सर्पले डसेका ८० प्रतिशत बिरामीले अस्पताल नपुग्दै ज्यान गुमाउँछन्

स्वास्थ्य सेवा विभागको पछिल्लो १० वर्षको तथ्यांकअनुसार वर्षको ७ हजार मानिसलाई सर्पले डसेको पाइन्छ। त्यसमध्ये विषालु सर्पको डसाइका घटना सरदर ८५० वटा छन् जसमा २०० को मृत्यु हुन्छ।

सर्पदंश उपचार केन्द्रमा उपचार लिँदै बिरामीहरू। तस्वीर: उकालो

काठमाडौँ– कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० की ममता रैदास (१६) लाई गत असार २६ गते विषालु सर्पले डस्यो। तर उनका बुवाले त्यो थाहा नपाएका कारण बिरालोले चिथोरेको अनुमान लगाउँदै शुरूमा टिटानसको सुई लगाउन घरनजिकको मेडिकलमा पुर्‍याए। 

बुद्धभूमि–१० का वडाध्यक्ष सन्दीपकुमार पाण्डेयका अनुसार बिरामी बेहोस भइसकेको देखेपछि मेडिकलका स्वास्थ्यकर्मीले सर्पले टोकेको हुनसक्छ भन्दै जतिसक्दो चाँडै सर्पदंश उपचार केन्द्रमा लैजान सल्लाह दिएका थिए। लगत्तै त्यहाँबाट साइकलमा राखेर बिरामीलाई गोरुसिंगेस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा पुर्‍याइयो। 

रैदासको घरबाट केन्द्रसम्मको दूरी १० किलोमिटर छ। बर्खे झरीले बिगारेर खाल्डाखुल्डी पारेको सडक हुँदै साइकलमा गोरुसिङ्गे पुग्न डेढ घण्टा लागेको वडाध्यक्ष पाण्डेयले बताए। द्रुत सवारी साधनको अभावमा ढिलो गरी उपचार केन्द्रसम्म पुर्‍याइएकी ममताको बाटैमा ज्यान गइसकेको रहेछ। पुग्नासाथ सेनाको स्वास्थ्यकर्मी टोलीले उनलाई मृत घोषणा गर्‍यो। 

वर्षातको मौसममा तराईका जिल्लामा सर्पदंशको जोखिम बढी हुन्छ। हरेक वर्ष विषालु सर्पको टोकाइका कारण सयौँ व्यक्तिको ज्यान जाने गर्छ। स्वास्थ्य सेवा विभागको जुनोटिक तथा अन्य सरुवा रोग शाखा प्रमुख डा. हेमन्तचन्द्र ओझाका अनुसार एक वर्षमा सर्पको टोकाइबाट सरदर १३० जनाले ज्यान गुमाउँछन्। अधिकांश घटना गाउँघरमा हुने कारण सबैको जानकारी नआउने भएकाले सर्पको टोकाइबाट वर्षमा २५० देखि ३०० जनासम्मको ज्यान जाने गरेको उनको अनुमान छ। 

त्रिभुवन विश्वविद्यालय, प्राणीशास्त्र केन्द्रीय विभागका पूर्वप्राध्यापक एवं सर्पविज्ञ करन शाह रिपोर्ट भएका र नभएका गरी वर्षमा २०० जनाले सर्पको टोकाइबाट ज्यान गुमाउने गरेको अनुमान गर्छन्। 

स्वास्थ्य सेवा विभागको पछिल्लो १० वर्षको तथ्यांकअनुसार वर्षको ७ हजार मानिसलाई सर्पले डसेको पाइन्छ। त्यसमध्ये विषालु सर्पको डसाइका घटना सरदर ८५० वटा छन्। उदाहरणका लागि आर्थिक वर्ष २०७८/७९ मा सर्पदंशमा परेका ९ हजार ३४६ जनामध्ये ९२६ जनालाई विषालु सर्पले डसेको थियो। 


विभागका अनुसार विषालु सर्पले टोकेर ज्यान गुमाउनेमध्ये ४० प्रतिशत मानिसको गाउँघरमा नै मृत्यु हुन्छ भने अर्को ४० प्रतिशतको उपचार केन्द्रतर्फ लैजाने क्रममा बाटोमै ज्यान जान्छ। बाँकी २० प्रतिशतको अस्पताल वा उपचार केन्द्रमा पुर्‍याउन ढिलो भएकै कारण मृत्यु हुने गरेको छ। 

“सर्पको टोकाइप्रति आम मानिसको गलत धारणाले मृतकको संख्या बढाइरहेको छ। सर्पले टोकेको घाउ काटेर रगत फाल्ने, बेसार दल्ने, झारफुकतिर लाग्ने जस्ता अलमलको कारण बिरामीलाई अस्पताल ल्याउनै ढिला गरिन्छ,” सर्पविज्ञ ओझा भन्छन्, “यस्तै भ्रमको पछि लागेर समयमै अस्पताल पुर्‍याउन नसक्दा बिरामीको मृत्यु हुन्छ।” 

