नेकपाका संस्थापक पुष्पलालको ४५औँ स्मृति दिवस मनाइँदै

पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ २००६ वैशाख १० मा भारत कोलकाताको श्यामबजारमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गरेका थिए। 

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवस आइतबार मनाइँदैछ।

नेपालका कम्युनिस्ट पार्टीहरूले देशभर विभिन्न कार्यक्रम आयोजना गरी पुष्पलालको योगदानको सम्झना गर्दैछन्।

सत्तारुढ माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल एमालेले संस्थापक पुष्पलालको योगदानको विभिन्न कार्यक्रमका साथ स्मरण गर्ने तयारी गरेका छन्। पुष्पलाल स्मृति उद्यानमा एकीकृत समाजवादीले कार्यक्रम आयोजना गर्ने जनाएको छ।

संस्थापक महासचिव श्रेष्ठले नेपालको परिवर्तनका लागि प्रस्ताव गरेको कृषि क्रान्ति र गरिब एवं गरिखाने वर्गको मुक्तिको अभियान अझै पनि उत्तिकै महत्त्वपूर्ण रहेको कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता बताउँछन्को। 

पुष्पलाललगायतका शीर्ष कम्युनिस्ट नेता तथा कार्यकर्ताको सपना पूरा गर्ने लक्ष्यका साथ एकीकृत कम्युनिस्ट पार्टीको आवश्यकता महसुस गरिएको भए पनि त्यसले मूर्तता पाउन नसकेको माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले बताइन्को। बलियो पार्टी नबन्दासम्म समाजवादको लक्ष्य पूरा हुन नसक्ने उनको भनाइ छ।

१९८१ असार १५ गते रामेछापको भंगेरीमा जन्मिएका श्रेष्ठको २०३५ साउन ७ मा भारतको गोविन्दवल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ २००६ वैशाख १० मा भारत कोलकाताको श्यामबजारमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गरेका थिए। पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठको सक्रियतामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो। 

नेकपा स्थापना गर्नुअघि उनले १९९८ सालमा प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासंँग मिलेर नेपाली प्रजातान्त्रिक संघ गठन गरेका थिए। 

सहिद गंगालाल श्रेष्ठका माइला भाइसमेत रहेका पुष्पलाल दाजुको हत्या भएपछि १५ वर्षकै उमेरमा राणाविरोधी आन्दोलनमा सक्रिय भएका थिए। पुष्पलाल राजनीतिमा लागेकै कारण पिता भक्तलालललाई सुब्बाको जागिरबाट तत्कालीन सरकारले बर्खास्त गरेको थियो।

२०१७ सलमा राजा महेन्द्रको कदम पछाडि उनले भूमिगत निर्वासित जीवन बिताएका थिए। सरकारले पुष्पलालको सम्मानमा राष्ट्रिय पुरस्कार स्थापना गरेको छ।