एमालेले ३ दिन पार्टीको झण्डा आधा झुकाउने, असोज २ गते श्रद्धाञ्जलीसभा गर्ने

केन्द्रीय सचिवालयको आकस्मिक बैठकले पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा तीन दिन शोक पुस्तिका राख्नेसमेत निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिए।

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालयको आकस्मिक बैठकले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा दुःख व्यक्त गर्दै विशेष शोक प्रस्ताव पारित गरेको छ। 

केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बसेको बैठकले पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयमा तीन दिन शोक पुस्तिका राख्ने निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिए।

यस्तै, तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने, पार्टी र सम्बद्ध जनसंगठनका सबै कार्यक्रम स्थगित गर्नेसमेत निर्णय भएको छ। असोज २ गते केन्द्र र प्रदेशमा श्रद्धाञ्जलीसभा आयोजना गर्ने सचिव भट्टराईले बताए।

संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुखसमेत रहेका नेम्वाङको पार्थिव शरीर केन्द्रीय कार्यालय पुर्‍याइएको छ। श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर त्रिवि शिक्षण अस्पतालबाट च्यासल लगिएको हो।

नेम्वाङको मंगलबार बिहान हृदयघातबाट निधन भएको थियो।