हिरे विकको घर पुरिएपछि भाइ भद्रवीर र भतिजा हतारहतार पुगेर भग्नावशेष पन्छाउन थाले। उनीहरूले दुई छोरीको त उद्धार गरे, बाँकी चार जनाको शव मात्र निकाल्न सके। अहिले बाँचेकाको पनि गाँस र बासको टुंगो छैन।
चिउरी (जाजरकोट)– नलगाड नगरपालिका–१, चिउरीका हिरे विक (५५) भारतको हिमाचलबाट दशैँ मनाउन घर फर्किएको दुई साता मात्र भएको थियो। वर्षौंदेखि हिमाचलमा ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका थिए। दुई वर्षअघि मात्र मजदुरीको पैसाले गाउँमै दुई तलाको घर ठड्याएका थिए। तर त्यही घरमा पुरिएर उनीसहित परिवारका चार जनाले ज्यान गुमाए।
कात्तिक १७ गते गएको भूकम्पमा हिरेले ज्यालामजदुरी गरेर बनाएको घर भत्कियो। त्यसैमा परेर उनीसहित श्रीमती चन्द्रकली विक (३९), माइलो छोरा विमल (१४) र कान्छा छोरा सुनिल (१२)ले ज्यान गुमाए। ९ वर्षीया छोरी प्रेमकलीलाई भने काका भद्रवीरले भग्नावशेष उधिनेर बचाउन सफल भए।
राति भूकम्प गएको बेला हिरेका भाइ भद्रवीर तरकारीमा पानी लगाउन बारीतिर गएका थिए। अचानक जमिन हल्लिन थालेपछि उनी अक्क न बक्क भए। एकैछिनमा छरछिमेकीको कोलाहल सुने। “गाउँमा कुकाकल्लो (बेस्सरी आवाज आएको) चल्यो। परिवार चिच्याउन थाले। घर हेर्दाहेर्दै ढल्यो। पछि बच्चाबच्चीले ठूलाबुवाहरू तोपिए (पुरिए) भनेपछि हतारहतार गयौँ,” भद्रवीरले भने।
भद्रवीरको पनि घर भत्किएको छ। त्यहाँ कोही पुरिएको थिएन। उनकी छोरी रूपा भने ठूलोबुवाको घरमा सुतेकी थिइन्। भद्रवीरको घरदेखि हिरेको घर करिब ५० मिटरको दूरीमा थियो।
भद्रवीर भन्छन्, “दाइ भाउजूले आधा–एक घण्टासम्म ‘बचाउ बचाउ’ भनिरहेका थिए। माथिल्लो तलामा छोरीका खुट्टा देखिए। दुवै छोरीलाई बचाउन सफल भयौँ। दाइ भाउजू भुईं तलमा सुतेका रहेछन्, बचाउन सकिएन। लास निकाल्दा निकाल्दै बिहानको ५ बजिसकेको थियो।”
रूपा र प्रेमकलाको उद्धार गर्न उनीहरूलाई आधा घन्टा लागेको थियो। तर तल्लो तलासम्म माटो पन्छाउन पाँच घण्टा लाग्यो। एक घण्टासम्म पनि ‘माटो पन्छाउ, मलाई निकाल’ भन्ने हिरेको आवाज सुनिरहेको भद्रवीर बताउँछन्। त्यसपछि भने आवाज सुनिन बन्द भयो। “नानीहरू माथिल्लो तलामा रहेछन्, छिट्टै भेटिए। दाइहरू तल सुतेका रहेछन। एक घण्टासम्म बोलिरहेका थिए, पछि सास गइसकेछ।”
हिरेकी छोरी प्रेमकला चिउरीकै नेरा प्राविमा कक्षा ३ मा पढ्छिन्। उनी घाइते भएकी छन्। माटोमा पुरिएपछि पनि आफ्नो बुवा, दाइ र आमाले ‘बचाउ, बचाउ’ भनेको उनले सुनिरहेकी थिइन्। प्रेमकला भन्छिन्, “अंकलले दिदी र मलाई निकाल्नुभयो। पछि केही थाहा पाएनौँ। पहिला त आमा, बुवा र दाइले ‘बचाउ’ भन्नुभएको थियो।”
