बच्चाको जीवन सृष्टि गर्न आमा र बाबुको बराबर भूमिका भएता पनि बाबुले सघाउन मिल्ने बच्चाको स्याहारसुसार र हुर्काइमा समेत लगभग एकल जिम्मेवारी आमाले नै लिएकी हुन्छिन्।
शुरूमा एउटा सान्दर्भिक शब्दचित्र राखिहालौँ। “छोरी भए पनि छोरा भए पनि चार चार वटा भइसके, मलाई त पुग्यो। तर मैले भनेर हुन्न, उहाँले मान्नुहुन्न, फेरि बच्चा बसेको छ,” पाँचौँ बच्चा कोखमा अनि आठ महिनाकी चौथो छोरी काखमा च्यापेकी विष्णुदेवीले मसिनो स्वरमा श्रीमान्तिर हेर्दै भनिन्। तराईको मध्यजाडोमा बिहानको एघार बजिरहँदा कुहिरोले छोपेको घाम बिस्तारै बाहिर निस्किँदै थियो। तर विष्णुदेवीको इच्छामाथि मडारिँदै गरेको कुहिरो उनको अनुहारमा प्रष्ट देख्न सकिन्थ्यो।
आँगनमा घुरको आगो तापिरहेका विष्णुदेवीका श्रीमान् उनको दायाँतिर बसेका थिए। यसो अनुहार नियाल्नासाथ उनले मुस्कानसहित सजिलै भने, “एउटा पनि छोरा भएन भने मर्द कसरी भइन्छ? गाउँटोलमा कसरी मुख देखाउने?” उनले यसो भनिरहँदा आडैमा रहेकी साहिँली छोरीको नाकमा सिंगान लतपतिएको देखे र श्रीमती विष्णुदेवीलाई इशारा गरेर सिंगान पुछिदिन भने। काखमा बच्चा च्यापिरहेकी विष्णुदेवी अलि परबाट उठेर गई छोरीको सिंगान पुछिदिइन्। खेल्दै खेल्दै अलि पर पुगेकी छोरीलाई उठेकै मौकामा बाहिरबाट फेरि एकसरो न्यानो लुगा थपिदिइन्। उनका श्रीमान् भने त्यसबेला आगोको घुर अगाडि मुढामा बसेर लट्ठीले छेउको खरानी खोस्रिइरहेका थिए।
दुई वर्षअघि कामको सिलसिलमा नवलपुर जिल्लाको एउटा गाउँमा भेटिएकी विष्णुदेवीलाई म अझै पनि बेलाबेला सम्झिन्छु। केही महिना अगाडि एउटा अन्तरक्रिया कार्यक्रममा भाग लिइरहेका बेला मैले उनलाई फेरि पनि सम्झिएँ। प्राथमिक बाल विकास कार्यक्रमअन्तर्गत आयोजना गरिएको त्यस अन्तरक्रियाको एउटा सत्रमा बालबालिका हुर्काउनका लागि बुवाको भूमिका किन महत्वपूर्ण छ भन्ने विषयमा सम्बन्धित विज्ञबाट छलफल हुँदै थियो।
ठीक त्यही बेला म भने सोचिरहेकी थिएँ– विष्णुदेवीले फेरि अर्को सन्तानलाई जन्म दिइसकेकी होलिन्। छोरा पाएको भए उनको गर्भवती हुने क्रम रोकियो होला। पाँचौँ सन्तान पनि छोरी नै भएको भए त उनका श्रीमान्ले फेरि ‘मर्द’ हुने अर्को कोसिस गरे होलान् र यतिबेला छैटौँ बच्चा पेटमा बोकेर उनी भातभान्सा, करेसाबारी आदि सबै जिम्मेवारी आफ्नै काँधमा बोकेर दिनचर्या कटाइरहेकी होलिन्।
