व्यक्तिहत्यामा सर्वस्वसहित जन्मकैद तोकिएका गुण्डानाइकेः सरकारको माफी मिनाहा, छुटेपछि अबिर जात्रा

हत्या अभियोगमा अदालतले ढकाललाई सर्वस्वसहित जन्मकैद सजाय तोकेको थियो। सरकारले सजाय माफी मिनाहाका लागि गरेको सिफारिस राष्ट्रपतिले सदर गरेसँगै उनी अबिर जात्रासहित कारागारबाट निस्किए।

काठमाडौँ– बुधबार सामाजिक सञ्जाल टिकटकदेखि फेसबुकलगायतमा ‘वेलकम ब्याक रिगल’ लेखिएका भिडियो र तस्वीर भाइरल छन्। भिडियोमा एक व्यक्तिलाई कुनै ठूलै प्रतिस्पर्धा जितेर आएझैँ फूलमाला र अबिरसहित भव्य स्वागत गरिएका दृश्यहरू देख्न सकिन्छ। उनको स्वागतमा गाडीको लावालस्कर पनि देखिन्छ।

‘रिगल’ नामले परिचित ती व्यक्ति बाँकेका योगराज ढकाल हुन्। मान्छे मारेको अभियोगमा बाँके जिल्ला अदालतले उनलाई सर्वस्वसहित जन्मकैदको सजाय गरेको थियो। दाङको घोराही कारागारमा त्यो सजाय भुक्तान गरिरहेका उनै ढकाल बुधबार संविधान दिवसको दिन रिहा भए। ढकालले ४० प्रतिशत मात्र सजाय भुक्तानी गरेका थिए। 

तर राजनीतिक दबाबमा कारागार प्रशासनबाट सिफारिस भएपछि उनको बाँकी सजाय माफी मिनाहा गरिएको हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सजाय माफी मिनाहाका लागि गरेको सिफारिस राष्ट्रपति रामचन्द्र पौडेलले सदर गरेपछि बुधबार उनी रिहा भए। निस्कने बेला घोराही कारागारमा उनलाई लिन ठूलो संख्यामा कांग्रेस कार्यकर्ता–समर्थकको समूह पुगेको थियो।

“ठूलै प्रतिस्पर्धामा विजय भएर आएजस्तै २५/२६ वटा गाडीका लस्करसहित फूलमाला र अबिर लगाएर युवाहरूको समूहले ‘स्कर्टिङ’ गरेर लगेको थियो,” कारागारका एक सुरक्षाकर्मीले भने, “मान्छे मारेर सर्वस्वसहित जन्मकैदको फैसला भएकालाई यसरी उन्मुक्ति दिने काम गरिन्छ भने पीडितले कसरी न्याय पाउलान्?” 

कारागारभित्र पनि उनको भव्य बिदाइ गरिएको थियो। सामाजिक सञ्जालमा भाइरल भिडियो हेर्दा मान्छे मारेको अभियोगमा जेलमा रहेको व्यक्ति रिहा हुँदा उनलाई कुनै भीआईपी, मन्त्री वा उच्च पदस्थ व्यक्तिलाईभन्दा बढी स्वागत गरेको भन्दै सामाजिक सञ्जालहरूमा आलोचना भइरहेको छ। उनलाई आफ्ना समर्थकहरूले दाङबाट गाडीमा ‘स्कर्टिङ’ गरेरै नेपालगन्ज पुर्‍याएका थिए।

कारागारबाट बाहिर निस्केलगत्तै उनलाई नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको झन्डा ओढाएर दलका कार्यकर्ता र समर्थकले स्वागत गरेका थिए। बाँके पुगेर उनको सम्मानमा कार्यक्रम नै आयोजना गरिएको थियो। होटल सिद्धार्थ भ्यूमा गरिएको कार्यक्रममा माफी मिनाहा पाएर रिहा भएका ढकाललाई जेल जीवनको अनुभव सुनाउन लगाइएको थियो। त्यो भिडियो उनकै समर्थकले टिकटकमा सार्वजनिक गरेका छन्। सो कार्यक्रममा उनले आफूलाई ‘षडयन्त्र गरेर फसाइएको’ भनेका छन्। 

दाङको घोराही कारागारका जेलर लक्ष्मणसिंह राठौरले राष्ट्रपतिबाट माफी मिनाहा भएपछि उनलाई रिहा गरिएको जानकारी दिए। “४० प्रतिशत सजाय भुक्तान गरिसकेको अवस्थामा बाँकी ६० प्रतिशत कैद सजाय माफी भएपछि रिहा गरिएको हो,” उनले भने। 

