फुटबल, भलिबलमा अवसर नपाएकालाई रग्बीले पूरा गर्दैछ राष्ट्रिय जर्सी पहिरिने सपना

फुटबल, भलिबलजस्ता खेलका राष्ट्रिय प्रतियोगिता खेलिसकेका र राष्ट्रिय टोलीमा परेर पनि बेञ्चमै बस्न बाध्य खेलाडी अवसरको खोजीमा रग्बी खेल्न आइपुगेका छन्।

काठमाडौँ- गत वर्ष कात्तिकमा बंगलादेशमा आयोजना भएको चौँथो साफ यू–१५ च्याम्पियनसिप उपाधि नेपालले जित्दा मिडफिल्डर यशोदा बोहोरा टोलीमा थिइन्। तर उनले मैदान उत्रिने मौका पाइनन्। त्यसको ६ महिना बित्न नपाउँदै नेपालले बंगलादेशमै भएको साफ यू–१७ च्याम्पियनसिपमा सहभागिता जनायो। यशोदाले उक्त टोलीमा भने स्थान नै बनाउन सकिनन्। त्यसपछि उनको पाइला रग्बीतिर मोडियो।

बर्दिया, मधुवनकी यशोदा छोटो अवधिमा नै रग्बी खेलमा जमिन्। गत आइतबार सम्पन्न एशिया यू–२० रग्बी सेभेन-ए-साइड च्याम्पियनसिपको लागि राष्ट्रिय टोलीमा उनी पनि थिइन्। तर पोखरामा बन्द प्रशिक्षणमा रहेको बेला चोट बोकेपछि मैदान उत्रिन पाइनन्।

यशोदा मात्र होइन, विशाका माक्रिहाङ राई, सुजा राई, विक्रम भारती, संगीता बमजन, संगीता राई, मनीषा थापालगायत खेलाडी फुटबल छाडेर रग्बी खेल्न थालेका छन्। नेपाली राष्ट्रिय रग्बी टोलीका सदस्य विक्रम पुरी फुटबललगायत अन्य खेलमा राष्ट्रिय टिममा पर्न चर्को प्रतिस्पर्धा रहेको बताउँछन्। त्यसैले राष्ट्रिय टोलीको चन्द्रसूर्य अंकित जर्सी लगाउने लक्ष्य बोकेका खेलाडीको रोजाइ रग्बी बनेको उनको भनाइ छ।

पुरी पनि कुनै समय फुटबल खेल्थे। तर फुटबल खेलाडी मात्र नभई बेसबल, बास्केटबल, तेक्वान्दो भलिबल करातेलगायत खेल्नेहरू पनि रग्बीतिर लागेका छन्। पुरी भन्छन्, “अहिले हामीसँग विशुद्ध रग्बी खेलाडी कम नै छन्। अन्य खेलमा अवसर नपाएकाहरूको यसतर्फ उत्साहप्रद सहभागिता देखिन्छ।”

रग्बी खेलको नेपाल प्रवेश
फुटबल र बास्केटबलसँग मिल्दोजुल्दो रग्बी सन् १८८५ मा इंग्ल्यान्डबाट शुरू भएको थियो। त्यसको एक वर्षपछि स्कटल्यान्ड, वेल्स र आयरल्यान्ड मिलेर विश्व रग्बी अन्तर्राष्ट्रिय फुटबल बोर्ड (आईआरएफबी, अहिले अन्तर्राष्ट्रिय रग्बी बोर्ड आईआरबी) गठन गरे। सन् १८९० मा इंग्ल्यान्ड पनि बोर्डको सदस्य बन्यो।

सन् १९४९ मा अस्ट्रेलिया, न्यूजिल्यान्ड र दक्षिण अफ्रिका यसको पूर्ण सदस्य बने। त्यसपछि सन् १९७८ मा फ्रान्स पनि त्यो सूचीमा थपियो। सन् १९८७ देखि १९९९ सम्म थप ८० राष्ट्र सदस्य भएपछि रग्बीले फुटबल र क्रिकेटझैँ विशाल स्वरूप लिन थाल्यो। 

नेपालमा भने रग्बी भित्रिएको करिब तीन दशक भयो। अध्ययनका लागि भारत गएका सिद्धिशमशेर राणाले सन् १९९५ (२०५२ साल) मा यो खेललाई नेपाल भित्र्याएको रग्बी संघका उपाध्यक्ष किरण गिरी बताउँछन्। अहिले १२० भन्दा बढी मुलुकमा रग्बी खेलिन्छ।

रग्बीका लागि छुट्टै मैदान चाहिँदैन, फुटबल मैदानमै खेल्न सकिन्छ। फुटबल र बास्केटबलका खेलाडीलाई रग्बी खेल्न अझ सहज हुने गिरी बताउँछन्।