बालबालिका हुर्काउनका लागि हाम्रो समाजमा आमाले मात्र जिम्मेवारी लिने गरेको परिप्रेक्ष्यमा बुवाहरूलाई पनि जिम्मेवारी बोध गराउनु त्यस छलफल कार्यक्रमको उद्देश्य थियो। हुन पनि हाम्रो घरपरिवार, छरछिमेक र समाजमा बच्चा हुर्काउन जसरी आमा खटिन्छिन्, त्यति परिवारका अरू कोही पनि खटिँदैनन्। बच्चाको जीवन सृष्टि गर्न आमा र बुवाको बराबर भूमिका भएता पनि प्रकृतिवत् नै बाँड्न नमिल्ने नौ महिना लामो गर्भावस्था र जन्माउनेदेखि बाबुले सघाउन मिल्ने बच्चाको स्याहारसुसार र हुर्काइमा समेत लगभग एकल जिम्मेवारी आमाले नै लिनुपरेको छ।
सबै परिवारमा यस्तै हुन्छ भन्न खोजिएको पक्कै होइन। हिजोआज बालबालिका हुर्काउन आमासँग बराबर खटिने बुवाहरू पनि छन्। तर बहुसंख्यक नेपाली परिवारको कुरा गर्दा बालबच्चाको खानपानदेखि दिसापिसाब व्यवस्थापन, शारीरिक सुरक्षा, सरसफाइ र भावनात्मक साथसम्मका सम्पूर्ण जिम्मेवारीमा आमा नै खटिने गरेको हामीले देख्दै, सुन्दै र भोग्दै आएका छौँ। बिस्तारै केही प्रगतिशील चिन्तन भएका बुवाहरूको संख्या बढ्दै गरेको भए पनि अधिकांशतः बालबच्चाको हुर्काइ आमाकै अभिभारा बनिरहेको यथार्थ अझै केही दशकसम्म कायमै रहने देखिन्छ।
बुवा र आमाको बराबर माया, ‘अटेन्सन’ र समयका साथ हुर्किन पाउनु बालबालिकाको नैसर्गिक अधिकार हो। यसले उनीहरूको समग्र विकासलाई फाइदा पुर्याउने कुरामा शंका छैन। फाटफुट रूपमा हुन थालेका अभिभावक सचेतना कार्यक्रममा बुवा र आमाले सँगै मिलेर हुर्काएका बालबालिका र आमा वा बुवाले मात्र हुर्काएका बालबालिकाको मानसिक स्वास्थ्य, सामाजिक स्वास्थ्य र समग्र विकासक्रमलाई दाँजेर छलफल चलाइन्छ जसबाट बालबालिका हुर्काउने काममा बुवाको भूमिकाको महत्व प्रष्टसँग प्रकाशमा आउँछ।
हुन पनि बच्चा हुर्काउने क्रममा बुवाको अनुपस्थितिले बच्चाको संवेगात्मक र व्यक्तित्व विकासमा नकारात्मक असर गर्ने गरेको नतिजा विभिन्न अध्ययन–अनुसन्धानले देखाएका छन्। त्यति हुँदाहुँदै पनि बहुसंख्यक परिवारमा बुवाहरू भएर पनि बालबालिका हुर्काउने काममा उनीहरू पूर्णतः अनुपस्थित रहने गरेको सन्दर्भमा त्यस्ता बुवाहरूलाई झक्झक्याउने र समुदायस्तरमा आम सचेतना ल्याउने कार्यक्रम शहरदेखि गाउँबस्तीसम्म पुग्नु अत्यावश्यक छ।
अध्ययन–अनुसन्धानले देखाएका नतिजा
