प्यालेस्टिनी आक्रमणमा परेर इजरायलमा १० जना नेपालीकाे मृत्यु भएकाे पुष्टि

इजरायलको तेलअविवस्थित नेपाली दूतावासले १० जनाको मृत्यु भएको, तीन जनाको उपचार भइरहेको र एक जनाको अवस्था अज्ञात रहेको पुष्टि गरेको हो।

काठमाडाैँ– प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणमा परेर इजरायलमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ। इजरायलको तेलअविवस्थित नेपाली दूतावासले १० जनाको मृत्यु भएको, तीन जनाको उपचार भइरहेको र एक जनाको अवस्था अज्ञात रहेको पुष्टि गरेको हो।

शनिबार बिहान आक्रमणकारीको मुख्य निशानामा परेको किबुज अलुमिम भन्ने क्षेत्रमा रहेका कृषि फार्ममा १७ जना नेपाली कृषि प्रशिक्षार्थी कार्यरत थिए। उनीहरूमध्ये तीन जना सकुशल भएको दूतावासले जनाएको छ। मृतकमध्ये अधिकांश सुदूरपश्चिम प्रदेशका रहेका छन्। 

उनीहरू सबै कृषिका प्रशिक्षार्थी हुन्। इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत उनीहरू एक महिना पहिले मात्रै इजरायल गएका थिए। 

परारष्ट्र मन्त्रालयले जनाएअनुसार उक्त ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत् नेपालबाट २६५ जना कृषिका विद्यार्थी इजरायलमा छन्। कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना कृषिका विद्यार्थी गएका छन्। आक्रमण भएकाे क्षेत्रमा सुदूरपश्चिम विश्वविद्यालयबाट गएका कृषि विद्यार्थी कार्यरत थिए।

आक्रमण भएको क्षेत्रबाट केही नेपाली तेलअविव आइपुगेका छन्। त्यस क्षेत्रमा रहेका बाँकी विद्यार्थी र श्रमिकको उद्धार गर्नको लागि इजरायलका विभिन्न निकायसँग समन्वय भइरहेको दूतावासले जनाएको छ।

दूतावासकाे विवरण यस्ताे छ: