सामाजिक सुरक्षा कोषको वृद्धावस्था सुरक्षा योजनाका योगदानकर्तालाई ७.५ प्रतिशत व्याज

सामाजिक सुरक्षा कोषबाट योगदानकर्ताले लिने विशेष सापटीमा वार्षिक ८.६० प्रतिशत र  धितोमा आधारित घर सापटी तथा शैक्षिक सापटीमा वार्षिक ९.२५ प्रतिशत व्याज लाग्नेछ।

काठमाडौँ- सामाजिक सुरक्षा कोषले चालु आर्थिक वर्ष २०८०/८१ का लागि योगदानकर्ताले वृद्धावस्था सुरक्षा योजनामा जम्मा गरेको रकममा वार्षिक ७.५ प्रतिशत व्याज दिनेभएको छ। 

कोषले सञ्चालन गरेको वृद्धावस्था सुरक्षा योजनामा २३ अर्ब ७४ करोड ३७ लाख ७७ हजार रुपैयाँ संकलन भएको छ। कोष सञ्चालक समितिको बैठकले आवकाश कोषबाट योगदानकर्ताले लिएको विशेष सापटीमा वार्षिक ८.६० प्रतिशत व्याज लाग्ने निर्णय पनि गरेको छ। 

धितोमा आधारित घर सापटी तथा शैक्षिक सापटीमा वार्षिक ९.२५ र धितोमा आधारित सापटीको किस्ता भुक्तानी म्याद नाघेकामा १ प्रतिशत हर्जना व्याज लिने निर्णय गरेको कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिए। उनका अनुसार कोषमा सबैतर्फको गरी हालसम्म ३६ अर्ब ४४ करोड योगदान रकम संकलन भइसकेको छ। 

औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजनामा १ अर्ब १० करोड ४८ लाख ६५ हजार, दुर्घटना तथा अशक्तता सुरक्षा र आश्रित परिवार सुरक्षा योजनामा १ अर्ब ९८ करोड ४० लाख ५६ हजार र अतिरिक्त योगदान शीर्षकमा ९ अर्ब ६१ करोड १५ लाख २८ हजार रुपैयाँ संककलन भएको कोषले जनाएको छ। 

कोषमा गत असार मसान्तसम्म औपचारिक क्षेत्रका ४ लाख २३ हजार ९२९ र वैदेशिक क्षेत्रका दुई लाख २३ हजार ५३५ गरी कुल ६ लाख ४७ हजार ४६४ श्रमिक आबद्ध भएका छन्। कोषले ८९ हजार २४६ योगदानकर्तालाई विभिन्न सुविधा योजनाअन्तर्गत ५ अर्ब ७ करोड दाबी भुक्तानी गरेको छ।