पहिले हराइसकेको यस नाचलाई पाँच वर्षअघि उत्तमरत्न शाक्यले पुनर्जीवित गरेका थिए। यही अवसरमा कला प्रदर्शन, बाद्यवादनदेखि पूजाआजा तथा टीकाटालोलगायत सांस्कृतिक भूमिकामा पाटनका युवाको सहभागिता लोभलाग्दो छ।
काठमाडौँ– शनिबार दिउँसो पाटन सौगः टोलस्थित नाट्येश्वर मन्दिर परिसर धिमे बाजाले गुञ्जायमान थियो। त्यहाँ मिप्वाः लाखे प्याँख (नाच) हुनुअघिको बाजाको अभ्यास भइरहेको थियो। नाचका प्रमुख पात्र पुजन श्रेष्ठ पनि तासको जामा, घंघला (कम्मरमा बाँधिने एक प्रकारको गहना) र टाउकोमा सेतो कपडाको फेटा र खुट्टामा कल्ली लगाएर तम्तयार थिए।
कार्यक्रम शुरू भइनसकेका कारण उनले ख्वपा (मुकुट) लगाउन बाँकी नै थियो। यद्यपि बाहिर बजेको धिमे बाजासँग उनको पैतालाले भने ताल मिलाइरहेको थियो। त्यसो त लाखे बनेर नाच्ने क्रममा वरपर बज्ने बाजाले नै प्रभाव पारिहाल्ने लाखे बनेका पात्रहरूको भनाइ छ।

लाखेसँगै नाच्ने तिन्पाकुचा (भ्यागुतो) लाई सजाउनमा व्यस्त थिए, विवेककृष्ण श्रेष्ठ। हरियो रंङको पहिरनमा तिन्पाकुचा बनेका व्यक्ति चाहिँ निश्चल शाक्य थिए।
नाचका संयोजकसमेत रहेका विवेक नाच व्यवस्थापनको पाटो पनि सम्हाल्दै थिए। यसबाहेक नाचको लागि आवश्यक पर्ने सामग्री जोरजाम गर्नेदेखि भीड व्यवस्थापनसम्मको जिम्मेवारीमा अन्य युवा व्यस्त थिए। ती सब दृश्य हेरिरहेका जोकोहीलाई लाग्थ्यो, कार्यक्रममा सम्पूर्ण जिम्मेवारी यिनै युवाले काँध लिएका छन्।

हरेक वर्ष यस नाचको आयोजना गर्न ‘यल लाय्कू मिप्वाँः लाखे पुचः’ नामको समिति नै बनाइएको छ। समितिमा ६० जना सदस्य छन्, जो हरेक वर्ष हुने यस नाचको तयारीका लागि एकत्रित हुने गर्छन्।
पाटनको चर्चित नाचमध्येको एक हो, कात्तिक नाच। सोही नाच समूहका अधिकांश युवा लाखेको भूमिकासहित यस नाचमा सहभागी छन्। समितिका संयोजक विवेककृष्ण एकै प्रकारको पृष्ठभूमि भएको कारण पनि यस नाच आयोजनाको लागि सहज भएको बताउँछन्।

धेरै पहिले हराइसकेको यस नाचको प्रशिक्षण पाँच वर्षअघिदेखि समितिका संस्थापक तथा पूर्वअध्यक्ष उत्तमरत्न शाक्यले गरेका हुन्। उनले आफ्ना बाबुबाट सिकेको विधि सम्झिएका आधारमा २०७५ सालदेखि नाचलाई पुनर्जीवित गरेका थिए।
गत वर्षदेखि लाखे बनेर नाचेका मलिक ताम्राकारलाई शुरूमा आफू ‘नर्भस’ भएको याद छ। यद्यपि, बाजाको धुनसँग एकाग्र हुने शरीरमा छुट्टै प्रकारको आनन्द र ‘रिल्याक्सेसन’ अनुभूति हुने उनी बताउँछन्।
पहिलो पटक तिन्पाकुचा बन्न लागेका शाश्वत श्रेष्ठ पहिलेदेखि नै युट्युबमा लाखे नाच हेर्दै आएको बताउँछन्। “मलाई तिन्पाकुचा बन्न खुब मन थियो। ड्याडीलाई सोधेपछि बन भन्नुभयो र यहाँ नाच सिक्न आएँ,” उनी भन्छन्।

