तापक्रम वृद्धिसँगै कम उचाइमा मात्र हुने अन्नबाली तथा फलफूलहरू उच्च हिमाली जिल्लामा समेत उत्पादन हुन थालेका छन्। तत्कालका लागि फाइदाजनक देखिए पनि यो राम्रो संकेत नभएको कृषि वैज्ञानिकहरू बताउँछन्।
काठमाडौँ– सिमिकोट गाउँपालिका–५, हुम्लाका धर्म रोकायाको बारीभरि अहिले कोदो छ। गत चैतमा छरेको कोदोले उनको बारी हरियाली भएको छ। सिमिकोटको बारीमा उनले कोदो लगाउन थालेको २० वर्ष भयो।
अहिले कोदो फल्ने बारीमा त्यसभन्दा पहिला उनी फापर लगाउँथे किनकि त्यहाँ कोदो फल्दैनथ्यो। “यहाँ कोदो फल्न थालेपछि फापर अझै माथिको बारीमा लगाउन थालेँ,” उनी सुनाउँछन् “अहिले कोदो हुने ठाउँमा २० वर्षअघि बिउ उम्रिए पनि फल्दैनथ्यो। त्यसैले यहाँका सबै मान्छेले फापर लाउँथे।”
उनका अनुसार सिमिकोटका करिब ३०० परिवारले अहिले कोदो लगाउँछन्। धर्मराजले तीन मुरी कोदो स्याहार्छन्। समुन्द्र सतहदेखि दुई हजार ९१० मिटर उचाइमा अवस्थित सिमिकोटका अर्का किसान वसन्त रोकायाका अनुसार पहिला कोदो सिमिकोटभन्दा तल पर्ने चंखेली र सर्केगाड गाउँपालिकामा मात्र फल्थ्यो।
सिमिकोट गाउँपालिकावासीले पछिल्ला वर्षमा नयाँ–नयाँ अनुभव गर्दैछन्। यहाँ कोदोसँगै खुर्सानी पनि फल्न थालेको छ जुन नयाँ बाली भएको रोकाया बताउँछन्। “अहिले त यहाँ टमाटर, काउली, खुर्सानी, भिन्डीलगायत सबै प्रकारका तरकारी फल्छन्,” उनी भन्छन्।
नेपालको उच्च हिमाली क्षेत्रका स्थानीयहरूले पछिल्ला वर्षमा बालीनालीमा अनौठा अनुवभवहरू गर्दैछन्। कर्णाली प्रदेशको अर्को जिल्ला जुम्लाको पातारासी गाउँपालिकाको हुरीमुरीका स्थानीयसँग पनि यस्तै अनुभव छ।
हुम्ला जिल्लाको सदरमुकाम सिमिकोटबाट झण्डै ९३ किलोमिटरको आकासे दूरीमा पर्छ पातारासी स्थित हुरीमुरी गाउँ। पातारासी गाउँपालिकाको कृषि शाखा संयोजक रूपक बुढाका अनुसार हुरिमुरीमा १० वर्ष अघिसम्म स्याउ फल्दैनथ्यो। तर अहिले हुरिमुरीमा मज्जाले स्याउ फल्छ। त्यहाँका स्थानीले स्याउ खेती शुरू गरेका छन्।
हिमाली जिल्लाका उच्च भागहरूमा यस्ता अनेकौँ परिवर्तन देख्न पाइन्छ। मुस्ताङको झोङ गाउँमा अहिले विभिन्न जातका स्याउहरू फल्न थालेका छन्। गाउँमा ठूल्ठूला स्याउबारी देख्न सकिन्छ। यहाँका पेम्बा गुरुङका अनुसार झोङमा स्याउ फल्न थालेको १५ वर्ष भयो। त्यसयता स्थानीय किसानले स्याउ खेती गर्न थालेका छन्। उनको गाउँ समुन्द्र सतहदेखि करिब तीन हजार ५०० मिटरको उचाइमा पर्छ।
तापक्रम वृद्धिको असर
पहिला कम उचाइका ठाउँमा फल्ने अन्नबाली र फलफूल उच्च स्थानमा फल्नुको मुख्य कारण त्यहाँ भएको तापक्रम वृद्धि देखिन्छ। कम उचाइको तापक्रम अहिले उच्च भागमा समेत पाइने भएकाले ती ठाउँहरूमा पहिला नहुने बालीहरू हुन थालेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी सहसचिव सवनम शिवाकोटी बताउँछिन्। “यस्तो खालको ट्रेन्ड प्रायः उच्च हिमाली क्षेत्रमा देखा परेको छ,” उनी भन्छिन्, “जलवायु परिवर्तनको यो देखिने र महसुस हुने गरी भएको उदाहरणीय परिवर्तन हो।”