अमेरिकी जनसंख्या ब्युरोका अनुसार त्यहाँ प्रत्येक चारमा एक अर्थात् १ करोड ८४ लाख बालबालिका आफ्नै जन्मदाता वा बाबुको भूमिकामा रहने अन्य कुनै पनि पुरुष अभिभावकको उपस्थितिबिनै हुर्किन बाध्य छन्। यही कारणले भोग्नुपर्ने सामाजिक संकटलाई त्यहाँ ‘फादर फ्याक्टर’का रूपमा व्याख्या गर्ने गरिएको छ। सन् १९६० देखि २०२१ सम्मका बालबालिकाको जीवनस्तरबारे केन्द्रीय जनसंख्या ब्युरोले राखेका अभिलेखहरूको विश्लेषण गरी निकालिएको तथ्यांकले त्यसरी बढेका बालबालिकाको जीवनमा विभिन्न १० किसिमका नकारात्मक प्रभावहरू देखिएका छन्।
त्यस्ता बालबालिकाहरू वयस्क जीवनमा पुगेपछि पनि बाबुको साथमा बाल्यकाल बिताएका बालबालिकाभन्दा चार गुणा बढी गरिबीको चपेटामा पर्छन्। बालिकाहरू छन् भने उनीहरूमा किशोरावस्थामै गर्भवती हुने जोखिम अन्यलाई भन्दा सात गुणा बढी हुने देखिएको छ। यस्तै, शिशु अवस्थामै ज्यान जान सक्ने खतरा र विद्यालयबाट निस्काशनमा पर्ने जोखिम पनि बाबुको हेरचाह नपाई हुर्केका बालबालिकालाई अन्यको तुलनामा दुई गुणा बढी हुन्छ। त्यस्ता बालबालिकामा समाजको दुर्व्यवहार वा बेवास्ता, मदिरा तथा लागू औषधको लत, आपराधिक क्रियाकलापमा संलग्नतालगायत अन्य घातक संकटहरूको सामना गर्दै जीवनको भविष्यतर्फ डोरिनुपर्ने चुनौती रहेको अमेरिकी जनसंख्या ब्युरोको निष्कर्ष छ।
विश्वव्यापी रूपमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था ‘इक्विमुन्डो’ले विस्तृत सर्वेक्षणपछि निकालेको रिपोर्ट ‘स्टेट अफ द वर्ल्डस् फादर २०२३’ का अनुसार विगतको तुलनामा हेरचाहको काममा बुवाहरूको संलग्नता अलिकति बढेको छ। तर अझै पनि घर सरसफाइ, बालबालिकाको भौतिक एवं संवेगात्मक स्याहार, खाना पकाउनेजस्ता हेरचाहजन्य काममा उल्लेख्य रूपमा महिलाहरू नै खटिनुपरेको सर्वेक्षणले देखाएको छ। आम्दानी नदिने र कामका रूपमा पनि गणना नहुने सबै खालका घरायसी धन्दामा बाबुको तुलनामा आमाले तीनदेखि सात गुणासम्म बढी समय दिनुपरेको विश्वव्यापी तथ्य स्मरण गर्दै उक्त अध्ययनले केही सूचकहरूलाई आधार बनाई विभिन्न १७ देशका बाबुहरूको मनोविज्ञान अध्ययन गरेको थियो।
अध्ययनमा समेटिएका देशहरूमा बस्ने ७० देखि ९० प्रतिशत बाबुहरूले बच्चाको हेरचाहमा आफ्नो भूमिका आवश्यक छ भन्ने कुरामा सहमति जनाएका थिए। सर्वेक्षण गरिएका देशहरूमा नेपाल समेटिएको थिएन। तर नेपालसँग धेरै हदसम्म सामाजिक–सांस्कृतिक विशेषताहरू मिल्ने छिमेकी देश भारत त्यसमा परेको थियो। चाखलाग्दो नतिजा के छ भने ७५ प्रतिशत भारतीय बाबुहरूले आफ्ना सन्तान स्याहार्नेलगायत आम्दानी नहुने घरायसी काममा श्रीमतीलाई साथ दिनु जरुरी नठानेको पाइयो। यस्तो नतिजालाई अध्ययन प्रतिवेदनमा ‘अपवाद’ भनी टिप्पणी गरिएको छ। मध्यपूर्वको लेबनान तथा युरोप र एशिया दुवैतर्फ पर्ने टर्कीएको अवस्था पनि भारतको भन्दा धेरै भिन्न नरहेको सर्वेक्षणले देखाएको छ।
