चेपाङको न्वागी: पितृ बुझाउन रातभर झाँक्रीनाच, भूमिलाई धन्यवाद दिन माटो पूजा

चेपाङ जातिलाई प्रकृति पूजकका रूपमा पनि चिनिन्छ। उनीहरू सिमेभुमेलाई बुझाएर मात्रै पाकेका अन्नबाली खाने गर्छन्। 

धादिङ– गलामा रुद्राक्षको माला, त्यसमाथि घण्टी। छालाले मोहोरिएको एकपाखे ढ्यांग्रोमा पनि घण्टी र घलामहरू झुन्ड्याइएको छ। गाउँभरिका मानिस एकैठाउँमा जम्मा भएर चेपाङ झाँक्री न्वागी फलाक्दै थिए। 

जति रात छिप्पिँदै गयो ढ्यांग्रो, घण्टी र घलामबाट आवाज चर्किँदै थिए। मन्द आवाजमा केही फलाकेजस्तो त कोही गुनगुनाएजस्तो आवाज वरपर पनि गुञ्जायमान थिए। त्यही ढ्यांग्रो ठोकेर फलाक्नेमध्ये एक थिए, धादिङ गजुरी गाउँपालिका–५ बरभञ्ज्याङका राजकुमार चेपाङ। 

नेपालका सीमान्तकृत चेपाङ समुदायले मनाउने न्वागी पर्व निकै रमाइलो र चाखलाग्दो छ । चेपाङ भाषामा ‘न्वागी’ भनेको ‘छोनाम’ हो। पितृ बुझाउने र भूमि पूजा गर्ने पर्वका रूपमा परिचित यो पर्वमा आफ्ना कूलभरिमा मानिस मूल झाँक्रीको घरमा जम्मा भएर झाँक्री फलाक्ने गर्दछन्। यो पर्वमा विशेषगरी घैया धान, गाभा, निबुवा, घिरौँलालगायत कन्दमूल र तरकारी पितृलाई बुझाएर अन्न फलाउने भूमिलाई पूजा गर्ने प्रचलन छ।

“नयाँ बाली पाकेपछि पितृलाई नबुझाई खाँदा पितृ रिसाउने, अनिष्ट हुने भन्ने जनविश्वास रहेकाले झाँक्रीहरूले रातभर फलाकेर पितृ बुझाउने र अन्न फलाउने भूमिलाई धन्यवाद दिने गरिन्छ,” झाँक्री राजकुमार चेपाङले भने, “नयाँ बाली पितृलाई नबुझाई र अन्न फलेको भूमिको पूजा नगरी खायो भने कूल रिसाउँछ, मानिस बिरामी पर्छ।”

चेपाङ समुदायले आफ्नो प्रमुख चाडका रूपमा हरेक वर्ष भदौ २२ गते न्वागी पर्व मनाउँछन्। भदौमा नयाँ अन्नबाली, फलफूल पाकेपछि पूजा गर्ने परम्परा छ। “पितृ नबुझाई र अन्न उत्पादन गराइदिएकामा भूमिलाई धन्यवाद नदिई नयाँ बाली खाएमा अनिष्ट हुन्छ, अशुभ हुन्छ, पितृ रिसाउँछ भन्ने विश्वास छ,” नेपाल चेपाङ संघका अध्यक्ष गोविन्दराम चेपाङले भने, “यो पर्वमा झाँक्री बसेर रातभर सिमेभुमे फलाकेर मात्रै खानुपर्छ भन्ने मान्यता परापूर्वकालदेखि नै चलिआएको हो।”

छरछिमेकी, नाताकुटुम्ब आमन्त्रण गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुख–दुःख साट्ने गर्छन्। ठाउँ र कूलअनुसार पनि न्वागी मनाउने चलन फरक–फरक छ। चेपाङले न्वागी पर्वलाई ‘पान्देइ घ्यासा’ चाड पनि भन्छन्। भेला भएर ढ्यांग्रो बजाउने, टीका लगाएर आपसमा आशीर्वाद थाप्ने गरिन्छ। न्वागीको दिनलाई चेपाङहरूले वारनाको रूपमा मनाउने चेपाङ संघका केन्द्रीय सचिव एवं धादिङको गजुरी गाउँपालिका–४ का वडाध्यक्ष सुरेन्द्र चेपाङले बताए।

