कतिपय सडक अलपत्र पारेर निर्माण व्यवसायी सम्पर्कविहीन भएका छन्। काम गर्न नसक्ने निर्माण कम्पनीको ठेक्का रद्द गरेर नयाँ प्रक्रिया थाल्ने मन्त्रालयले तयारी गरेको छ।
गण्डकी– २०७३ असार २० मा ठेक्का सम्झौता भएर निर्माण शुरू गरिएको मनाङको नासोँ गाउँपालिकास्थित दूधखोला पक्की पुल अलपत्र छ। संघीय सरकारबाट प्रदेशमा हस्तान्तरण भएको उक्त आयोजनाको प्रगति ३० प्रतिशत मात्रै छ।
निर्माण व्यावसायीको ढिलासुस्तीका कारण पुल अलपत्र परेको पूर्वाधार विकास कार्यालय मनाङका सब–इन्जिनियर धनबहादुर गुरुङले बताए।
“पुलको दुवैतिर जग मात्र बनेको छ। बाँकी अलपत्र छ,” उनले भने, “निर्माण व्यावसायीलाई पटकपटक ताकेता गर्दा पनि काम हुन सकेको छैन।” निर्माण कम्पनी क्याराभानले पुल निर्माणको जिम्मा पाएको थियो। स्थानीय तह नबन्दै निर्माण थालिएको मनाङकै मर्स्याङ्दी नदी पुल पनि अलपत्र छ।
यी सहित गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत १६ पूर्वाधार आयोजना रुग्ण अवस्थामा छन्। यसमा १३ सडक र तीन पुल छन्।
पर्वतको मिलचोक–सल्यान–घाहाखेत–धारापानी–ठोटनेरी सडक, स्याङ्जाको मिर्मि–बिर्घा–रानीघाट, वालिङ–काफलडाँडा–रोग्दी–रामपुर सडक, मनाङको दूधखोला र मर्स्याङ्दी नदी पुल र गोरखाको नारेश्वर–पाणिनी–ताकुकोट सडक (दोस्रो खण्ड) अलपत्र छ।
तनहुँको भानुमार्ग–चन्द्रवती–पोखरीछाप–कुन्छाफेँदी जोड्ने सडक, दुलेगौँडा–हर्कपुर मार्ग, रिसिङ–भीरकोट, कृष्ण मार्ग (देउराली–केलादीघाट), नवलपुरको मकुन्दुपुर–अहाले–रतनुपर हुँदै बुलिङटार जोड्ने सडक, चिसापानी पक्की पुल, कास्कीको बेगनास भञ्ज्याङ–आनन्दज्योती सडक, फुर्सेखोला–मट्टीखान सडक रुग्ण अवस्थामा छ।
पूर्वाधार विकास कार्यालय बागलुङअन्तर्गत कुश्मिसेरा–राङखानी–नाम्दुक–बरेङ–शान्तिपुर र गलकोट–हरिचौर–हिल–तारा–रुम जोड्ने सडकको काम पनि सुस्त गतिमा भइरहेको छ। दुवै आयोजना बहुवर्षीय हुन्। बागलुङको गलकोट हुँदै म्याग्दीको रुम जोड्ने ४० किमी सडकमध्ये १० किमी कालोपत्रका लागि २०७६ मा ठेक्का भएर निर्माण अघि बढेको थियो।
निर्माण कम्पनी एपेक्स–खड्का कृष्ण जेभीले दोस्रो पटक म्याद थपिए अनसार २०७९ पुसदेखि काम थालेर आउँदो कात्तिक २५ गतेसम्ममा सक्नुपर्नेमा अझै काम शुरू हुन सकेको छैन। २४ करोड ७८ लाख रुपैयाँ ठेक्कामा बन्न लागेको खण्डमा ५५ प्रतिशत मात्रै भौतिक प्रगति छ।
सडक अलपत्र पारेर निर्माण व्यवसायी सम्पर्कविहीन भएको स्थानीयवासीको गुनासो छ। मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलले गतवर्ष मन्त्रालयअन्तर्गत ४६ पूर्वाधार आयोजना रुग्ण रहेकामा यो वर्ष घटेर १६ मा आइपुगेको बताए। काम गर्न नसक्ने निर्माण कम्पनीको ठेक्का रद्द गरेर नयाँ प्रक्रिया थालिने उनको भनाइ छ।
“कतिपय ठेक्काको धरौटी जपथ गरिएको छ। केहीमा कारबाही प्रक्रिया पनि अगाडि बढेको छ। पटकपटक ताकेता गर्दा पनि लापरबाही गर्ने ठेकेदारलाई सधैँभर छुट दिन सकिँदैन,” प्रवक्ता पौडेलले भने।
मनाङको मर्स्याङ्दी नदी पुल, गोरखाको नारेश्वर–पाणिनी–ताकुकोट सडक (दोस्रो खण्ड), तनहुँको भानुमार्ग–चन्द्रवती–पोखरीछाप–कुन्छाफेँदी जोड्ने सडक, दुलेगौँडा–हर्कपुर मार्ग, फुर्सेखोला–मट्टीखान सडक ठेक्काको धरौटी रकम जपथ गरिएको मन्त्रालयले जनाएको छ। अधिकांश आयोजना निर्माण कम्पनीकै ढिलासुस्तीका कारण अलपत्र परेको मन्त्रालयको भनाइ छ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले रुग्ण आयोजनालाई गति दिइने बताए। “मन्त्रालयको वार्षिक समीक्षामा पनि यो विषयमा गम्भीर ढंगबाट छलफल भएको छ। वर्षौंसम्म काम नभएका आयोजनाको ठेक्का तोडिन्छ,” उनले भने, “आयोजना अलपत्र पार्ने निर्माण व्यावसायीलाई कारबाहीको दायरामा ल्याउन मन्त्रालय स्पष्ट र दृढ छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