२०७४ असोज ३० गते जारी भएको मुलुकी फौजदारी कार्यविधि (संहिता) को दफा १५९ ले सजाय माफी दिन सकिने व्यवस्था गरेको छ। उक्त दफाको उपदफा (१) मा अदालतको फैसलाबमोजिम सजाय पाएको व्यक्तिले सो सजाय माफी पाउन, त्यसलाई मुल्तबीमा राख्न, परिवर्तन गर्न वा कम गर्न गृह मन्त्रालयमार्फत राष्ट्रपतिसमक्ष निवेदन दिन सक्ने व्यवस्था छ।

उपदफा (२) ले उपदफा (१) बमोजिम निवेदन दिँदा जुन अदालतको फैसलाबाट निवेदकले सजाय पाएको हो, सो अदालतको फैसलाको प्रतिलिपि संलग्न गर्नुपर्ने उल्लेख छ। तर उपदफा (४) मा भने भ्रष्टाचार, यातना, जबरजस्ती करणी, क्रूर तथा अमानवीय तरिकाले वा नियन्त्रणमा लिई ज्यान मारेको, विस्फोटक पदार्थ, अपहरण, शरीर बन्धक, तीन वर्षभन्दा बढी कैद सजाय हुने लगायतका कसुरसँग सम्बन्धित कसुरदारलाई भएको सजाय भने माफी गर्न, मुल्तबीमा राख्न र परिवर्तन वा कम गर्न नसकिने प्रावधान छ।

कारागार व्यवस्थापन विभागले भदौ ६ गते कैद कट्टाको सिफारिस गरी पठाउन देशका सबै कारागार कार्यालयमा पठाएको पत्रमा पनि जन्मकैदको सजाय पाएको (कैद सजाय २५ वर्ष तोकिएको) मुद्दामा कैद कट्टाको सिफारिस गर्न नमिल्ने उल्लेख छ। तर यो परिपत्रविपरीत घोराही कारागारले भने सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका ढकालको नाम पनि सिफारिस गरेको थियो। 

को हुन् ढकाल, के थियो घटना?
ढकाल नेपालगन्ज र आसपासका क्षेत्रमा गुण्डागर्दी र आपराधिक कर्ममा परिचित व्यक्ति हुन्। गुण्डागर्दी र अपराध–कर्म गर्दागर्दै उनले नेपाली कांग्रेसमा ओत पाएका थिए। त्यसपछि त उनी कांग्रेसको राजनीतिमै जोडिए। उनी तरुण दल बाँकेको क्षेत्रीय सभापतिसम्म बने। योसँगै बाँकेमा गुण्डागर्दी, ठेक्कापट्टा र अवैध असुलीमा उनको जगजगी थप चुलियो।

अरू पार्टीका युवादस्ता सक्रिय रहेका बेला ढकालको समूह उनीहरूसँग हिंसात्मक मुठभेडमा पनि सक्रिय बनेको थियो।

राजनीतिको आडमा उनी विभिन्न घटनामा जोडिएको प्रहरीको अभिलेखले पनि देखाउँछ। २०७२ असार २८ मा नेपालगन्जको धम्बोझीचोक नजिकै स्थानीय २९ वर्षीय चेतन मानन्धरको दिउँसै हत्या भयो। उक्त हत्याका मुख्य योजनाकार ढकाल नै रहेको प्रहरीको अनुसन्धानले पुष्टि गरेको थियो। हत्याका बेला ढकाल तरुण दलको बाँके क्षेत्र नम्बर ३ का सभापति थिए। 

“बाँके, बर्दियालगायतका जिल्लामा उनको समूहले अवैध असुली र ठेक्कापट्टा लगायतका काममा गुण्डागर्दी गर्दै आएको थियो। यो समूहको प्रभाव ठूलो थियो। स्थानीय युवकको हत्यापछि फरार भएर पछि आत्मसमर्पण गरेपछि उनी जेल चलान भएका हुन,” जिल्ला प्रहरी कार्यालय बाँकेका एक अधिकृतले उनको विगतबारे भने। 

हत्याको अभियोग लागेपछि फरार रहँदा बाहिरबाटै घटना मिलाउने प्रयास गरेका ढकालले त्यो सम्भव नभएपछि २०७२ भदौ ७ गते अदालतमा आत्मसमर्पण गरेका थिए। पुर्पक्षका लागि थुनामा गएका उनलाई २०७५ वैशाख ११ गते बाँके जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो। २९ वर्षीय युवकलाई दिनदहाडै खुँडा प्रहार गरी हत्या गरिएपछि ढकालसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको थियो। “त्यत्रो अपराध गरेर पनि अबिर–जात्रा गर्दै छुट्न पाइने भएपछि अब उनको आतंक झन् बढ्ने खतरा छ,” ती प्रहरी अधिकृतले भने।