२१०औँ भानुजयन्ती मनाइँदै, चुँदीरम्घालाई पर्यटकीयस्थल बनाउने योजना अलपत्र

रम्घाडाँडामा रहेको ४०० रोपनी जग्गा अधिग्रहण गराएर त्यहाँ साहित्य उद्यान बनाउने कार्य शुरू भएको छ। त्यसपछि भानुको १०८ फिटको विशाल मूर्ति बनाउने योजना छ। तर, यी काम अघि बढ्न सकेका छैनन्। 

तनहुँको भानु नगरपालिका–४ मा स्थापित आदिकवि भानुभक्त आचार्यको शालिक। भानुभक्त जन्मिएको स्थान यहाँबाट तीन किलोमिटर पश्चिमतर्फ पर्छ। तस्वीर: रासस

चुँदीरम्घा– राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मथलो तनहुँको चुँदीरम्घाबारे नसुन्ने सायदै कोही होलान्। तर, उक्त स्थलमा पुग्ने नेपाली र विदेशी पर्यटक भने नगण्य देखिएका छन्। 

आदिकविको लोकप्रियता र भाषिक एकताको श्रीगणेशको श्रेयका दृष्टिले चुँदीरम्घामा पर्यटकीय गतिविधि बढ्नुपर्नेमा त्यस्तो हुन नसकेको सन्दर्भ क्रमशः उठ्न थालेको छ। पर्यटकीय पूर्वाधारका रूपमा भानुका साहित्यिक संग्रहालय, पक्की सडक, होटल, घरबासलगायतको प्रबन्ध नहुनुले पनि यस्तो भएको हुनसक्छ। भानुसँग जोडिएको घाँसीकुवा नजिकै पृथ्वीराजमार्ग बनाइएको छ। चुँदीरम्घामा हेर्नैपर्ने भानुसँग जोडिएका विशेष स्मृतिस्थल निर्माण गरिएका छैनन्।

आदिकवि भानुभक्त आचार्यद्वारा लिखित कविताको पाण्डुलिपी र काठको मसीदानी। तस्वीर: रासस

नेपाल सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयको मातहत हुने गरी सञ्चालनमा ल्याएको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले भानुका हरेक जन्म जयन्तीमा विविध साहित्यिक र प्रतियोगितात्मक कार्यक्रम भने गर्दै आएको छ। यस्ता कार्यक्रममा काठमाडौँ र विभिन्न जिल्लाबाट आमन्त्रण गरिएका केही कवि पुग्छन्। सीमित स्थानीयवासी र आसपासका विद्यालयका शिक्षक–विद्यार्थी सहभागी हुन्छन्। त्यसपछि एक वर्षसम्म चुँदीरम्घाको साहित्यिक वातावरण सुनसान रहन्छ।

भानुभक्तका ८२ वर्षीय पनाति हरिनाथ शर्मा आचार्यको मनमा पनि यो कुरा गढेको रहेछ। सरकारले पर्याप्त ध्यान दिन नसकेका कारण भानुको जन्मस्थल ओझेलमा परेको उनको गुनासो छ। आचार्य आफू केही समयअघि भारतको सिक्किम जाँदा त्यहाँ भानुको भव्य जन्मजयन्ती मनाइएको देखेर दंग परे। भानुभक्तका छोरा रामनाथ थिए। उनका छोरा देवीभक्तका छोरा हरिनाथ आचार्य गाउँमै सामान्य किसानी गरेर दिन बिताउँछन्। 

भानुभक्तको २१०औँ जन्म जयन्तीका अवसरमा विकास समितिले शुक्रबार भानु नगरपालिका–४ मा आयोजना गरेको भानुभक्तीय रामायण वाचन तथा खुला कविता प्रतियोगिता कार्यक्रममा सहभागी स्रष्टाहरूले पनाति हरिनाथसँग भेट्न र सँगै तस्बिर खिचाउन पाउँदा बेग्लै अवसरको अनुभव गरेका थिए। “यत्रो देश–विदेशमा नाम कहलिएका भानुको जन्मस्थललाई आजसम्म पर्यटकीय गन्तव्य नबनाइएकामा हामी परिवारका तर्फबाट दुःख लागेको छ,” रहिनाथले भने।

उक्त स्थललाई पर्यटकीय गन्तव्य बनाउन पहल भने नभएका होइनन्। भानु साहित्य उद्यानका महासचिव काशीराज आचार्यले रम्घाडाँडामा रहेको ४०० रोपनी जग्गा अधिग्रहण गराएर त्यहाँ साहित्य उद्यान बनाउने कार्य शुरू भएको जानकारी दिए। सोका लागि सरकारले एक करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। उद्यानले व्यक्तिगत स्तरमा पनि आर्थिक सहयोग जुटाइ विकास समिति र नगरपालिकालाई यस्ता काममा भरथेग र सहजीकरण गर्दै आएको छ। महासचिव आचार्यले सबै जग्गा अधिग्रहण भइसकेपछि उक्त डाँडामा भानुको १०८ फिटको विशाल मूर्ति बनाउने लक्ष्य लिइएको बताए। 

 आदिकवि भानुभक्त आचार्यले लगाउने खराउलगायत सामग्री। तस्वीर: रासस

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा. विष्णुविभु घिमिरेले चुँदीरम्घालाई गन्तव्यस्थल बनाउन आग्रह गर्दै आदिकविले जनजीवनका सरल शैलीमा भानुभक्तीय रामायण र अन्य लोकप्रिय रचना गरेका कारण उहाँको कीर्ति नेपाल बाहिर नेपालीहरू पुगेका सबै स्थानमा भएको बताए। सोही स्थानमा जन्मिएका अध्येता एवं साहित्यकार विधान आचार्यले पृथ्वीराजमार्गमा बनाइएको घाँसीकुवा नै भानुभक्तीय कुवा हो भन्ने प्रामाणिक आधार नभएकाले यसबारे अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याए। 

यसैबीच भानुजयन्ती मनाउन चुँदीरम्घामा काठमाडौँ र विभिन्न स्थानबाट आएका कविले बिहीबार साँझ बन्दीपुरमा काव्यसाँझ मनाएका छन्। कार्यक्रममा तीर्थ श्रेष्ठ, किशोर श्रेष्ठ, विधान आचार्य, राजेन्द्र शलभ, विश्वविमोहन श्रेष्ठ, नवराज कार्की, डा. हिरण्यलाल ज्ञवाली, ज्योति जंगल, रीमा केसी, लक्ष्मी माली, अमृत क्षेत्री, प्रतिमा पोखरेल, ईश्वरमणि अधिकारी, सञ्जीव पौडेल, काशीराज आचार्य, भीष्म उप्रेती, असीम सागर, रुद्र ज्ञवाली, स्नेह सायमीलगायतले रचना वाचन गरे। 

भानु जयन्तीका अवसरमा शुक्रबार विकास समितिको कार्यालयबाट बिहान झाँकी प्रदर्शनीसहित प्रभातफेरी शुरू भई चुँदीरम्घास्थित आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गरिँदैछ। दिउँसो भानुभक्तीय रामायण वाचन र खुला कविता प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण र अन्य साहित्यिक कार्यक्रमका साथै समितिद्वारा पहिलोपटक प्रकाशित भानुभक्तको रामायण ग्रन्थको विमोचन हुँदैछ।