पछिल्लो अप्रेसन हामीले १० दिन पहिला नै शुरू गरेका थियौँ। यो अप्रेसन कुन मोडलमा र कसरी गर्ने भनेर हामीले विभिन्न समयमा चरण–चरणमा छलफल गरेका थियौँ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँच पास भएर बाहिरिने क्रममा बुधबार साँझ करिब एक क्विन्टल सुन बरामद भयो। तस्करी प्रकरणमा अहिलेसम्म पाँच जना नेपाली र दुई विदेशी नागरिक पक्राउ परेका छन्। हङकङबाट आएको त्यो सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएपछि ट्याक्सीमा राख्नेक्रममा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो। सुन भित्र्याउने कार्यमा संलग्नहरूमाथि म्याद लिएर राजस्व अनुसन्धान विभागले अनुसन्धानको प्रक्रिया अगाडि बढाएको छ। विभागका महानिर्देशक नवराज ढुंगानाले १० दिन अगाडिदेखि नै आफूहरूले अनुसन्धान गरिरहेको र सोही क्रममा सुन भित्र्याउने दोस्रो तहका व्यक्तिसमेत पक्राउ परेको बताएका छन्। उनले अनुसन्धानलाई टुंगोमा पुर्याउने लक्ष्यका साथ आफूहरू अगाडि बढेको र त्यसमा प्रधानमन्त्री र गृहमन्त्रीको पनि साथ रहेको उल्लेख गरेका छन्। प्रस्तुत छ उकालोकर्मी दिपा दाहालले महानिर्देशक ढुंगानासँग गरेको संक्षिप्त कुराकानी:
त्रिभुवन विमानस्थलबाट करिब १०० किलो सुन बरामद भयो, यसको अनुसन्धान कसरी शुरू गर्नु भएको थियो?
सुन तस्करी पहिलेदेखि नै ठूलो समस्याका रूपमा रहँदै आएको थियो। विमानस्थलबाट सजिलै अवैध सुन भित्रिने गरेको सूचना आइरहन्थ्यो। त्यसको अधिकाधिकता के हो भनेर यसअघि पनि विभिन्न किसिमका ‘अप्रेसन’ भएका थिए। यही पृष्ठभूमिलाई आधार मान्दै हामीले पनि विज्ञहरूसँग सल्लाह गरेर यो अप्रेसन शुरू गरेका हौँ।
पछिल्लो अप्रेसन कहिलेदेखि शुरू गर्नुभएको थियो?
पछिल्लो अप्रेसन हामीले १० दिन पहिला नै शुरू गरेको थियौँ। यो अप्रेसन कुन मोडलमा र कसरी गर्ने भनेर हामीले विभिन्न समयमा चरण–चरणमा छलफल गरेका थियौँ। हामीलाई यस पटक बदमासी पत्ता लगाउनु नै थियो अर्थात् हामी गन्तव्यमा पुग्ने स्पष्ट लक्ष्यका साथ अगाडि बढेका थियौँ।

विभिन्न मोडलमा छलफल गर्दा कहिले विमानस्थलको गेटमा, कहिले विमानस्थलको गेटभित्र त कहिले विमानस्थल परिसरमा हामीले निरन्तर निगरानी राखेका थियौँ। त्यसै क्रममा हामीले करिब १०० किलो सुनसहित दुई जना विदेशी नागरिकसहित सात जनालाई पक्राउ गर्न सफल भएका छौँ। विदेशी नागरिक भनेका एक चिनियाँ र एक भारतीय नागरिक हुन्। तीमध्ये ६ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिइसकिएको छ। चिनियाँ नागरिकलाई भोलिसम्ममा अदालत लगेर म्याद थपिने छ।
यसअघि पनि पटकपटक सुन तस्करी भइरहेको छ। जहिले पनि तल्लो तहका व्यक्तिहरू मात्र पक्राउ गरिन्छ, माथिल्लो तहका व्यक्ति लुकाइन्छ किन?
यसअघिका घटनामा तपाईंले भनेजस्तै पनि भएको थियो। सुन तस्करीमा संलग्न तल्लो तहका व्यक्ति पक्राउ पर्ने, तर माथिल्लो तहका लुक्ने/लुकाइने काम भएको थियो। तर, यसपटक हामीले यो यथार्थलाई शुरूमै विश्लेषण गरेर कम्तीमा सुन बरामद गर्दा नै पहिलो तहका व्यक्तिलाई पक्राउ गर्ने योजना बनाएका थियौँ। हाम्रो योजनाअनुसार नै सुन बरामद गर्दा तल्लो तहका ६ जनालाई पक्राउ गर्न सफल भएका छौँ। प्रारम्भिक अनुसन्धानमै हामीले सफलता प्राप्त गरेका छौँ। दोस्रो तहका व्यक्तिहरूसमेत पक्राउ परेका छन्। उदाहरणका लागि चिनियाँ नागरिकलाई लिन सकिन्छ। हामीले सुन तस्करीसँग अन्य आपराधिक क्रियाकलापमा पनि अनुसन्धान तीव्र पारेका छौँ।
यसअगाडि पनि पटक पटक सुन बरामद भएको छ, तर अनुसन्धान अलपत्र परेको अवस्था छ, यो अनुसन्धान पनि त्यस्तै हुने हो कि?
हामीले अलपत्र पार्न यो अनुसन्धान शुरू गरेको होइन। नतिजा ल्याउने हिसाबले काम गरेका छौँ। सुन तस्करको जालो तोड्ने नै हाम्रो योजना छ।
यस प्रकरणमा व्यवसायी दीपक मल्होत्राको नाम पनि जोडिएको छ, सत्य के हो?
अहिले म व्यक्ति विशेषको नाम लिन चाहन्नँ। अनुसन्धान जारी छ।

राजनीतिक प्रभाव र दबाबकै कारण अनुसन्धान प्रभावित हुने हो कि?
त्यस्तो हुन सक्दैन। नेपाल सरकारका तर्फबाट नै यो अनुसन्धान टुंगोमा पुर्याउन आदेश भएको छ। मैले प्रधानमन्त्री र गृहमन्त्रीलाई भेटिसकेको छु। उहाँहरू दुवैले विचलित नभई अनुसन्धानलाई टंगोमा पुर्याउन आदेश दिनुभएको छ। मैले या राजस्व अनुसन्धान विभागले अन्य सरोकारवाला निकायसँग पनि समन्वय गरिरहेका छौँ। त्यसैले अनुसन्धान अलपत्र पर्छ भनेर चिन्ता गर्न आवश्यक छैन।
थप १०० किलो सुन विमानस्थलमा लुकाइएको आशंकामा विशेष अप्रेसन जारी छ भनिएको छ, वास्तविकता के हो?
यो आशंका हामीलाई छ। त्यसमा अनुसन्धानका लागि विमानस्थलमा विशेष टोली निरन्तर खटाएका छौँ। पक्कै पनि यसमा केही नयाँ कुरा आउन सक्छ।
बरामद सुन राष्ट्र बैंकमा पठाइएको छ। त्यो कहिले राजस्व अनुसन्धान विभागमा फिर्ता आउँछ?
यो भोलिसम्म आउन सक्ने अनुमान गरेका छौँ।
सुन जोख्दा कति भयो?
ब्रेक शुसहितको तौल १५५ किलो भएको छ।
भिडियो
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