किन टोक्छ सर्पले? 
सर्प विज्ञहरूका भनाइमा सर्पले भेट्नासाथ जतिबेला पनि डस्ने होइन। तर, आफूलाई खतरा महसुस गरेको छ भने त्यसबेला कुनै बाधा व्यवधान नपुर्‍याउँदा पनि सर्पले मानिसलाई डस्छ। खेतबारीमा काम गरिरहेको समयमा अकस्मात् सर्पको टोकाइमा पर्नु त्यसैको एउटा उदाहरण हो।  

“मानिसको गल्ती नै नहुँदा पनि सर्पले आफूमाथि खतरा महसुस गरेको बेला टोकिहाल्छ। सुतेका मानिसहरूको समेत सर्पको टोकाइबाट मृत्यु हुने कारण यही हो। यसरी ज्यान गुमाउनेमा गरिबीको कारण भुइँमा सुत्न बाध्य परिवारका सदस्यहरू बढी हुन्छन्,” सर्पविज्ञ शाह भन्छन्। 

“सर्पले टोक्नु भनेको दाँतले टोक्नु मात्र होइन। घाउभित्र दाँत पसालेर विषग्रन्थीलाई थिचेर दाँतबाट विष पठाउँछ,” उनी भन्छन्, “कतिपय अवस्थामा दाँतले टोकेको हुन्छ तर विषग्रन्थी थिच्न पाएको हुँदैन। त्यसकारण विषालु सर्पले टोक्दा पनि मानिसको मृत्यु हुन्न।” 

सर्पदेखि मानिस डराएजस्तै मानिसदेखि सर्प पनि त्यत्तिकै डराउने र आफ्नो सुरक्षाका लागि मात्र सर्पले मानिसलाई टोक्ने शाहको भनाइ छ। 

उनका अनुसार नेपालमा अहिलेसम्म ८४ प्रजातिका सर्पहरू रेकर्ड भएका छन्। तीमध्ये १२ प्रजातिका सर्प विषालु छन्। जसले डस्दा मानिसको मृत्यु हुन्छ। २० देखि २२ प्रजातिका सर्प विषालु भए पनि ती सर्पले डस्दा मानिसको मृत्यु हुँदैन। 


विषालु सर्प तराईमा मात्र पाइन्छ र पहाडमा पाइँदैन भन्ने आम मान्यता छ। सर्पकै विषयमा अनुसन्धान गरेका शाह भने त्यसमा सहमत छैनन्। ५ हजार मिटर उचाइसम्म विषालु सर्प पाइने उनी बताउँछन्। शाहका अनुसार ३ हजार २०० मिटर उचाइमा समेत गोमन सर्प पाइएका छन्। 

शाहले सन् १९८६ मा मुगुको ५ हजार मिटर उचाइमा पर्ने हिमालमा हिमालय पिटभाइपर नामको विषालु सर्प फेला पारेका थिए। उनका अनुसार तराईमा विविधता र संख्याको हिसाबले विषालु सर्प धेरै हुन्छन्। यद्यपि, तराईमा पाइने कतिपय प्रजातिका सर्पहरू पहाडमा पनि पाइन्छन्। 

“पहाडमा यी सर्पको संख्या कम हुन्छ। खुला ठाउँ धेरै भएकाले मानिस र सर्पको जम्काभेट हुने सम्भावना धेरै कम हुन्छ,” उनी भन्छन्, “त्यसविपरीत तराईमा जमिन सीमित हुन्छ। भएको पनि खेतीपातीले ओगटेको हुन्छ। मानिसको घनत्व पनि बढी हुन्छ। त्यसैले सर्पदंशका धेरै घटना तराईमै हुन्छन्।”

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दार्चुला, डोटी र ताप्लेजुङजस्ता पहाडी जिल्लामा पनि सर्पको टोकाइबाट मानिसको मृत्यु भएको छ। 

तराईमा वर्षा लागेपछि सबै ठाउँ जलमग्न हुने भएकाले सर्प प्वालभित्र बस्न नसकी ओभानो र न्यानो खोज्दै घर वरिपरि आइपुग्छ। यही कारण सर्पको टोकाइका धेरै घटना तराईमा हुने गरेको स्वास्थ्य सेवा विभागका डा. ओझा बताउँछन्। 

विभागले तराई तथा भित्री मधेशका २६ जिल्लालाई संवेदनशील जिल्लाका रूपमा राखेर सर्पले टोकिसकेपछि प्रयोग गरिने ‘एन्टी स्नेक भेनम’ उपलब्ध गराएको छ। ती जिल्लाहरूमा सरकारी अस्पतालका साथै नेपाली सेना र रेडक्रसले पनि सर्पदंशको उपचार गर्ने गरेका छन्। 

आकस्मिक मृत्युबाट जोगिन सर्पले टोकेको आधादेखि एक घण्टाभित्र अस्पताल पुग्नुपर्ने सर्पविज्ञ एवं प्राध्यापक करन शाह बताउँछन्।