क्यान्सर र अंग प्रत्यारोपण, दुर्घटनाका घाइते, शल्यक्रिया गर्ने बिरामी, प्रसूति सेवा लिने, थालेसेमियाका बिरामीलाई बढी मात्रामा रगत आवश्यक पर्ने गरेको छ।
चितवन– मेडिकल सिटीको पहिचान बनाउँदै गएको भरतपुरमा रगतको माग बढ्दै जाँदा वर्षभरि नै अभाव हुने गरेको छ।
भरतपुर रक्त सञ्चार प्रादेशिक कार्यालयले संकलन गरेको रगतले ६० प्रतिशत माग मात्रै धान्ने गरेको छ। जिल्लामा उपचारका लागि आउने स्थानीयवासी र बिरामीका आफन्त दैनिक रगतको अभावमा भौँतारिने गरेका छन्। रगत नपाएपछि उनीहरू इष्टमित्र आफन्त र सामाजिक अभियन्ता गुहारेर रगतको जोहो गर्न बाध्य छन्।
क्यान्सर उपचारका लागि देशभर र भारतबाट समेत बिरामी आउने गर्छन्। उनीहरूलाई यहाँ रक्तदाता खोज्न निकै कठिन हुने गरेको छ। यसैले गर्दा कतिपयको उपचार रोकिने गरेको गुनासासमेत आउने गरेको छ।
केन्द्रका प्रमुख रमेशकान्त पौडेलले दैनिक १०० देखि १५० युनिटसम्म रगतको माग हुने गरेको भए पनि ६० प्रतिशतभन्दा बढी केन्द्रले संकलन गरेको रगतले मात्र पुर्याउन नसकिएको बताए। केन्द्रले वार्षिक रूपमा २५ हजार युनिट हाराहारी रगत संकलन गरिरहेको छ। चितवनसहित छिमेकी १० जिल्लाबाट केन्द्रले रगत संकलन गरेर ल्याउने गर्नाका साथै सामाजिक संघ संस्थालाई भेला गराएर क्यालेन्डर निर्माण गरी रक्तदान कार्यक्रम गरिँदै आइएको छ।
प्रमुख पौडेलले युवाहरू विदेश गएको, भएका युवामा मन छुने गरी अभिप्रेरित गर्ने कार्यक्रम ल्याउन नसकिएकोलगायत कारण मागअनुसार रगत संकलन हुन नसकेको बताए। समूहगत मानिस भएका ठाउँमा रक्तदानसम्बन्धी बृहत् अभियान सञ्चालन गर्नुपर्ने भए पनि गर्न नसकिएको उनको भनाइ थियो।
‘एक घर एक रक्तदाता’ अभियान सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए। हरेक नागरिकले आफ्नो जन्मदिनमा स्वास्थ्यले मिलेसम्म रक्तदान गरिदिएमा धेरै हदसम्म माग पूरा गर्न सकिने पौडेलले बताए। जिल्लामा रहेका दुई ठूला सरकारी अस्पताल, दुई मेडिकल कलेज र २० भन्दा बढी साना निजी अस्पतालले बिरामीको उपचार गर्दै आएका छन्। क्यान्सर र अंग प्रत्यारोपणका एउटै बिरामीलाई धेरै रगत आवश्यक पर्छ।
दुर्घटनाका घाइते, शल्यक्रिया गर्ने बिरामी, प्रसूति सेवा लिने, थालेसेमियाका बिरामीलाई बढी मात्रामा रगत आवश्यक पर्छ। प्रमुख पौडेलको भनाइमा एक जना क्यान्सरका बिरामीलाई ७०० युनिटसम्म रगत दिएको तथ्यांक छ। यसैगरी जिल्लामा रहेका ८० जना हाराहारी थालेसेमियाका बिरामीलाई मासिक रूपमा एकदेखि दुई युनिट रगत दिनुपर्ने हुन्छ।
अस्पतालमा रक्तसञ्चार फ्रिज नहुँदा बिरामीका आफन्तले मौज्दातका रूपमा लगेको रगत फिर्ता आउँदा कतिपय बिग्रने गरेको र १५ प्रतिशत हाराहारी यसरी रगत फिर्ता आउने गर्छ।
केन्द्रको सञ्चालन नेपाल रेडक्रस सोसाइटीले गर्दै आएको छ। उक्त सोसाइटीका जिल्लास्तरीय मन्त्री राममणि खनालले युवा लक्षित उत्प्रेरणा कार्यक्रम सञ्चालनका लागि गृहकार्य गरिँदै आएको बताए। “हामीले जे जति गरेका छौँ, यसले पुगेन, फरक ढंगले जनचेतनामा जुट्नुपर्ने अवस्था आयो।”
युवा वर्गमा सामाजिक भावको विकास गरी रक्तदान अभियानलाई बढाउनुपर्ने मन्त्री खनालको भनाइ थियो। “विद्यार्थी, नेपाल प्रहरी, नेपाली सेना, राजनीतिक दल, दलका भ्रातृ संस्था, सहकारीलगायत ठूला समूहले अभियानमा साथ दिएमा आवश्यकताअनुसारको रगत संकलन गर्न सकिन्छ,” उनले भने।
बागमतीका स्वास्थ्यमन्त्री उत्तम जोशीले रक्तसञ्चार केन्द्रको स्तरोन्नतिका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