यसमा फुटबल र बास्केटबलमा जस्तो अगाडि रहेका सहकर्मीलाई बल पास दिन पाइँदैन। बल पछाडि रहेका साथी खेलाडीलाई पास दिइन्छ। अन्तिम लाइनमा रहेर बललाई टच गराए ५ पोइन्ट पाइन्छ। त्योसँगै ‘कन्भर्जन किक’ पनि हान्न पाइन्छ। त्यो ‘कन्भर्ट’ भए थप २ पोइन्ट पाइन्छ।

रग्बीका लागि हट्टाकट्टा शरीर, तीब्र दौडन सक्ने साथै छलाउने सीप चाहिन्छ। अहिले भुटानबाहेक अन्य दक्षिण एशियाली राष्ट्रमा रग्बी खेलिन्छ। 

श्रीलंका र भारतमा रग्बी खेलले फड्को मारिसकेको छ। श्रीलंकाले सन् २००७ मा विश्वकप खेलिसकेको छ। भारतले पनि सन् २०१६ को रियो ओलम्पिकमा सहभागिता जनाएको थियो। तर करिब तीन दशकअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा ३७ नम्बरमा दर्ता भएको रग्बी संघले दुई दशकसम्म प्रतियोगिता नै आयोजना गर्न सकेन। संघको साधारणसभा पनि भएन।

राखेपले खेलकुद विकास ऐन २०४८ बमोजिम बारम्बार साधारणसभा गर्न ताकेता गरिरह्यो। तर आर्थिक अभावका साथै खेलाडी र प्रशिक्षक नहुँदा संघ निष्क्रिय भयो। २०६९ सालमा बल्ल रग्बीले जीवनदान पायो। राखेपका वर्तमान सदस्यसचिव टंकलाल घिसिङसहितको टोलीले संघ आफ्नो नाममा ल्याएका थिए।

त्यसको एक वर्षपछि बनेपास्थित बेलोर इन्टरनेस्नल स्कुलमा संघले पहिलोपटक अन्तरविद्यालय रग्बी प्रतियोगिता गर्‍यो। त्यसपछि काठमाडौँ उपत्यकालगायत विभिन्न जिल्लामा विद्यालयस्तरका प्रतियोगिताहरू भए। २०७० सालमा संघले तत्कालीन पाँचै विकास क्षेत्र र विभागीय टोली त्रिभुवन आर्मीलाई समेट्दै पहिलोपटक राष्ट्रिय रग्बी प्रतियगिता आयोजना गर्‍यो। २०७१ सालमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा क्लबस्तरीय रग्बी प्रतियोगिता आयोजना भयो। त्यही वर्ष भारतको चेन्नईमा भएको ‘प्रि–ओलम्पिक सेभेन–ए–साइड क्वालिफायर’ प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीले ‘गोल्डेन ब्रेक’ पायो।

“त्यतिखेर हामी बास्केटबल, भलिबल र फुटबललगायत अन्य खेल छाडेर आएकाहरू टिममा थियौँ। मैले चाहिँ त्यही वर्षको लास्टमा मलेसियामा भएको प्रतियोगिताबाट डेब्यू गर्न पाएँ,” रग्बी खेलाडी विक्रम पुरी भन्छन्, “नयाँनयाँ खेल भएको कारण धेरै खेल हुने र पर्याप्त एक्सपोजर पनि हुने भएको कारण अरू खेलभन्दा यसमा बढी स्कोप देखेँ।”

अन्य खेलमा अवसर नपाएपछि रग्बी
इलामकी विशाका माक्रिहाङ राई पनि भविष्य देखेर रग्बीमा लागेकी हुन्। इलामबाटै महिला राष्ट्रिय फुटबल टोलीमा प्रतिनिधित्व गर्दै आएकी कप्तान अन्जिला तुम्बापोजस्तै गोलरक्षक बन्ने सपना बुनेर विशाका विभागीय टोली आर्मीमा पुगेकी थिइन्। उनले आर्मीबाट करिब आठ वर्ष फुटबल खेलिन्। तर अञ्जना रानामगर र लिला लाम्गादेको विकल्पमा रहेकी विशाकाले अधिकांश समय बेञ्चमै बिताउनु परेको थियो। 

त्यहीबेला विशाकाले घुँडाको चोट बोक्न पुगिन्। लामो समय चोटसँग जुधेकी उनले फुटबलमा पुनरागमन गर्न सकिनन्। अनि, रग्बी रोजिन्। 

