एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, संगठन सुदृढीकरणमा जोड

बैठकमा मुलुकमा विकसित राजनीतिक घटनाक्रम, पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, संगठन सुदृढीकरण अभियानको समीक्षा तथा समसामयिक विषयमा छलफल हुनेछ।

काठमाडौँ– एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक शनिबार पनि बस्दैछ। 

शुक्रबार शुरू भएको बैठक नेताहरूले बोल्ने क्रम नसकिएपछि स्थगित भएको थियो। बैठक पुष्पलाल स्मृति प्रतिष्ठानमा बिहान ८:३० बजे शुरू हुने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। 

बैठकमा मुलुकमा विकसित राजनीतिक घटनाक्रम, पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, संगठन सुदृढीकरण अभियानको समीक्षा तथा समसामयिक विषयमा छलफल हुनेछ।  

बैठकको पहिलो दिन संगठन सुदृढीकरणको विशेष अभियानको सामान्य जानकारी, वर्तमान र हाम्रा कार्यभार, विचारको प्रस्तुति, आगामी कामको विस्तृत योजना, कार्य विभाजन, कमिटीमा समायोजन तथा थपघटबारे छलफल भएको थियो। 

शनिबार जनसंगठन युवा र विद्यार्थी, विभागका काम र व्यवस्थापन, प्रचार विभाग र रिक्त पदबारे पनि छलफल हुनेछ। 

पार्टी परित्याग गरी गएका चूडामणि जंगली, केदार न्यौपाने, मुकुन्द न्यौपानेलगायत नेताको पद रिक्त छ भने बागमती र लुम्बिनी प्रदेशमा इन्चार्ज पद पनि रिक्त छ।