सीआईबीले बुझायो ललिता निवास प्रकरणको अनुसन्धान प्रतिवेदन

२०४९ सालदेखि २०६९ सालको अवधिमा ललिता निवासको १४३ रोपनी जग्गा हिनामिना भएको थियो। 

काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललिता निवास जग्गा हिनामिना सम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ।

सीआईबीले बालुवाटारस्थित ललिता विवासको जग्गा किर्ते मुद्दाको अनुसन्धानसहित सक्कल र नक्कल फाइलहरू बुझाएको सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले जानकारी दिए। 

अब, प्रतिवेदन अध्ययन गरेर अभियोजन दर्ता हुने उनले बताए। आरोपीलाई पक्राउ गरेको ६० दिनभित्र अभियोजन गर्नुपर्छ। शुक्रबार वा शनिबार सार्वजनिक बिदा भएकाले आइतबार जसरी भए पनि अदालत पठाउनु पर्ने अवस्था रहेको नेउपानेले जानकारी दिए।

२०४९ सालदेखि २०६९ सालको अवधिमा ललिता निवासको १४३ रोपनी जग्गा हिनामिना भएको थियो। उक्त प्रकरणमा तत्कालीन प्रधानमन्त्री, मन्त्रीका साथै सम्बन्धित मन्त्रालयका सचिव, गुठी संस्थान र मालपोत कार्यालयका अधिकारीसमेत मुछिएका छन्।