्वतन्त्रताको सुनिश्चितता संविधानले गरेको छ।
हुन त खास कुनै समुदाय र कुलमा जन्मिनेबित्तिकै कोही व्यक्ति जनतालाई शासन गर्न सक्षम हुन्छ भन्ने प्रणालीलाई नै प्राकृतिक मान्नेहरूसँग सामाजिक न्यायको अपेक्षा गर्नु निरर्थक हो। प्राकृतिक नियमविपरीत गएर मानिसलाई जात र लिंगका आधारमा भेदभाव संस्थागत गर्ने मनुवादी संस्कृतिको पक्षमा निरन्तर प्रवचन दिनेहरूबाट अपेक्षा गर्नु युक्तिसंगत होइन। थापाको 'होमोफोबिक/क्वेरफोबिक' चरित्रको जड जातीय विभेद हो। आफू र आफ्नो जाति/वंशबाहेक अरूको अधिकार छैन भन्ने सोच्नु सामन्ती संस्कार हो। यस्ता विचारहरू आफैँमा अप्राकृतिक प्रणालीका उपज हुन्। त्यसो हुँदा अहिलेको समयमा थापा र 'थापामार्गी'हरूले अप्राकृतिक करार गरेका वस्तु र विषय झनै बढी प्राकृतिक हुन् भनेर बुझ्दा फरक पर्दैन।
समलिंगी व्यवहार सामाजिक मान्यता र संस्कार विपरीत छ?
माथि नै उल्लेख गरियो, सामाजिक मूल्य-मान्यता र संस्कार समाजले बनाएको हो र समाजले बनाउँदै जानेछ। समाज व्यक्तिहरूको साझा अभिव्यक्ति भएकाले लैंगिक अल्पसंख्यक छुट्दा समाज अपूर्ण हुन जान्छ। धर्म-संस्कृतिकै कुरा गर्ने हो भने हिन्दु धर्ममा सबैभन्दा बढी पुजिएका शिव र विष्णुबाट जन्म भएका अयप्पालाई आजको दिनमा पनि भारतको केरल राज्यमा पुजिन्छ। उनलाई हिन्दु पौराणिक कथाअनुसार मोहिनी भनेर चिनिने भगवान् विष्णु र भगवान् शिवको स्त्री अवतारको पुत्रका रूपमा बुझिन्छ।
महाभारतको कथामा शिखण्डी नामका पात्र छन्, जो जन्मजात महिला हुन्, तर पुरुषको रूपमा हुर्कन्छन् र महिलासँग नै विवाह गर्छन्। महिला र महिलाबीच नै महाभारत कथामा विवाह हुन्छ। शिखण्डी अन्ततः योद्धा भीष्मको मृत्युको कारक बन्छन्, जसले स्त्रीसँग लड्न अस्वीकार गरेका हुन्छन्। कृष्ण र अर्जुनबीचको प्रेमलाई समेत समान लिंगीबीचको प्रेम र समर्पणको रूपमा व्याख्या गर्न सकिन्छ। अधिकांश पश्चिमी विश्वासविपरीत हिन्दु परम्परामा ऐतिहासिक रूपमा समलैंगिकहरूलाई एक प्राकृतिक व्यवहारको रूपमा अंगीकार गरिएको पाइन्छ। लोककथा र धार्मिक पाठहरूमा यी विषय प्रशस्त भेटिन्छन्।
शायद थापाजी आफ्नै संस्कार-संस्कृतिको अध्ययनमा चुक्नुभएको छ, या त उहाँ पश्चिमी परम्परावादी र 'क्रिस्चियन' आख्यानको प्रभावमा हुनुहुन्छ। आज पश्चिममा उदारता फैलिए पनि क्रिश्चियन संस्कृति समलिंगीप्रति सकारात्मक थिएन, तर कमल थापाको आफ्नो संस्कृतिचाहिँ समलिंगीप्रति नकारात्मक थिएन। यसो भन्दै गर्दा हामीले के कुरा भुल्नु हुँदैन भने शास्त्र र मिथकले के भन्छन्, के दिएका छन् वा छैनन् भन्ने तर्क कसैको अस्तित्व र सम्मानभन्दा माथि हुँदैन। आजको उत्तम चेतनाले नै हो आजको समाजलाई मार्गदर्शन गर्ने हो।
महिला र पुरुषबीचको सम्बन्ध मात्र पवित्र हो?