विशाकाले रग्बी खेलेको तीन महिनामै राष्ट्रिय टोलीको जर्सी पहिरिने मौका पाइन्। गत वर्ष साउनमा इन्डोनेसियामा भएको एशिया रग्बी सेभेन्स ट्रफीमा राष्ट्रिय टोलीमा डेब्यू गरिन्। “फुटबलमा राष्ट्रिय टोलीको जर्सी लगाउने सपना थियो, तर जुरेन। यद्यपि, इन्डोनेसियाको जकार्तामा भएको प्रतियोगितामा रग्बीमार्फत् मेरो सपना पूरा भयो,” उनी भन्छिन्।

गत असोज-कात्तिकमा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा उनले आर्मीको टोलीबाट प्रतिस्पर्धा गरेकी थिइन्। उक्त प्रतियोगितामा आर्मीले स्वर्ण जित्यो।

रग्बीको राष्ट्रिय टोली उपकप्तान भइसकेकी सिर्जना राई शुरूमा भलिबल खेल्थिन्। उनी पनि आर्मीमा थिइन्। उनले २०७४ सालमा मात्र नेपालमा पनि रग्बी खेलिने गरेको थाहा पाइन्। भलिबलमा ‘प्लेइङ सेट’मा स्थान बनाउन संघर्ष गरिरहेकी उनी रग्बीतिरै लागिन्। 

“भलिबल खेल्दै जाँदा साथीहरूबाट नै रग्बीबारे सुनेँ। रंगशालामा गएर प्रशिक्षण गर्न थालेपछि रमाइलो लाग्यो। त्यसपछि रग्बीमै लागेँ,” उनी सुनाउँछिन्

रग्बी खेल्न थालेको अर्को वर्ष २०७५ सालमा सिर्जना ‘बेस्ट प्लेअर अफ दी इयर’ घोषित भइन्। उक्त अवार्ड पाएपछि रग्बी खेल्ने उत्साह थप जाग्यो। उनी अन्तर्राष्ट्रिय खेलमा नेपालको पहिलो ‘स्कोरर’ पनि हुन्।

“जीन्दगीमा त्यस्तो एक मोड आयो, मलाई मन परेका दुई खेल भलिबल र रग्बीमा एक चुन्नु पर्‍यो। त्योबेला आर्मीमा जागिर फिक्स भइसकेको थियो। परिवारको आर्थिक अवस्थासमेत कमजोर थियो। यद्यपि, रग्बीबाट राष्ट्रिय टोलीको जर्सी लगाइसकेको कारण मलाई भलिबलमा फर्किन मन लागेन,” उनी भन्छिन्।

सिर्जना अहिले संघको प्रशिक्षक कमिटी सदस्य छिन्। नेपाल महिला रग्बी संघको उपाध्यक्षसमेत भइसकेकी छन्।

फैलँदै रग्बी
नेपालका सातमध्ये पाँच प्रदेश कर्णाली, सुदूरपश्चिम, कोशी, गण्डकी र बागमतीमा रग्बी संघका प्रादेशिक समिति गठन भइसकेका छन्। मधेश र लुम्बिनीमा पनि समिति गठनको तयारी भइरहेको रग्बी संघका अध्यक्ष दीपक देवकोटा बताउँछन्।

प्रादेशिक समिति गठन भएका पाँच प्रदेशमा करिब तीन हजार रग्बी खेलाडी उत्पादन भइसकेको देवकोटाको दाबी छ। तीमध्ये करिब ६५ प्रतिशत खेलाडी भने बागमती प्रदेशमा छन्। चीनको ग्वान्झाओमा अर्को महिना हुने एशियाडमा भाग लिन जाने पुरुष रग्बी टोलीका सात खेलाडी बागमतीकै छन्।

यसबाहेक अहिले हिमालयन रग्बी, गोर्खाली, बडिमालिका, आकाशभैरव र चितवन ओरिज रग्बी क्लब दर्ता भइसकेका छन्। यी क्लबले पनि खेलाडी उत्पादन गरिरहेका छन्। नियमित प्रतियोगिता र ‘एक्सपोजर’ पाउन थालेपछि अन्य खेल छाडेर रग्बीतिर लाग्नेको संख्या उल्लेख्य मात्रामा बढेको देवकोटा बताउँछन्। त्यसैले राष्ट्रिय टोली निर्माण गर्न क्रिकेट र फुटबलमा जस्तो सकस नरहेको उनको भनाइ छ।

“हुन त शुरूमा जो पदाधिकारी थियौँ, हामीलाई नै रग्बी के हो थाहा थिएन। गुगलमा कहाँ हुन्छ, कसरी खेलिन्छ र बलको साइज कति हुन्छ भनेर हेरेका हौँ,” उनी भन्छन्, “त्यहाँदेखि यहाँसम्म आइपुग्दा धेरै कुरामा सुधार गर्‍यौँ। अहिले राष्ट्रिय टोली बनाउन ६० जनालाई बन्द प्रशिक्षणमा बोलाउन सक्ने भएका छौँ।”

