सन् २०१८ मा भएको एशियन गेम्समा उमेर समूहको विश्वकप खेलिसकेको जापानलाई १-० मा रोक्न सक्ने स्तरमा पुगेको नेपाल पछिल्लो समय भारत र बंगलादेशको चुनौती पनि पन्छाउन नसक्ने स्तरमा खस्केको छ।
काठमाडौँ– “जति पनि उमेर समूहका प्रतियोगिता हुन्छन्, हाम्रो लक्ष्य सधैँ उपाधि जित्ने नै हुन्छ। यसपटक पनि लक्ष्य त्यही छ।”
अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाहले साफ यू–१९ च्याम्पिनसिपको तयारीबारे जानकारी दिँदै भनेका थिए। एन्फा लिग निर्देशक सञ्जीव मिश्र पनि हरेक प्रतियोगिताको लक्ष्य उपाधि नै भएको बताउँछन्।
तर उमेर समूहमा नेपालको स्तर भने खस्कँदै गएको छ। १० दिनअघि मात्रै भुटानमा सम्पन्न आठौँ संस्करणको साफ यू–१६ च्याम्पिनसिप खेल्न जानुअघि पनि नेपालको लक्ष्य उपाधि नै थियो। चारपटकको उपविजेता नेपाली टोली यसपटक भने समूह चरणसमेत पार गर्न सकेन। भारत र पाकिस्तानसँग समान १–० गोलअन्तरले पराजित भएर घर फर्कियो।
अहिले घरेलु मैदानमा आयोजना हुँदै गरेको पाँचौँ संस्करणको साफ यू-१९ अगाडि पनि प्रवक्ता शाह र मिश्र आफ्नो युवा टोलीमाथि विश्वस्त छन्। उमेर समूहमा नेपाल जहिल्यै बलियो प्रतिस्पर्धी भएको मिश्र बताउँछन्। “यसपटक घरेलु मैदानमै प्रतियोगिता आयोजना हुन लागेको कारण पनि हामीलाई फाइदा पुग्छ,” उनी भन्छन्।
एक समय थियो, दक्षिण एशियाली उमेर समूह फुटबलमा नेपाल बलियो मानिन्थ्यो। भारत, पाकिस्तान, बंगलादेशलगायत देशका टोलीमाथि नेपाल हाबी हुन्थ्यो। त्यसबेलाको यू–१४ टोली कालान्तरमा यू-१५, १८ हुँदै यू–२३ बन्थ्यो। त्यो टोलीले कीर्गिस्तान, इराक, बहराइन, उज्वेकिस्तान र जापानजस्ता राष्ट्रका उमेर समूहको टोलीलाई पनि कडा टक्कर दिन्थ्यो।
सन् २०१८ मा भएको एशियन गेम्समा नेपालले जापानलाई १-० मा रोकेको थियो। यस्तै, सन् २०१६ मा बंगलादेशको ढाकामा भएको बंगबन्धु गोल्डकपको फाइनलमा बहराइनलाई ३–० गोलअन्तरले पराजित गर्दै नेपाली यू–२३ टोलीले २३ वर्षपछि पहिलो अन्तर्राष्ट्रिय उपाधि उचालेको थियो।
अहिले अवस्था फेरिएको छ। दक्षिण एशियामा भारत, बंगलादेश र पाकिस्तानका उमेर समूहका टोली बलियो हुँदै गए। नेपाली उमेर समूहका खेलाडी 'सिनियर' टोलीमा पुगे। यता उमेर समूहको स्तर खस्किँदै गयो। अहिले उमेर समूहका टोलीको ठूलो उपलब्धि समूह चरण पार गर्नु नै हुन थालेको छ।
यसको मुख्य कारण कमजोर घरेलु संरचना नै भएको राष्ट्रिय टोलीका पूर्वसदस्य विक्रम लामा बताउँछन्। “उमेर समूहका ती खेलाडी सिनियर टोलीमा पुग्दा हाम्रो स्तर खस्कियो र अरू राष्ट्रको उकासिँदै गयो। उनीहरूको स्तर उकासिनुको कारण व्यवस्थित संरचना नै हो,” उनी भन्छन्, “हामीले यसपटकदेखि बल्ल यू–१६ लिग थालेका छौँ। यो लिग केही वर्षअगाडि हुन्थ्यो भने हामी पनि सबै प्रतियोगितामा पहिला झैँ दाबेदार भइरहन्थ्यौँ।”