सर्वेक्षणमा आधारित भई बालबच्चा स्याहार्ने पारिवारिक जिम्मेवारीमा बाबुले बराबर उत्तरदायित्व लिएका देशहरूको सूचीकरण गरिएमा नेपालको स्थान कहाँ पर्ला? निश्चय नै भारतजस्तै अर्को अपवादमा सीमित हुने नेपाली समाजको मनोदशा जगजाहेर नै छ। यहाँ चर्चा गरिएको सर्वेक्षणको विश्वसनीयतामाथि शंका गर्ने ठाउँ छैन। किनभने लैंगिक समानतासम्बन्धी विश्वव्यापी अभियानमा सक्रिय संयुक्त राष्ट्रसंघको निकाय ‘यूएन वुमन’बाट समेत मान्यताप्राप्त सर्वेक्षण हो ‘स्टेट अफ द वर्लडस् फादर २०२३’ जसको ताजा नतिजाले देखाएको अर्को विचारणीय पक्ष पनि छ।
बच्चा हुर्काइरहेका ७० देखि ९० प्रतिशतसम्म बाबुहरू आफ्ना श्रीमती/महिला पार्टनरलाई साथ दिन तयार रहेका अमेरिका, क्यानडा, अस्ट्रेलिया, स्विडेन, नर्वे लगायतका विकसित देशहरू सम्मिलित औसत तथ्यांकमा पनि बच्चाको शारीरिक हेरचाह र भावनात्मक साथमा बाबुको तुलनामा आमाको कार्यबोझ क्रमशः १.३२ र १.२६ गुणा बढी रहेको देखियो। आफूले जन्माएका बालबच्चाको स्याहारसुसारमा आमाले दिएबराबरको समय छुट्ट्याउने बाबुहरू भएको अपवादमा भने अहिलेसम्म संसारका कुनै पनि देश पर्न सकेका छैनन्।
अमेरिका, अर्जेन्टिना, पोर्चुगल र लेबनानमा नवजात शिशुको हेरचाहका लागि बाबुआमा दुवैले कामकाजबाट पाउने विदा अवधि बढाउनुपर्छ भन्ने पक्षमा आमाहरूभन्दा बाबुहरूको संख्या अधिक देखियो। विस्तृत सर्वेक्षण गरिएका अरू १३ देशमा यस्तो नीतिगत व्यवस्थाको वकालत गर्नेमा पनि आमाहरूकै बाहुल्य देखियो। यसमा पनि १७ देशमध्ये सबैभन्दा कम ५७ प्रतिशत बाबुहरू मात्र त्यस्तो फेरबदलको पक्षमा रहेको देश भारत नै रह्यो, जुन मनोविज्ञानलाई नेपाललगायत दक्षिण एशियाको प्रतिनिधित्व गर्ने अभिमत मान्न सकिन्छ।
यस्ता अनुसन्धानका नतिजाबाट पाठ सिकेर लैंगिक समानतामूलक समाजव्यवस्था बसाल्न हामी कति पछाडि छौँ भन्ने दृष्टान्तका लागि केही पुराना नतिजा पनि नियालौँ। स्टोल्जले ६५ वर्षअघि सन् १९५८ मै गरेको मनोवैज्ञानिक अनुसन्धानबाट बाबुको अनुपस्थितिमा हुर्कंदै गरेका चारदेखि आठ वर्षबीचका बालबालिकामा चिन्तारोग (एन्जाइटी) को मात्रा बढी देखिएको थियो। त्यस्तै, हफम्यानले सात कक्षामा पढ्दै गरेका बालकहरूबीचको अध्ययनबाट सन् १९७१ मा पत्ता लगाएअनुसार बाबुको उपस्थिति पाएकामा भन्दा नपाएका बालकहरू नैतिक व्यवहारको परीक्षामा निरन्तर कमजोर देखिएका थिए।