जल तथा मौसम विज्ञान विभागका अनुसार हिमाली जिल्लाको अधिकतम तापक्रम हरेक वर्ष वृद्धि हुने क्रममा छ भने न्यूनतम तापक्रम घटिरहेको छ।
विभागले उपलब्ध गराएको हुम्ला जिल्लाको तापक्रम विवरणअनुसार सदरमुकाम सिमिकोटमा अधिकतम तापक्रम प्रत्येक वर्ष सरदर ०.०८७ डिग्री सेल्सियसले बढिरहेको छ। विभागको यो तथ्यांकले पछिल्लो २० वर्षमा सिमिकोटको तापक्रम सरदर १.७४ डिग्री सेल्सियसले बढेको देखाउँछ।
त्यसैगरी न्यूनतम तापक्रम सरदर ०.०२८ डिग्री सेल्सियसले घटिरहेको देखिन्छ। जुम्ला जिल्लाको तापक्रम पनि बढ्दो मात्रामा छ। जुम्लामा हरेक वर्ष सरदर ०.०५२ डिग्री सेल्सियसले तापक्रम बढिरहेको छ। यस हिसाबमा त्यहाँको तापक्रम पछिल्ला २० वर्षमा करिब १ डिग्री सेल्सियसले बढेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालको हिमाली भेगमा बार्षिक सरदर तापक्रम वृद्धिदर ०.०८२ डिग्री सेल्सियस रहेको छ।
कृषि विज्ञहरूका भनाइमा तापक्रम वृद्धि हुँदा होचो ठाउँमा फल्ने बाली तथा फलफूलहरू उच्च ठाउँमा सर्छन् र होचो ठाउँमा ती बालीको उत्पादन घट्न थाल्छ।
खाद्य सुरक्षामा जलवायु जोखिमका विषयमा विद्यावारिधि गरेका र हाल कृषि विकासका लागि अन्तराष्ट्रिय कोष (आईफाड) नेपालमा कार्यरत कमल गैरे तापक्रम वृद्धिसँगै तल्लो भेगका बालीहरू उच्च भागमा सरिरहेको बताउँछन्। “हामीले कागती एक हजार ५०० मिटरसम्म फल्छ भनेर पढेका थियौँ। अहिले १ हजार ७०० मिटरसम्म पनि मज्जाले कागती फलेको पाइन्छ। अरू बालीहरूमा पनि यस्तो देखिन्छ। तर पहिला फलिरहेको ठाउँमा राम्रो उत्पादन हुन छोडेका उदाहरण पनि छन्।”
राम्रो होइन यो संकेत
उच्च हिमाली क्षेत्रमा नयाँ–नयाँ बाली र फलफूलले उत्पादन दिनु तत्कालका लागि सकारात्मक देखिए पनि यो राम्रो संकेत नभएको कृषि वैज्ञानिकहरू बताउँछन्। “अहिले उच्च भागमा उत्पादन भएको देखिए पनि यो राम्रो चाहिँ होइन। तापक्रम वृद्धिले सकारात्मक भन्दा नकारात्मक असर नै धेरै गर्छ भन्ने मान्यता छ,” गैरे भन्छन्, “बालीको उत्पादनसँगै माथिल्लो भागमा नयाँ–नयाँ रोग तथा किराहरूको प्रकोप पुग्छ। तापक्रम वृद्धिले हिउँ पग्लिन्छ। कालान्तरमा पानीका स्रोतहरू सुकेर खानेपानीको हाहाकारसमेत हुन सक्छ।”
तापक्रम वृद्धिका कारण होचो भूभागबाट उच्च हिमाली भेगमा बाली तथा फलफूलको स्थानान्तरण भएसँगै पहिला उत्पादन हुने ठाउँमा अहिले बालीनालीमा रोग किराको प्रकोप बढेको छ भने उत्पादन पनि पहिला जस्तो हुन छाडेको किसानहरूको अनुभव छ।
जुम्लाको चन्दननाथ–६, छिनाका किसान धनबहादुर थापाको ५०० बोट स्याउको बगैँचा छ। तर स्याउ पहिला जस्तो फल्दैन। यस वर्ष ३० वटा बिरुवामा फाट्टफुट्ट मात्र स्याउ फलेको उनी बताउँछन् ।
मुस्ताङको मार्फास्थित शितोष्ण बागबानी विकास केन्द्रका प्रमुख पदमनाथ आत्रेयका अनुसार मुस्ताङका कोवाङ, टुकुचे र मार्फा राम्रो स्याउ उत्पादन हुने क्षेत्र हुन्। तर अहिले त्यहाँ स्याउका रूखहरू हराइसके। “मार्फाभन्दा तलका क्षेत्रमा स्याउ हुन छाड्यो जहाँ पहिला राम्रो स्याउ उत्पादन हुन्थ्यो,” आत्रेय भन्छन्।
हाइचिलिङ जातका स्याउका लागि वर्षमा एक हजारदेखि एक हजार ६०० घण्टासम्म तापक्रम माइनस वा शून्य डिग्री सेल्सियस आसपासमा हुनुपर्छ र हिउँ पर्नुपर्छ। तर हिउँदको समयमा हिउँ नपरेपछि स्याउका लागि अनुकूल तापक्रम हुन छाडेको उनको भनाइ छ। “हामीले यहाँको फर्ममा पनि धेरै रोग र किराहरूको सामना गर्नुपरेको छ,” उनी भन्छन्।
जुम्लाको चन्दननाथ गाउँपालिकाकी लक्ष्मीदेवी देवकोटा धान र तरकारीमा लागेको रोग र किराले हैरान भएको बताउँछिन्।
जुम्लाको मार्सी धान देशभर नै प्रख्यात छ। उनीहरूले पहिल्यैदेखि मार्सी रोप्दै आएका छन्। तर पछिल्लो समयमा रोग र किराको प्रकोप देखिएका कारण मार्सी रोप्न छोड्ने निष्कर्षमा पुगेको उनी बताउँछिन्। “पहिलाजस्तो राम्रो फल्दैन। रोग लाग्छ। कति औषधि छर्नु,” उनी भन्छिन्। सिमि, बोडी लगायतका कोसेबालीका लागि जुम्ला प्रख्यात छ। काठमाडौँका डिपार्टमेन्टल स्टोरमा अहिले पनि जुम्लाको बोडी भन्दै ब्रान्डिङ गरेर बिक्री गरिन्छ।
तर पहिलो बोडी राम्रो उत्पादन हुने क्षेत्रमा बोडी, सिमीका लागि चाहिने अनुकूल वातावरण हराउँदै जान थालेको त्यहाँका किसानले महसुस गर्न थालेका छन्। चाहिने समयमा पानी नपर्ने र नचाहिने असोज–कात्तिकमा धेरै पानी पर्ने गरेको देवकोटाको अनुभव छ।
सिमिकोटको कोदो काठमाडौँमा
कोदो फल्न थालेपछि हुम्लाको सिमिकोट गाउँपालिकाले त्यहाँको उत्पादन काठमाडौँसम्म पु¥याउन शुरू गरेको छ। गाउँपालिकाको कृषि शाखाका प्रमुख नेत्रबहादुर शाहीका अनुसार यहाँ उत्पादित कोदो, कागुनो लगायतका बालीहरू बजारीकरणका लागि गाउँपालिकाले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग सम्झौता नै गरेको छ।
गत वर्षदेखि गाउँपालिका र कम्पनीका बीच सम्झौता भई हुम्लाको उत्पादन काठमाडौँसम्म आइरहेको छ। “यहाँ भएको उत्पादन खरिद गरेर काठमाडौँमा बजारीकरण गर्ने गरी खाद्यसँग सम्झौता गरिएको हो,” शाही भन्छन्।
सिमिकोट गाउँपालिकाभित्र ५०० हेक्टरमा कोदो खेती गरिन्छ। चैतमा लगाएको कोदो असोज–कात्तिकमा मात्र पाक्छ। गाउँपालिकाका अनुसार यहाँ वार्षिक ५० टन कोदो उत्पादन हुन्छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग गरिएको सम्झौताअनुसार कोदोको १००, चिनोको १३०, कागुनोको १४०, फापरको ९० र सिमीको १४० रुपैयाँ प्रतिकिलो मूल्य निर्धारण गरिएको छ।
सबैभन्दा रोचक पक्ष त के छ भने सिमिकोटका स्थानीयहरूले आफ्नो बारीमा फलेको कोदो, कागुनो लगायतका स्थानीय बालीहरू बिक्री गरेको पैसाले चामल किनेर भात खान्छन्।
“मान्छेको खाने बानीमा परिवर्तन आयो, यहाँका मान्छेले कोदोभन्दा सेतो चामल मन पराउँछन्,” शाही भन्छन्, “शहर–बजारमा कोदो लगायतका स्थानीय उत्पादनको माग बढी छ। यहाँ चाहिँ शहरको उत्पादन खोज्छन्। स्थानीय रुचिको सहजीकरण हामीले गरेका हौँ।”
स्थानीय धर्मराज रोकाया कोदोभन्दा कोटामा आउने चामल नै खाने गरेको बताउँछन्। “कोटामा आउँछ। आफ्नो कोटा कसैले छोड्दैन। कोदो बिक्री हुन थालेपछि चामल किन्न सजिलो भएको छ,” उनी भन्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
