सुन आउन लागेको सुराक १० दिनअघि नै पाएर विमानस्थल क्षेत्रमा निगरानी गरिएको र पहिलो तहका व्यक्तिलाई नै पक्राउ गर्ने योजनाअनुसार ठूलो परिणाममा सुन बरामद गर्न सफल भएको राजस्व अनुसन्धान विभागको भनाइ छ।
काठमाडौँ– बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँच पास भएर बाहिरिने क्रममा एक क्विन्टल सुन बरामद भएसँगै नौ वर्षयता तस्करी गरेर नेपाल भित्र्याउने क्रममा बरामद भएको सुनको परिमाण ६०० किलो पुगेको छ।
भन्सार जाँच पास भइसकेपछि बाहिरिने क्रममा राजस्व अनुसन्धान विभागको टोलीले यो सुन बरामद गरेको थियो। यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिने क्रममा बरामद भएको अहिलेसम्मकै सबैभन्दा ठूलो परिणामको सुन हो।
यस प्रकरणमा अनुसन्धान गरिरहेको विभागले अहिलेसम्म सात नेपाली र दुई विदेशी नागरिक सहित नौ जना पक्राउ परेको जनाएको छ। तीमध्ये सात जनालाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न उच्च अदालत पाटनले म्याद दिएको छ।
विभागका अनुसार यो प्रकरणमा संलग्न अन्यविरुद्ध पनि पक्राउ पुर्जी लिइएको छ। “हामीले अहिलेसम्म पक्राउ परेका नौमध्ये सात जनालाई थप अनुसन्धानका लागि अदालतबाट समय लिइसकेका छौँ। थप केहीविरुद्ध पक्राउ पुर्जी लिएर खोजतलास भइरहेको छ,” विभागका महानिर्देशक नवराज ढुंगानाले भने, “यो सुन बरामदको विस्तृत कुरा अनुसन्धानपछि मात्र खुल्नेछ।”
पक्राउ परेका सबैलाई राजस्व अनुसन्धान विभागको हिरासतमा राखिएको छ। अहिलेसम्म काठमाडौँको साँखु बस्ने २१ वर्षीय दिलीप भुजेल, स्वयम्भू बस्ने ५३ वर्षका रामकुमार भुजेल, बूढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई, काठमाडौँको पानीपोखरी बस्ने ५३ वर्षका भारतीय नागरिक थुक्टिन छिरिङलगायतलाई नियन्त्रणमा लिइएको छ।
त्यस्तै, सुन तस्करीमा संलग्न भएको आशंकामा एक चिनियाँ नागरिक पनि पक्राउ परेका छन्। चीन जान लागेका ३६ वर्षीय जेक्यूयाङ लिनलाई अध्यागमनका कर्मचारीले पक्राउ गरेका हुन्। उनलाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाइएको थियो।
ट्रान्स ग्लोबल सर्भिस नामक कार्गो सञ्चालक पुष्करराज भट्ट र एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठ बिहीबार साँझ पक्राउ परेका हुन्। उनीहरूको कार्गो कम्पनीले मोटरसाइकल र स्कुटरको ब्रेक शुमा सुन ल्याएको थियो।
१० दिन अगाडिदेखि नै आफूहरूले अनुसन्धान गरिरहेको र सोही क्रममा सुन भित्र्याउने दोस्रो तहका व्यक्तिसमेत पक्राउ परेको विभागका महानिर्देशक ढुंगानाले जानकारी दिए।

बरामद भएको सुन मंगलबार क्याथे प्यासिफिक एअरलाइन्सको उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको थियो। मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन विमानस्थलबाट भन्सार जाँच पास भइसकेको थियो। त्यसपछि राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको हो। सुन आउन लागेको सुराक १० दिनअघि नै पाएर विमानस्थल क्षेत्रमा निगरानी गरिएको विभागको भनाइ छ।
विभागका महानिर्देशक ढुंगाना यसपटक पहिलो तहका व्यक्तिलाई नै पक्राउ गर्ने योजनाअनुसार ठूलो परिणाममा सुन बरामद गर्न सफल भएको बताउँछन्। “हाम्रो योजनाअनुसार नै सुन बरामद गर्दा तल्लो तहका ६ जनालाई पक्राउ गर्न सफल भएका छौँ। यसमा चिनियाँ नागरिक पनि परेका छन्,” उनले भने, “हामीले सुन तस्करीसँगै अन्य आपराधिक क्रियाकलापमा पनि अनुसन्धान तीव्र पारेका छौँ।”
नौ वर्षमा ६०० किलो बरामद
प्रहरी प्रधान कार्यालय नक्सालले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्लो नौ वर्षको अवधिमा ६६५.५४ किलोग्राम सुन बरामद भएको छ। सबैभन्दा धेरै सुन आर्थिक वर्ष २०७४/७५ मा २००.८९ किलो बरामद भएको थियो।
प्रहरीका अनुसार आर्थिक वर्ष २०७१/७२ मा १७९.११ किलो, २०७२/७३ मा ७१ किलो, २०७३/७४ मा ६४ किलो, २०७५/७६ मा ५१.९८ किलो, २०७६/७७ मा ३०.३७ किलो, २०७७/७८ मा ३२.५५ किलो, २०७८/७९ मा २३.८२ किलो र गएको आर्थिक वर्ष २०७९/८० मा १०.७९ किलो सुन बरामद भएको छ।
चालु आर्थिक वर्ष २०८०/०८१ को शुरूआतमै विमानस्थलबाट १०० किलो सुन बरामद भएको हो। अहिलेसम्म बरामद भएको सुन सुरक्षा निकाय, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग सहितका निकायले बरामद गरेका हुन्। प्रहरीको तथ्यांकअनुसार विगत नौ वर्षको अवधिमा सुन तस्करीमा संलग्न रहेको आरोपमा ७०३ जना पक्राउ परिसकेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