एक अर्काप्रति प्रतिबद्ध र भावनात्मक रूपमा एकदमै निकट व्यक्तिबीच जीवनको एक क्षण स्थायी सम्बन्धको सहमति हुन्छ, भलै कहिलेकाहीँ त्यस्ता सम्बन्ध पछि तोडिन पनि सक्छन्। त्यसो हुँदा यहाँ 'स्ट्रेट लैंगिक' कुरा अप्रासंगिक हुन जान्छ। विशेषगरी विवाहमार्फत दुई व्यक्तिले आर्थिक, कानूनी, भावनात्मक र शारीरिक लाभ/सुख प्राप्त गर्छन्।
यसर्थ, व्यक्तिले कसलाई रुचाउने, कोसँग सँगै बस्ने भन्ने कुरा धार्मिक सिद्धान्त वा सामाजिक सिद्धान्तले नियन्त्रण गर्ने होइन। हाम्रोजस्तो कानूनी राज्यमा त त्यस्तो हुनै हुँदैन। महिला र पुरुषको विवाहलाई मात्र वैधानिकता दिनुपर्छ भन्ने मान्यता राख्ने मनुष्यहरूको मगजमा विवाह केवल प्रजननका निम्ति हो भन्ने बुझाइ हुन्छ। तर ती महिला र पुरुषको जोडीलाई के भन्ने, जो विवाहपश्चात् प्रजनन गर्न असमर्थ हुन्छन्? के उनीहरूको विवाहलाई पनि अप्राकृतिक घोषणा गरिदिने? त्यस्तो विवाहलाई पनि अमर्यादित ठहर गरिदिने?
आजका दिनमा धेरै देशले समलिंगी विवाहलाई वैधानिकता दिएका छन्। विषमलिंगी जोडीझैँ एलजिबिटिक्युआई समुदायले समान कानूनी र सामाजिक लाभ-जिम्मेवारीको अनुमति पाएका छन्। विश्वका धेरै प्रजातान्त्रिक देश र न्याय क्षेत्रले पहिले नै समलिंगी विवाहलाई वैधानिकता दिएका छन्। तिनका अनेकौँ अनुभवले यसबारे बहुमूल्य अन्तर्दृष्टि प्रदान गर्छन्। समलिंगी विवाह हुनुहुन्न भन्नेहरूले भविष्यवाणी गरेका नकारात्मक परिणाम यी देशहरूले अनुभव गरेका छैनन्। त्यस विपरीत समलिंगी विवाहले मान्यता पाएका समाजमा सामाजिक प्रगति बढ्दो छ। तिनले अधिक समावेशिता र लैंगिक अपनत्वमा योगदान गरेको पाइएको छ।
समलिंगी विवाहले पारिवारिक झमेला र सामाजिक विकृति सिर्जना गर्छ?
लिंगको दैहिक परिचयभन्दा माथि उठेर अमुक व्यक्तिलाई प्रेम गरेका हुन्छन् समलिंगीहरूले। त्यसरी हेर्दा यो अझै उच्चस्तरको प्रेम हो। पारिवारिक झमेला त विषमलिंगी विवाहमा पनि हुन्छ। कुरै गर्ने हो भने संसारमा आजसम्म हुने गरेका घरेलु हिंसा, सम्बन्ध विच्छेदहरू प्राय: सबै विषमलिंगी विवाहबाटै उत्पन्न भएका हुन्।
नेदरल्यान्ड्स, बेल्जियम, क्यानडा र समलिंगी विवाहलाई वैधानिकता दिइएका अमेरिकाका कतिपय राज्यहरूमा समलिंगी विवाहबारे धेरै लामो समय लगाएर अध्ययनहरू सञ्चालन गरिएका छन्। ती अध्ययनका परिणामहरूले निरन्तर देखाएका छन् कि समलिंगी विवाहको वैधानिकताले समाज वा विवाह संस्थामा कुनै नकारात्मक प्रभाव पारेको छैन।
उदाहरणका लागि सन् २०१७ मा 'जर्नल डेमोग्राफी'ले नेदरल्यान्ड्सको १० वर्षे अवधिको तथ्यांकको विश्लेषण गर्यो र पत्ता लगायो कि समलिंगी विवाहको वैधानिकताले विपरीतलिंगी विवाहको दर वा सम्बन्ध विच्छेद दरहरूमा कुनै प्रभाव पारेको छैन। सन् २०१३ मा 'जर्नल पेडियाट्रिक्स'मा प्रकाशित एक अध्ययनले तीन दशकको अनुसन्धानको समीक्षा गर्दै बालबालिकाको मनोविज्ञान, कल्याण, सामाजिक समायोजन र शैक्षिक प्रदर्शन तिनीहरूका आमाबुबाको यौन झुकावबाट प्रभावित नहुने निष्कर्ष निकाल्यो।
स्मरणीय छ, अनुसन्धानहरूको भारी बहुमतले समलिंगी विवाहले सामाजिक अराजकता वा पारिवारिक अवरोध सिर्जना गर्दैन भन्ने निष्कर्षलाई समर्थन गर्छ। समलिंगी विवाहलाई दिइएको कानूनी मान्यताले समाज वा विवाहको संस्थामा कुनै नकारात्मक प्रभाव नपारी समलिंगी जोडीले उनीहरूको परिवारको स्थिरता र कल्याणलाई झनै बढावा दिन्छ भने कुरा बुझ्न जरुरी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