वारनामा कोही चेपाङ काममा निस्कँदैनन्। यो वर्ष पनि वर्षभरि मृत्युवरण गरेका परिवारका सदस्य र आफन्तको नाममा बिहीबार रातभर ढ्यांग्रोमा फलाकेर शुक्रबार बिहान न्वागी पूजा गर्ने चलन छ। चेपाङ समुदायले पर्वका रूपमा हरेक वर्ष भदौ २२ गतेलाई मनाउने भए पनि आ–आफ्नो कूलभित्र भने भदौ महिना लागेदेखि फलाक्न सुरु गर्छन्। कूल र भूगोलअनुसार साना–साना समूहमा पनि झाँक्री फलाक्ने र न्वागी मनाउने चलन छ।

चेपाङ जातिलाई प्रकृति पूजकका रूपमा पनि चिनिन्छ। उनीहरू सिमेभुमेलाई बुझाएर मात्रै पाकेका अन्नबाली खाने गर्छन्। जल, जंगल र जमिन चेपाङ जातिको जीविकोपार्जनको मुख्य स्रोत हो। जमिनमा खोरिया खन्ने, जंगलमा सिकार गर्ने र जलमा बल्छी र जाल हानेर माछा मारी जीविका धान्ने चेपाङको परम्परागत विशेषता हो। 

सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजातिमध्ये चेपाङ पनि एक हो। महाभारत पर्वत शृंखला वरिपरिको रैथाने बासिन्दा मानिन्छन्। मकवानपुर पश्चिम, चितवन उत्तर र धादिङका दक्षिणी भेगमा चेपाङको घना बसोबास छ। चेपाङ समुदायको जनसंख्या सबैभन्दा धेरै चितवन, मकवानपुर र धादिङमा छ। गोरखा, तनहुँ र लम्जुङमा पनि बाक्लो बसोबास छ। इलाम, झापा, मोरङ, सुनसरी, भोजपुर, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, बारा, पर्सा, ललितपुर, काठमाडौँ, कास्की, गुल्मी, नवलपरासी, रुपन्देही, दाङ, बाँके र बर्दिया गरी २६ जिल्लामा चेपाङ जातिको बसोबास रहेको चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिए। 

चेपाङ भाषाबाटै ‘धादिङ’को नाम   
धादिङ जिल्लाको नाम पनि चेपाङ भाषाबाटै राखिएको भन्ने कथन छ। ‘धा’ भनेको ‘आगोको ज्वाला’ र ‘दिङ’ भनेको ‘देवी–देउता चथौत माटो’ हो, यसैलाई मिलाएर धादिङ नाम बसेको चेपाङ संघ धादिङका अध्यक्ष भीमबहादुर चेपाङले बताए। 

न्वागीलाई माटो पूजाका रूपमा पनि लिइन्छ। चेपाङ समुदायको थातथलो नै महाभारत क्षेत्र हो। उनीहरू पहिलेदेखि नै धादिङ, चितवन र मकवानपुरको सिमाना महाभारत शृंखलामा बसोबास गरेको र उनीहरूले पूजा गर्ने ज्वालामुखी देवीको मन्दिर पनि धादिङ जिल्लामा रहेकाले चेपाङ भाषाबाट नै जिल्लाको नाम ‘धादिङ’ रहन गएको हो भन्ने जनश्रुति छ। 

चेपाङ जातिलाई भौगोलिक सिमानाभन्दा सामाजिक तथा सांस्कृतिक सिमानाले बाँधेको छ। जन्मदेखि मृत्युसम्मको संस्कार भूमिसँग सम्बन्धित छ।