सन् २०१५ पछि रग्बी टोलीले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता नियमित खेल्दै आएको छ। सन् २०१६ मा भारतको चेन्नईमा एशिया रग्बी डेभलपमेन्ट सेभेन्समा महिला पुरूष दुवै टोली सहभागी भए। सन् २०१७ मा कतारमा पुरूष टोलीले एशिया रग्बी ट्रफीमा भाग लियो। त्यही वर्ष नेपाली टोली लाओस पनि गयो। सन् २०१८ मा महिला टोलीले ब्रुनाई र पुरूष टोलीले सिंगापुरसँग खेल्ने अवसर पाए। ओलम्पिक छनोट पनि नेपालले खेल्यो।

नेपाल रग्बी संघले त्यही वर्ष एशियाली रग्बी महासंघबाट मान्यता पायो। तत्कालीन अध्यक्ष टंकलाल घिसिङ पनि एशिया रग्बी संघको कार्यकारी सदस्यमा निर्वाचित भए। 

यस्तै, २०२० नोभेम्बरमा भने संघले विश्व रग्बीको एसोसिएट मान्यता पायो। त्यसको दुई वर्षपछि नै नेपालले विश्व रग्बी महासंघबाट पूर्ण सदस्यता प्राप्त गर्न सफल भयो। अहिले नेपालको पुरूषतर्फ सेभेन–ए–साइड र फिप्टिन–ए–साइड दुवैतर्फ टोली निर्माण छ। महिलातर्फ भने सेभेन–ए–साइडको टोली मात्रै छ।

तत्कालीन अध्यक्ष घिसिङ राखेपको सदस्यसचिव भएपछि रग्बीले गति लिएको छ। “यो टिम गेम हो। लगानी धेरै गर्नुपर्छ, खेलाडी पनि उत्पादन गर्नुपर्छ। खेलाडी उत्पादन गर्ने र गेम खेलाउने गरिरहेका थियौँ। त्यस क्रममा राखेपमा नयाँ सदस्यसचिव आउनुभयो। खेल्न मैदान पायौँ, मिडिया एक्सपोजर पायौँ। त्यसैले गति लियो,” उनी भन्छन्।

गत वर्ष संघले जिल्ला र प्रदेशमा प्रतियोगिता आयोजना गर्‍यो। नेशनल सिनियर सेभेन–ए–साइड च्याम्पियनसिप र फिप्टिन–ए–साइड प्रतियोगिता पनि गर्‍यो। यो वर्ष संघले दशरथ रंगशालामा एशिया यू–१८ रग्बी सेभेन्स प्रतियोगिता आयोजना गरेको छ। संघले राजधानी केन्द्रित खेललाई मोफसलमा लैजान शुरू गरेको छ। गत जेठमा इलामको माई नगरपालिकामा यू–२० महिला तथा पुरुष प्रतियोगिता आयोजना गरेको थियो। सोही प्रतियोगिताबाट नेपालको २० वर्ष उमेर समूहको टिम छनोट गरिएको छ।

पछिल्लो समय रग्बीमा खेलको भोलुम बढ्दा पनि अन्य खेलमा भविष्य नदेखेका खेलाडीको राष्ट्रिय जर्सी पहिरिने सपनाको सारथी रग्बी बनेको छ। तर, अहिले संघले पनि आन्तरिक तवरबाट विशुद्ध रग्बी खेलाडी उत्पादन गर्ने प्रयास गरिरहेको देवकोटा सुनाउँछन्।

“हामीले पछिल्लो १० वर्ष रग्बीको सम्भावनाबारे परीक्षण गर्‍यौँ। अन्य खेलमा करिअर नदेखेका धेरैले रग्बीको राष्ट्रिय जर्सी लगाए। यता, हामीले तयार गरेको जनशक्ति अलिअलि यू– १८ र २० मा आइपुगे," अध्यक्ष देवकोटा भन्छन्, "अहिले स्कुलमा रग्बी खेलाउन थालेका छौँ। यू–१५ मा खेलाएका खेलाडी बिस्तारै यू–१८ र २० मा अपग्रेड हुँदैछन्। त्यसैले अब रग्बीको निम्ति फिजिकली र मेन्टली तयार भएको खेलाडी आउने छन्।”

संघले आगामी दिनमा आफ्नै खेल मैदान बनाउने र पर्याप्त अन्तर्राष्ट्रिय ‘एक्सपोजर’ दिलाउने कोशिश गरिरहेको उनको भनाइ छ। यद्यपि, प्रतियोगिता आयोजना गर्न र सहभागिता जनाउन संघ आफैँ सक्षम नरहेकोले सरकारले सहयोग गरे फुटबल र क्रिकेटझैँ रग्बीको नाम पनि विश्वसामू चिनाउन सक्ने देवकोटा बताउँछन्।