परिवारमा बाबुको उपस्थिति नभएर वा सँगै बसे पनि प्रत्यक्ष रेखदेखमा बाबुको सहभागिता नपाएर हुर्कन बाध्य बालबालिकाको संज्ञानात्मक उपलब्धिको दायरा बाबुको साथ पाएका बालबालिकाको तुलनामा चिन्ताजनक रूपले खुम्चिने तथ्य त सन् १९३० मै सदरल्यान्ड नाम गरेकी बालमनोविज्ञानकी अध्येताले पत्ता लगाएकी थिइन्।
धेरै प्राज्ञिक अध्येताहरूले आधिकारिकता दिएका यी अनुसन्धानका नतिजाहरूलाई अमेरिकी अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट सन् १९८८ मा विद्यावारिधि गरेका थोमस एम ग्रान्टले त्यससम्बन्धी आफ्नो शोधग्रन्थमा समेटेका छन्। कमजोर मनोबल, अन्तरव्यक्ति सम्बन्धमा रिक्तता, सिकाइ क्षमतामा ह्रास, पछि गएर पारिवारिक सन्तुलनको भूमिकामा असफलताजस्ता मनोवैज्ञानिक संकट बाबुको सामिप्यबिना हुर्केका बालबालिकाको जीवनमा आइपर्ने नकारात्मक प्रभावहरू हुन् भनी उनले निष्कर्ष दिएका छन्।
आमाको योगदानको मूल्य
हिजोआज विभिन्न कारण एक्लै बच्चा हुर्काइरहेका अभिभावकको संख्या बढिरहेको छ। हाम्रो सन्दर्भमा वैदेशिक रोजगार वा देशभित्रै पनि रोजगारीका लागि अलग बस्नुपरेको कारण होस् वा बुवा या आमामध्ये एकजना अभिभावकको मृत्यु भएर होस्, यस्तो प्रवृत्तिमा निरन्तर तीव्रता आएको छ। त्यसबाहेक सम्बन्धविच्छेद भएर वा सँगै रहे पनि जिम्मेवारी लिनै नचाहने विष्णुदेवीका श्रीमान्जस्ता ‘पार्टनर’का कारण पनि एउटा अभिभावकको पूरै अनुपस्थितिमा बालबालिका हुर्काउने अभ्यास बढ्दो छ। त्यसरी एकल अभिभावकत्वको अभ्यास गरिरहेकामध्ये बहुसंख्यक महिलाहरू नै छन्।
बालबालिका हुर्काउनका लागि परिवारमै रहेर पनि जिम्मेवारी नलिने बाबुहरूलाई जिम्मेवारी बोध गराउने उद्देश्य राखेर वकालत गर्दै गर्दा हामीले अन्जानमै एकल अभिभावकत्वको अभ्यास गरिरहेका आमाहरूको अथक प्रयासलाई ओझेलमा भने पार्नु हुँदैन। एकल आमा मात्र होइन, दुवै अभिभावक सँगै भएको अवस्थामा पनि धेरैजसो हेरचाहको काममा एक्लै खटिने आमाहरूको त्याग नेपाली समाजमा अतुलनीय छ। समान भूमिका लिनुपर्ने अर्को अभिभावकको भौतिक उपस्थिति भएर पनि भावनात्मक अनुपस्थितिका बीच बच्चाको हेरचाहमा अहोरात्र खटिन बाध्य त्यस्ता आमाहरूले काखका सन्तानसँगै आफूमा आँट र आत्मबलसमेत हुर्काइरहेका हुन्छन्। तमाम आमाहरूलाई सलाम!
उपाध्याय प्लान इन्टरनेसनल नेपालमा परियोजना व्यवस्थापकका रूपमा कार्यरत छिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
