सुन तस्करी प्रकरणमा बिनाप्रमाण कृष्णबहादुर महराको नाम जोडियो: सञ्चारमन्त्री

शुक्रबार जनकपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री शर्माले सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराको संलग्नता नरहेको दाबी गरेकी छन्। 

काठमाडौँ– सञ्चारमन्त्री रेखा शर्माले सुन तस्करी प्रकरणमा तथ्य प्रमाणबिना नै पूर्वसभामुख कृष्णबहादुर महराको नाम जोडिएको बताएकी छन्। 

शुक्रबार जनकपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री शर्माले सुन तस्करी प्रकरणमा महराको संलग्नता नरहेको दाबी गरेकी हुन्। 

“यो विषयमा केही नेताहरूको नाम आएको छ। सुन तस्करी गर्ने व्यापारीसँग सम्बन्ध भएको भनेर बाहिर आएको छ। त्यसको आधिकारिक तथ्य  र प्रमाण केही पनि छैन,” उनले भनिन्, “यस विषयलाई लिएर पूर्वसभामुख कृष्णबहादुर महराज्यूले खण्डन पनि गरिसक्नुभएको छ। गलत मनाशायले उहाँको नाम जोडियो।”

सरकारले नागरिकता समस्या समाधान गरेको र मुलुकमा देखिएको हरेक प्रकारको बेथितिलाई समाप्त गर्न दृढ रहेको मन्त्री शर्माको दाबी थियो।