पुरिएकाहरूको तत्कालै उद्धार गर्न भद्रवीर र उनका छोरा अभिलालसँग कुनै औजार थिएन। हातैले भग्नावेशेष कोट्याएर प्रेमकला र रूपालाई बचाएको अभिलाल बताउँछन्। उनी भन्छन्, “पहिला रूपाको खु्ट्टा देखियो। उनलाई निकाल्न आधा घण्टा लाग्यो। ठूलोबुवा (हिरे) ‘जुवाले च्यापेको छ, तान’ भन्दै हुनुहुन्थ्यो। प्रेमकलाको केही देखिएको थिएन। पछि दुई फिटसम्म माटो तानेपछि मात्रै उनी भेटिइन्। नाकमुख सबैमा माटो थियो। माटो निकालेपछि सास आयो।”
चिउरी गाउँमा मात्र भूकम्पबाट १३ जनाले ज्यान गुमाएका छन्। सामान्य घाइतेको विवरण संकलन गरिएको छैन। वडा कार्यालयका अनुसार १५ जना गम्भीर घाइते छन्। यो गाउँका मात्र ५६ घर ध्वस्त भएका छन्। बाँकी घर पनि बस्न नमिल्ने अवस्थामा छन्।
चिउरीका स्थानीयले भर्खरै मात्र अन्नबाली भित्र्याएका थिए। अन्न सबै पुरिएको स्थानीय तिलक विक बताउँछन्। अहिले उनीहरू गहुँबारीमा खुला आकाशमुनि रात बिताइरहेका छन्। उनीहरूको पुकारा छ, ‘हे ईश्वर, पानी नआइज। पानी परेपछि त हामी बाँच्दैनौँ।’ खुला आकाशमुनि बसिरहेका तिलक भन्छन्, “कसैले पाल दिए राहत हुन्थ्यो। पानी परेपछि त बच्न मुस्किल छ। यस्तो चिसो छ।”
चिउरी गाउँमा मात्र तिलकजस्तै १६८ परिवार खुला आकाशमुनि छन्।
नलगाड–१ का वडाध्यक्ष धनबहादुर महर वडामा बजेट नभएको कारण पीडितको व्यवस्थापन गर्न कठिन भएको बताउँछन्। “चिउरीमा अहिले बस्नलाई बास छैन, खानलाई गाँस छैन। केही संघ संस्थाले आठ दशवटा पालहरू सहयोग त गरेका छन्, तर विस्थापितको संख्या ठूलो छ।”
अहिलेसम्म नलगाड–१ को चिउरीमा १३ जना, पालीमा सात र कल्पतमा पाँच गरेर २५ जनाले ज्यान गुमाएका छन्। यो वडाका सबै गाउँमा गरेर ७०० घर छन्। तीमध्ये अधिकांश क्षतिग्रस्त भएको महर बताउँछन्।
चिउरी गाउँमा मृत्यु भएका १३ जनाको आइतबार भेरी नदीमा एकैपटक अन्त्येष्टि गरिएको थियो। वडाध्यक्ष महरका अनुसार शव व्यवस्थापन र उद्धारमा दुई दिन बितिसकेको छ। त्यसमा समय लागेको कारण घर भत्किएकालाई बास व्यवस्थापन गर्न नपाएको उनको भनाइ छ।
“आज (सोमबार)बाट कतै हारगुहार गरेर बास व्यवस्थापन गर्न लाग्ने छौँ। अहिले खानेकुराको मुख्य आवश्यकता छ। राहत कतैबाट आएको छैन। धानबाली उब्जाउ गरेका थियौँ। तर घरभित्रै पुरियो। त्यसले गर्दा समस्या निम्तिएको छ,” वडाध्यक्ष महरले भने।
भूकम्पपीडितका लागि एक संस्थाले १०० बोरा चामल, १०० पिस ब्लाङ्केटलगायत खाद्यान्न सहयोग गरेको छ। दाङको लमही बजारका आठ जना युवा व्यवसायीले पनि सोमबार चामल र तरकारी सहयोग गरेका छन्। अहिलेसम्म सहयोगीले दिएको राहतले ज्यान बचाए पनि अब के खाने भन्ने संकट शुरू भएको स्थानीयको गुनासो छ।
अर्को एक गैरसरकारी संस्थाले मृतकका सात परिवारलाई त्रिपाल र केही खाद्यान्न दिएको छ। तर राज्यपक्षबाट कुनै राहत तथा उद्धार नभएको चिउरीवासी बताउँछन्।
नलगाड–१ मा भूकम्पले कमजोर बनाएका घर भत्किने क्रम अझै रोकिएको छैन। आइतबार पनि दुई वटा घर भत्किएको वडाध्यक्ष महरले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