पहिला यू–१४ र १६ का फुटबल गतिविधि धेरै हुन्थ्यो। एन्फाले ‘ए’ डिभिजन लिग खेल्ने क्लबका उमेर समूहको टोली नै बनाएको थियो। तिनले यू–१४ लिग खेल्थे। माइनर्स कप, वाईवाई कपका साथै जिल्ला र अञ्चलमा समेत उमेर समूहका प्रतियोगिता हुन्थे। त्यतिबेलाका ७५ वटै जिल्लाका खेलाडी छनोट गरेर एन्फाले एकेडेमीमा राख्थ्यो। यसरी राखिएका खेलाडीलाई प्राविधिक रूपमा निरन्तर तिखार्दा टोली बलियो हुने गरेको लामा बताउँछन्।
एन्फाले अहिले त्यस्ता प्रतियोगिता सञ्चालनमा ल्याउन सकेको छैन। फुटबलको सर्वोच्च निकाय फिफा र एएफसीको ‘फन्डिङ’बाट चलिरहेको एन्फा आर्थिक समस्याकै कारण प्रतियोगिता गर्न नसक्ने अवस्थामा रहेको बताउँछ। त्यही कारण अहिले उमेर समूहका टोली बने पनि बलियो हुन नसकेको उनको भनाइ छ।
“बंगलादेशमा एकेडेमी अलिक कम छ। तर भारतले प्रान्तहरूमा एकेडेमी सञ्चालन गरेको छ। कतिपय क्लबको आफ्नै एकेडेमी छन्। अहिले भारतका खेलाडी युरोप गएर खेल्ने भइसके। खै त हामीले त्यस्तो अवसर प्राप्त गरेको?” उनी भन्छन्।
सन् २०१५ मा नेपालले घरेलु मैदानमा पहिलो संस्करणको यू–१९ साफ च्याम्पियनसिप खेल्दा एन्फा एकेडेमीका उत्पादनको बहुल्य थियो। खुला छनोटमार्फत सुशान्त लामा र तेज तामाङ मात्रै छानिएका थिए। प्रतियोगिता खेलेका विमल घर्तीमगर, अन्जन विष्ट, हेमन्त थापामगर, सुनील बल र अनन्त तामाङलगायत २१ खेलाडी एन्फाकै उत्पादन थिए। ती खेलाडीले फाइनलमा भारतविरुद्ध पेनाल्टी सुटआउटमा ५–४ गोलअन्तरको जित हासिल गर्दै उपाधि रक्षा गर्यो।
उक्त प्रतियोगितामा विमल र अन्जनले ३/३ गोल गरेका थिए। सोही प्रतियोगितालाई सन् २०१७ मा यू–१८ बनाइयो। त्यसमा पनि दिनेश हेमजन, रेजिन सुब्बा, सुमन अर्याल, अर्पण कार्की र एरिक विष्टजस्ता एन्फाबाटै उत्पादित खेलाडीको बलबुतामा नेपालले भारत र बंगलादेशलाई पराजित गर्दै दोस्रोपटक उपाधि जित्न सफल भयो। त्यसयता भने नेपाली टोलीले बलियो इतिहास जोगाउनै सकेन।
सन् २०१९ मा नेपालमै आयोजना भएको प्रतियोगिताको पहिलो खेलमा घरेलु टोली माल्दिभ्ससँग १–१ गोलको बराबरीमा रोकियो। दोस्रो खेलमा भने भुटानसँग ३–० गोलअन्तरले पराजित हुँदै समूह चरणबाटै बाहिरियो। त्यही वर्ष समूह चरण र फाइनलमा बंगलादेशलाई पराजित गर्दै उमेर समूहमा भारतको उदय भयो। सन् २०२२ मा त्यही प्रतियोगिता साफ यू–२० को नाममा सिंगल राउन्ड रोबिनको आधारमा आयोजना हुँदा नेपाल पुन: निराश भयो। विजेता र उपविजेता भारत र बंगलादेश नै भए। नेपालले बंगलादेशलाई १–१ गोलमा रोके पनि भारतसँग ८–० को लज्जास्पद हार बेहोर्न पुग्यो।
उक्त प्रतियोगितामा मुख्य प्रशिक्षक रहेका मेघराज केसी एन्फाले बलियो योजना बनाउन नसक्दा उमेर समूहको प्रदर्शन खस्किएको बताउँछन्। पहिला १०–१२ वर्षका खेलाडीहरू एन्फा एकेडेमीमा राख्ने र उनीहरूले यू–१७ टोलीमा पर्न पाँच वर्ष मिहिनेत गर्नुपर्ने कारण टिम बलियो हुने गरेको उनी बताउँछन्।
“अहिले एकेडेमीहरू राम्रोसँग सञ्चालन हुन सकेको छैन। प्रतियोगिता आउनुभन्दा १–२ महिनाअगाडि खेलाडी छनोट गरेर टिम बनाउछौँ। फरक–फरक ठाउँबाट आएका ती खेलाडीले सँगै खेल्ने अवसर नै पाउँदैनन्, एक अर्काको खेललाई बुझ्ने अवसर पनि पाउँदैनन्। त्यसैले नतिजा राम्रो आइरहेको छैनजस्तो लाग्छ,” उनी भन्छन्।
साफ यू–१९ ले उकास्ला त स्तर?
