सुवास नेम्वाङको पार्थिव शरीर दिउँसोपछि निवासमा राखिने

नेम्वाङको पार्थिव शरीर एक बजेपछि निवासमा लगिने र त्यहाँ आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ।

काठमाडौँ–एमाले उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर बुधबार दिउँसोपछि बालुवाटारस्थित निवासमा लगिने भएको छ। 

बिहान नौदेखि दिउँसो एक बजेसम्म भने च्यासलमा नै श्रद्धाञ्जलीको व्यवस्था मिलाइएको एमाले प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए। 

एक बजेपछि निवासमा लगिने र त्यहाँ नेम्वाङका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ। विदेशबाट छोराहरू आइसकेपछि उनको अन्त्येष्टि बिहीबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने छ। 

नेम्वाङको सम्मानमा एमालेले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ। उनको मंगलबार बिहान हृदयघातबाट निधन भएको थियो।