अंग्रेजी लवजको मधुरो बोलीमा पुतलीसँग सम्बन्धित सारा जिज्ञासा मेटाइदिने पुतली बाजे अब कहिल्यै भेटिने छैनन्। आफ्नै खोजअनुसन्धानले पुतली बाजेलाई नेपाल र नेपालीमाझ शताब्दीयौँसम्म जीवित राखिरहने छन्।
पोखरा– शिरमा चुच्चो पारेको ढाका टोपीसँगै नीलो सर्ट र खैरो पाइन्ट लगाएका। दाह्रीकपाल सेतै फुलेका, अग्लो कदका। एक हातमा झोला झुण्ड्याएर अर्कोमा लौरी टेकेका ती व्यक्ति पोखरा नदीपुर, आसपासमा टहलिँदै गरेका देखिन्थे। केही महिनायता भने उनी देखिन छाडे। सँधैँ देखिरहेका उनी एकाएक दृश्यबाट हराएपछि सोधीखोजी गर्दा थाहा भयो– उनी अर्थात् ‘पुतलीबाजे’ त पोखरा महानगरपालिका–१५ स्थित हरियोखर्क अस्पतालमा मृत्युसँग पौँठेजोरी खेलिरहेका रहेछन्।
हिमालखबर डटकमले गत जेठ ३० गते खबर छापेको थियो– बिर्सिइएका ‘पुतली बाजे’ जसले नेपाललाई नै घर बनाए। त्यो समाचार सरसर्ति पढेँ। त्यसपछि उनको स्वास्थ्य अवस्था बुझ्न जाने सोँच बनाएको थिएँ। तर जान्छु भन्दाभन्दै समय घर्किसकेछ।
पोखराका मेयर धनराज आचार्यले कात्तिक १८ गते शनिबार नमिठो खबर सामाजिक सञ्जालमा साझा गरे, “पोखरा अनि आसपासका क्षेत्रमा पुतली बाजेको नामबाट परिचित कोलिन स्मिथको ८७ वर्षको उमेरमा आज बिहान दुःखद् निधन भएको छ। उहाँको पर्यावरण तथा विशेष गरी पुतलीको अध्ययन र अनुसन्धानमा अविस्मरणीय योगदान रहेको छ। शोकको यस घडीमा मानार्थ नेपाली नागरिकता प्राप्त गर्नुभएका प्रिय पुतली बाजेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।”
नरमाइलो लागे पनि पत्याउनै पर्ने त्यो खबरसँगै सामाजिक सञ्जालमा दिंवगत पुतली बाजेलाई श्रद्धाञ्जलीको ओइरो लाग्न थाल्यो।

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि लामो ‘स्ट्याटस’ लेख्दै श्रद्धाञ्जली दिए। उनले पुतली बाजेको सम्झना यसरी गरेका छन्– “मेरा आदरणीय गुरु तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त पुतलीविज्ञ कोलिन स्मिथ, जसलाई स्नेहभावका साथ ‘पुतलीबाजे’ भनिन्थ्यो, उहाँको पोखरामा भएको निधनबाट निःशब्द छु।
केही वर्ष पहिले पोखरामा उहाँसँग भेट हुँदा मैले सोधेको थिएँ– तपाईंलाई के इच्छा छ सर, मैले के गर्न सक्छु?
उहाँले शान्तभावमा भन्नुभएको थियो– ‘म नेपालमै मर्न चाहन्छु। तर नेपाली नागरिक भएर मर्न चाहन्छु।’
५० वर्षभन्दा बढी नेपालमै बसेर त्यत्रो अन्तर्राष्ट्रिय स्तरको वैज्ञानिक खोजअनुसन्धान गर्ने व्यक्तित्वलाई पनि नागरिकता दिन हिच्किचाउने हाम्रो सोँच र विधिविधानप्रति मलाई निकै लज्जाबोध भयो। मैलेसमेत उच्चतहमा रोईकराई गरेपछि उहाँले मानार्थ नेपाली नागरिकता पाउनुभएको थियो।
मलाई बाल्यकालको सम्झना छ। हामी गोरखाको अमरज्योति हाईस्कूलमा सायद पाँच कक्षामा पढ्थ्यौँ। उहाँ हामीलाई विज्ञान पढाउनुहुन्थ्यो। समय मिल्यो कि पुतली समाउने जाली बोकेर छेउको जंगल चहार्नुहुन्थ्यो। कहिलेकाहीँ त कक्षाकोठाको झ्यालबाट बाहिर पुतली देख्यो कि “ऊ.. ऊ.. पत्ताली” भन्दै कक्षा छोडेर कुद्नुहुन्थ्यो। हामी केटाकेटी मज्जाले हाँस्थ्यौँ! उहाँप्रति हार्दिक श्रद्धासुमन!”
पुतली बाजे अब मृत्युको भइसके।

