भण्डारण गरेको चिनी बजारमा पठाउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रिजालले गरेको आग्रह उद्योगीले बेवास्ता गरेका छन्। उक्त चिनी पेय तथा जुस उद्योगलाई बेचिसकेको उद्योगीहरूको दाबी छ।
काठमाडौँ– पछिल्लो समय बजारमा देखिएको चिनीको अभावलाई नियन्त्रण गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरिरहेको प्रयासमा उद्योगीहरूले असहयोग गरेका छन्। उद्योगहरूमा भण्डार गरिएको चिनी बजारमा पुर्याउन उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री रमेश रिजालले गरेको आग्रहलाई उनीहरुले अटेर गरेका छन्।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अघिल्लो हप्ता विभिन्न उद्योग तथा व्यापारिक प्रतिष्ठानहरूको गोदाममा एक लाख ८८ हजार ५१३ क्विन्टल चिनी भण्डारण गरिएको फेला पारेको थियो। त्यसपछि उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्रीसहित सरकारका निकायले यसरी राखिएको चिनी बजारमा पुर्याउन पहल गरेका थिए। सम्बन्धित उद्योगीहरूसँगै सम्पर्क गरी चिनी बजारमा पठाउन भनिएको विभागका सूचना अधिकारी आनन्दराज पोखरेल बताउँछन्।
मन्त्री रिजालले चिनी उत्पादकहरूलाई मंगलबार आफ्नो कार्यकक्षमा बोलाएर चिनी आपूर्तिमा सघाउन आग्रह गरेका थिए। चिनी उत्पादक संघको अगुवाइमा मन्त्रालय पुगेका उद्योगीहरुले चिनी बजार पठाउने वा नपठाउनेबारे केही बताएका थिएनन्। आफुहरूले अरूलाई बेचिसकेको कारण चिनी बजारमा पठाउन असहज हुने बताएका थिए।
उद्योगीले बजारमा चिनी अभाव भएको बेला उपभोक्ताका लागि नपठाइ विभिन्न प्रकारका पेय पदार्थ तथा जुस बनाउने उद्योगका लागि चिनी भण्डारण गरेका थिए। मन्त्रीले चिनी बजारमा पठाउन आग्रह गरेपछि उद्योगीहरूले सल्लाह गरेर बुधबार १२ बजेसम्ममा जवाफ दिने बताएका थिए। तर कार्यालय समय बितिसक्दा पनि उनीहरू सम्पर्कमा नआएको मन्त्रालय स्रोतले जनाएको छ।
“मन्त्रीज्यूले खासमा आग्रह गर्दै बजारमा खुला रूपमा यतिकै चिनी पठाएर सघाउन वा पछि भपाई गर्नेगरी उपलब्ध गराइदिने दुई विकल्प प्रस्तावित गर्नु भयो,” बैठकमा सहभागी मन्त्रालयका एक अधिकारीले भने, “उद्योगीहरूले खुलस्त जवाफ नदिँदा उहाँ (मन्त्री) आक्रोशित देखिनुभयो। त्यसपछि उद्योगीले बुधबार दिउँसो १२ बजेभित्र जवाफ दिने बताएका थिए।”
उनका अनुसार मन्त्री रिजालदेखि मन्त्रालय र विभागका अधिकारीहरू चिनी आपूर्ति सहज बनाउने सवालमा तनावमा छन्। मंगलबार र बुधबार मन्त्रालयदेखि विभागसम्म चिनी आपूर्तिको विषय नै मुख्य प्राथमिकतामा परेको थियो।
मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले पनि बुधवार दिउँसो १२ बजेभित्र जवाफ दिने बताएका उद्योगहरू सम्पर्कमा नआएको बताए। “पहिलेदेखि चिनी अरू उद्योगहरूलाई दिने करार भइसकेर भण्डारण गरिएको उद्योगीहरूले बताए। मन्त्रीज्यूले असहज बेलामा सघाउन भन्नुभयो। उहाँहरू बुधबार १२ बजेभित्र आफ्नो जवाफ फर्काउने सहमति गरेर निस्किनुभएको थियो,” ठाकुरले उकालोसित भने, “उद्योगीहरू मंगलबारको छलफलपछि नकारात्मक देखिनुभएको थिएन, तर विभागले दिएको जानकारीअनुसार उहाँहरूले १२ बजे केही जवाफ दिनुभएन, अहिलेसम्म हामी पर्खेकै छौँ।”
टेलिफोन गर्दा कतिपय उद्योगीले नउठाएको र फोन उठाएकाहरूले पनि छलफल गरिरहेको बताएको विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले जानकारी दिए। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक तीर्थराज चिलुवालले उद्योगीहरूसँग समन्वय गरिरहेको बताए।
गत असोज ३ गते काठमाडौँको कुलेश्वरस्थित एउटा व्यापारिक गोदाममा फेला परेको १४ सय बोरा (७० हजार किलो) चिनी चिनी साल्ट ट्रेडिङ कर्पोरेशनबाट बिक्री शुरू भएको पोखरेलले जानकारी दिए। विभाग र काठमाडौँ जिल्ला प्रशासनको संयुक्त बजार अनुगमन टोलीले गुह्वेश्वरी ट्रेडिङको गोदाममा लेबल उल्लेख नभएको १४ सय बोरा चिनी फेला पारेको थियो।
विभागका अनुसार गुणस्तर परीक्षणमा चिनी खानयोग्य भेटिए पनि स्पष्ट रूपमा मिति आदि (लेबल) उल्लेख नभएको कसुरमा फर्मलाई ३ लाख रुपैयाँ जरिवाना गरिएको छ। उक्त चिनी सहुलियत पसलमा बिक्री गर्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्णय गरेपछि साल्ट ट्रेडिङमार्फत चिनी बिक्री हुन लागेको हो।
मन्त्रालयको निर्देशन अनुसार चिनी खरिद गरेर बिक्री शुरू गरिसकेको साल्ट ट्रेडिङका प्रवक्ता कुमार राजभण्डारीले बताए। प्रतिकिलो १०१.५० रुपैयाँ दरमा साल्ट ट्रेडिङले चिनी किनेको उनले जानकारी गराए। “उक्त चिनी हामीले खरिद गरेर प्रतिकिलो ९७ रुपैयाँको दरमा एउटा परिवारलाई दुई किलोसम्म दिने गरी बिक्री गरिरहेका छौँ,” राजभण्डारीले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
