सदनको अवरोध खुलाउन सभामुख र राष्ट्रियसभा अध्यक्षले राष्ट्रपतिसँग मागे सहयोग

शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले सदन सुचारु गर्न सभामुख र अध्यक्षले गरेका प्रयासबारे जानकारी लिएका थिए।

काठमाडौँ– सदनको अवरोध खुलाउन सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेलको सहयोग मागेका छन्। 

राष्ट्रपतिलाई भेट्न सभामुख र राष्ट्रियसभा अध्यक्ष शुक्रबार शीतल निवास पुगेका थिए। सो अवसरमा संसद्‌मा जारी अवरोधबारे आधा घण्टा छलफल भएको थियो।

राष्ट्रपति पौडेलले सदन सुचारु गर्न सभामुख र अध्यक्षले गरेका प्रयासबारे जानकारी लिएका थिए।

“भेटमा राष्ट्रपति पौडेलले सदन अवरोध खुवाउन सम्माननीयज्यूहरूबाट भएका छलफल प्रयासबारे समेत जानकारी लिनुभएको थियो,” राष्ट्रियसभा अध्यक्षको सचिवालयबाट जारी प्रेस नोटमा भनिएको छ, “भेटमा सम्माननीय सभामुख र सम्माननीय राष्ट्रियसभा अध्यक्षले सदनको अवरोध खुलाउन राष्ट्रपतिज्यूबाट समेत सहयोगको अपेक्षा राख्नुभएको थियो।” 

आफूहरूले पटक–पटक प्रयास गर्दासमेत अवरोध हटाउन नसकेको उनीहरूले बताएका थिए। 

१०० किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग राख्दै प्रमुख प्रतिपक्षी दल एमालेले संसद्‌का दुवै सदनमा अवरोध गर्दै आएको छ।