इजरायलबाट नेपालीको उद्धार: २५४ जना काठमाडौँ आइपुगे

इजरायलबाट नेपाल फर्कन चाहने ५०३ जनामध्ये पहिलो चरणमा २५४ जना शुक्रबार बिहान काठमाडौँ आइपुगेका छन्।

काठमाडौँ– युद्धग्रस्त मुलुक इजरायलबाट २५४ जना नेपाली शुक्रबार नेपाल आइपुगेका छन्।

नेपाल वायु सेवा निगमको विमानबाट उद्धार गरी काठमाडौँ ल्याइएको हो। युद्धका कारण अलपत्र परेका उनीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउदसहित सरकारी टोली बिहीबार इजरायल गएको थियो। 

नेपाल फर्कन चाहना राखेका नागरिकलाई ल्याइएको र अन्यलाई पनि छिट्टै नेपाल ल्याइने परराष्ट्रमन्त्री साउदले बताए।

“इजरायलको तेल अभिबस्थित नेपाली राजदूतावासले सुरक्षित स्थानमा स्थानान्तरण हुन तथा नेपाल फर्कन चाहनेलाई अनलाइनमार्फत आफ्नो विवरण प्रविष्ट गर्न अनुरोध गरे बमोजिम ५५७ जनाले आफ्नो विवरण उपलब्ध गराउनुभएको छ। जसमध्ये ५०३ जनाले नेपाल फर्कन अनुरोध गर्नुभएकोमा २५४ जना स्वदेश फर्कनुभएको छ,” उनले भने।

जोखिमपूर्ण स्थानबाट स्थानान्तरण गर्न आवेदन गरेका ५४ जनालाई सुरक्षित स्थानमा सारिएको उनको भनाइ छ। यस घटनामा परी चार जना नेपाली नागरिक घाइते भएका थिए। जसमध्ये एक जना उपचारपछि स्वदेश फर्किएका छन्। अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको परराष्ट्रमन्त्री महतले बताए। “आक्रमणमा परी  सम्पर्कविहीन भएका विपिन जोशीको खोजी निरन्तर जारी छ,” उनले भने। 

इजरायलमाथि हमास समूहको आक्रमणमा परी सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका १० जना नेपाली विद्यार्थीको निधन भएको थियो। उनीहरूको शव नेपाल ल्याउन इजरायल सरकारसँग समन्वय भइरहेको उनको भनाइ छ।

“कानूनी प्रक्रिया पूरा गरी प्रत्येक शवको छुट्टाछुट्टै विवरण राख्नुपर्ने र हाल इजरायलमा शवको संख्या अत्यन्तै बढी भएकाले प्रक्रिया पूरा गरी शव हस्तान्तरणका लागि केही समय लाग्ने इजरायली पक्षले जनाएको छ,” उनले भने, “त्यसैले परिवार तथा आफन्तलाई केही समय धैर्यधारणा गर्न अनुरोध गर्छु।”

तेल अभिबबाट नियमित रूपमा व्यावसायिक हवाई उडान पनि सञ्चालन भइरहेकाले यसपटक छुटेका नेपालीलाई फर्काउन सरकारले व्यवस्था गर्ने उनको भनाइ छ।