एन्फाले यसपालि पनि प्रतियोगिताको दुई महिनाअगाडिबाट मात्रै खेलाडी छनोटको प्रकृया थालेको थियो। गत वर्षजस्तै सात प्रदेश र ४८ जिल्ला फुटबल संघलाई पत्र पठाएर खेलाडी उपलब्ध गराइदिन भनेको थियो। त्यहाँबाट छनोट भएर आएका खेलाडीलाई तीन चरणमा छनौट गरेर ३५ जनालाई ‘क्याम्प’मा राखिएको थियो।
अन्तिम सूचीमा भने २३ जना राखिएको छ। यसरी छनोट भएका खेलाडीले प्रशिक्षणकै क्रममा सिनियर टोली र आर्मीको गणसँग मैत्रीपूर्ण खेल खेलेको कारण यसपटक राम्रो नतिजाको आशा रहेको मुख्य प्रशिक्षक सुनिल श्रेष्ठ बताउँछन्। “तयारी राम्रो भएको छ। हामीले ४–५ वटा मैत्रीपूर्ण खेल पनि खेलेका छौँ। त्यसैले राम्रो नतिजा ल्याउँछौँ भन्नेमा विश्वस्त छौँ,” उनी भन्छन्।
यसपटक खुल्ला छनोटमार्फत् राष्ट्रिय टोली निर्माण भए पनि राम्रो बनेको श्रेष्ठको दाबी छ। ‘ए’ डिभिजन लिगको अनुभव बटुलिसकेका गोलरक्षक जियारथ शेख र निराजन धामीसमेत टोलीमा छन्। उनीहरूले गत सिजन मनाङ मर्स्याङदीबाट लिग खेलेका थिए। शेखलाई कप्तानको जिम्मेवारी दिइएको छ। अरू खेलाडीसँग पनि ‘बी’ र ‘सी’ डिभिजन लिग खेलेको अनुभव छ।
गत वर्ष श्रीलंकाको कोलम्बोमा आयोजना भएको यू–१७ साफ च्याम्पियनसिप खेलेका गोलरक्षक रुविन बोगटीसहित डिफेन्डर सेमन्त थापा, विक्रम तामाङ, दीपक थापामगर, अश्विन घोडासैनी, निशान्त तामाङ, मिडफिल्डर लछु थापा र हरिशराज भट्टराईजस्ता प्रतिभावान खेलाडी रहेको श्रेष्ठ बताउँछन्।
प्रतियोगितामा नेपालसहित ६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्। आयोजक नेपालसहित माल्दिभ्स र पाकिस्तान समूह ‘ए’ मा छन्। अर्को समूहमा साविक विजेता भारत र उपविजेता बंगलादेशसहित भुटान छन्। दुवै समूहका शीर्ष स्थानमा रहने दुई टोली सेमिफाइनलमा पुग्ने छन्। गत वर्ष भारतको भुवनेश्वरमा भएको प्रतियोगितामा पाकिस्तान र भुटान सहभागी थिएनन्। श्रीलंका भने प्रतियोगितामा सहभागी छैन।
आयोजक भएको कारण आफ्नो टोलीलाई फाइदा पुग्ने श्रेष्ठ बताउँछन्। “प्रतियोगिताको आयोजक भएको कारण हामीलाई घरेलु दर्शकको पनि साथ मिल्छ। त्यसैले टोलीलाई ब्याकअप हुन्छ। हाम्रा खेलाडीहरूले मिहिनेत गरेको भएर राम्रो गर्छौँ,” उनी भन्छन्।
कप्तान शेख पनि यसपटक राम्रो नतिजा ल्याउनेमा विश्वस्त रहेको बताउँछन्। “सबै एक्साइटेड छन्। प्रशिक्षकलले राम्रो प्रशिक्षण गराइरहनु भएको छ। दर्शकको साथ पनि पाउने हुँदा राम्रो एड्भान्टेज पाइने छ,” उनी भन्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