आफू निकै उत्साहित भएको र लाखेको अगाडि गएर नाचको नक्कल गर्दै लाखेलाई जिस्क्याउँदा रमाइलो लागेको उनी बताउँछन्। यसअघि पनि तिन्पाकुचा बनेका रौनक श्रेष्ठले नाचको क्रममा खाली खुटट हिँड्दा पनि खास फरक नपर्ने अनुभव सुनाए।
व्यस्त जीवनशैलीबाट निकालेको समय संस्कृति संरक्षणमा
पुचःका संयोजक विवेककृष्ण श्रेष्ठ पेशाले होटल व्यवसायमा आवद्ध छन्। उनी कात्तिक नाचका प्रमुख पात्र पनि हुन्। यसकारण व्यावसायिक जीवनबाट वर्षको केही समय निकालेर उनी सांस्कृतिक कला संरक्षणमा लागिरहेका हुन्छन्। कात्तिक नाच र मिप्वाः लाखे नाचमा सहभागी हरेक पात्रको कथा यस्तै छ।

मिप्वा लाखे बनेका पुजन पेशाले भिडियो छायाकार तथा फोटोग्राफर हुन्। सबैको समय निकालेर साँझपख २–३ घण्टा सांस्कृतिक नाच प्रशिक्षण लिनमा लगाउने गरेको उनी बताउँछन्।
११ वर्षीय शाश्वत विद्यालयबाट फर्किएर ट्युसन सकेपछि मात्रै नाच प्रशिक्षणको लागि जाने गरेका छन्। यसरी आफ्नो दैनिकीको साँझपख आरामको समयमा सबै जना भेला भएर नाच सिक्ने गर्छन्। यस्तै, स्तानक तह पहिलो वर्षमा अध्ययनरत रौनक श्रेष्ठ पढाइसँगै कलासंस्कृतिमा समय दिन पाउँदा गौरव महसुस हुने बताउँछन्।

पाटनमा बाजा बजाउनेदेखि भीड व्यवस्थापन तथा टीकाटालोलगायत व्यवस्थापकीय क्षेत्रमा युवाको सहभागिता लोभलाग्दो देखिन्छ। बच्चैदेखि हेर्दै आएको कलासंस्कृति प्रदर्शनमा समूह मिलाएर सरिक हुँदा अझ प्रभावकारी लाग्ने मलिक ताम्राकार बताउँछन्। यद्यपि, नाच सिक्न थालेपछि नसकिएसम्म शरीरलाई शुद्ध राख्नुपर्ने ताम्राकार बताउँछन्। “माछामासु, मद्यपान र अरूको जुठो खानु हुँदैन,” उनी भन्छन्।
यल लायकु मिप्वाः लाखे पुचःमा आवद्ध ६० जनामा बालबच्चा र युवाहरूको सहभागिता उल्लेख्य छ। नाचमा हुने खर्च जुटाउनु केही चुनौतीपूर्ण भए पनि सबै जना निस्वार्थ रूपमा लागिरहेको पुचःका सचिव सुदर्शन शाक्यले बताए।

विवेक, पुजन, शाश्वत र उनीहरूजस्ता धेरै युवा तथा किशोरकिशोरीले नाच, जात्राजस्ता अमूर्त सम्पदाप्रति सचेत हुँदै हुर्किंरहेको पुस्ताको प्रतिनिधित्व गरिरहेका छन्। संस्कृतिप्रतिको यही चेतनाले दशकौँअघि रोकिएको नाचको पुनरुत्थान सम्भव भएको हो।
पुचःलाई नेतृत्व गर्ने अध्यक्ष नभएको समयमा पनि युवा टोलीले देखाएको एकता र सक्रियताको पाटनवासीले सराहना गरेका छन्।

मिप्वाः लाखे नाचको पहिलो दिन शनिबार नाट्येश्वर मन्दिर परिसरबाट शुरू भएको नाच नुग (लुंहिति), ओकुबहाँ, थैना, चक्रबही, होग, तिच्छुगल्ली, इखालखु, बालुखा, पूर्णचण्डी, गाबहाः, पिम्बहाः, सुलिम्ह, नकबही, घलाय्चा, क्वाल्खु, झातापो, कोन्ती, मंग, हःखा हुँदै सौगः त्वामा पुगेर समापन भएको थियो।
आइतबार दिउँसोको ३ बजेबाट थालिएको दोस्रो दिनको लाखे नाच सौगः स्थित नाट्येश्वर मन्दिर परिसरबाट अगाडि बढ्दै थैना, थापाहिटी, प्रयागपोखरी, टंग, चक्रबहीः, तिच्छुगल्ली, ईखालखु, बालुखा, पूर्णचण्डी, गाबहा, नबहा, कुछेननि, नटोल, छाबहा, पिम्बहाँ, धौगल, पट्को, मंग र हःखाटोल हुँदै पुनः सौगः त्वामा पुगेर राति अबेर समापन हुनेछ।
गथामुगःबाट शुरू भएर नौ दिनसम्म चल्ने ‘मिप्वाः लाखे प्याँख’ यसवर्ष भने मलमास परेकाले सो अवधि शुरू हुनुअघि सोमबारसम्म तीन दिन मात्र चल्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