पूरै जीवन नेपाल र नेपालका पुतलीलाई सुम्पेका उनको नेपाली नागरिक भएर सेतीको खोँचमा अस्ताउने अन्तिम रहर थियो। लामो संघर्षपछि २०७६ सालमा मानार्थ नेपाली नागरिकता प्राप्त गरेका पुतली बाजेको कात्तिक २० गते पोखरामा सम्मानसाथ अन्त्येष्टि गरियो।
कसरी रह्यो पुतली बाजे नाम?
उनको नाम त्यो होइन जुन नामले मानिसहरू चिन्ने गर्थे। नेपालीले चिन्ने नाम पुतली बाजे भए पनि उनको आधिकारिक नाम कोलिन फिलिप स्मिथ हो। सन् १९३६ मा बेलायतको सुविधासम्पन्न शहर लन्डनमा जन्मेका स्मिथले पूरै जिन्दगी नेपाली बनेर नेपालमै बिताउन रुचाए। उनले केही अन्तर्वार्तामा भनेका रहेछन्– नेपाली मान्छेको माया र सद्भावले मलाई नेपाल मन परेको हो। त्यसैले म नेपालमै बसेको हुँ।
जेसुकै कारणले होस्, पुतली बाजेले पुतलीको खोजअनुसन्धानबाट नेपाल र नेपालीलाई जुन योगदान दिएका छन् त्यो अतुल्य छ र स्तुत्य छ। उनको योगदानले नेपाललाई पुतलीको खोजअन्वेषणमा निकै परसम्मको गोरेटो बनाइदिएको छ।
यसरी पुतली खोजअनुसन्धानको कहिल्यै नमेटिने बिम्ब बनेका पुतली बाजेको नेपाली नामकरण कसले गरिदियो होला?
सायद उनको पुतलीमोह देखेर कसैले ख्यालख्यालमै नाम राखिदिएको थियो होला! कालान्तरमा यही नाम उनको नेपाल र यहाँका पुतलीप्रतिको अगाध प्रेम झल्काउने बिम्ब बन्न पुग्यो।
बीबीसीसँगको एक वार्तामा उनले ‘पुतली बाजे’को उपमा ब्रिटेन छँदा नै पाइसकेको बताएका रहेछन्। नेपालीले ‘पुतली बाजे’ सम्बोधन गरेर बोलाउँदा उनी खुशी मान्थे। बीबीसीका वार्ताकारलाई बताएअनुसार यो नामसँग उनको कुनै दुश्मनी थिएन। खासमा उनलाई यो नाम जँचेको थियो।

पुतली बाजेको नामजस्तै उनको पहिरनको पनि अलग्गै मानक थियो। पातलो शरीर, नीलो सर्ट, हल्का खैरो रङको पाइन्ट, शिरमा चुच्चो पारेर लगाइएको ढाका टोपी।
प्रायः हातेझोला बोकी हिँड्ने पुतली बाजे कोही केटाकेटी देख्यो कि पोस्टकार्ड झिकेर दिन्थे। पुतलीका चित्र भएका पोस्टकार्ड बोकी हिँड्ने र त्यही उपहार दिने गर्थे। सधैँ पुतलीको खोजमा लीन हुने भएकाले नै उनको नेपाली नाम पुतली बाजे रहेको अनुमान गर्छन् उनलाई नजिकबाट जानेकाहरू।
पुतलीको खोजमा पूरै जिन्दगी
लन्डनजस्तो सुविधासम्पन्न शहरमा जन्मेका कोलिन स्मिथ चाहेको भए उच्चतम सुखसयलमा जिन्दगी बिताउन सक्थे। अनेक बाधा, व्यवधानसँग जुँध्दै पुतलीको खोजमा निमग्न उनले चाहेजति खुशी यसमै पाएका थिए सायद।
२०२३ सालमा ‘युनाइटेड मिसन टु नेपाल’ (युएमएन) बाट नेपाल आएका कोलिनले गोरखा, पोखरा र काठमाडौँका स्कुलमा केही समय शिक्षकका रूपमा बिताए। गुणस्तरीय शिक्षा दिने विद्यालयको ख्याति कमाएको गण्डकी बोर्डिङ स्कूल पोखरामा गणित र विज्ञान विषय पढाए। गोरखाको लुइँटेल स्कूलमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र दिवंगत न्युरोसर्जन उपेन्द्र देवकोटालाई विद्यालय तहमा दीक्षित बनाए।
पूर्वप्रधानमन्त्री भट्टराईले भनेझैँ पुतलीको खोजविनमा उनीभित्र साँच्चिकै ‘पागलपन’ थियो। समय मिल्यो कि पुतली खोज्न निस्किन्थे। कक्षामा पढाउँदापढाउँदै बाहिर पुतली उडेको देखेमा त्यसकै पछि दगुर्थे। पुतलीको खोजमा आफ्नो रुचि लन्डन छँदैमा बढेको उनले अन्तर्वार्ताहरूमा बताएका छन्।
पृथ्वीनारायण (पीएन) क्याम्पस पोखराकी प्राध्यापक डोरथीलाई भेटिसकेपछि अझ बढी पुतलीको खोजमा तल्लीन भएका थिए कोलिन। २०३१ सालपछि त उनको जीवन पूरै पुतलीको खोजमा समर्पित भयो। त्यसक्रममा उनले नेपालका ४० भन्दा बढी जिल्ला घुमेका थिए।
पीएन क्याम्पसभित्रै छ, अन्नपूर्ण प्राकृतिक इतिहास संग्रहालय। त्यहाँ पुतलीका विभिन्न प्रजाति संकलन गरेर राखिएको छ। कोलिन स्मिथले विभिन्न समयमा जम्मा पारेका पुतलीहरू हेर्न स्वदेशी–विदेशी पर्यटक त्यहाँ पुग्ने गर्छन्।
विश्वभर पाइने पुतलीका करिब १७ हजार ५०० प्रजातिमध्ये ६६० प्रजातिका पुतली नेपालमा पाइन्छन्। तीमध्ये २० प्रजातिका पुतली लोपोन्मुख अवस्थामा छन्। २०२५ सालमा स्मिथले पत्ता लगाएका Autumn Leaf (Doleschallia bisaltide) र Blackvein Sergeant (Athyma ranga) पुतली नेपालमा पहिलो पटक भेटिएका पुतलीका रूपमा दर्ता भएका थिए।
पुतलीको खोजअनुसन्धान सँगसँगै प्राज्ञिक लेखनमा पनि सक्रिय थिए स्मिथ। उनले लेखेको पुस्तिका “बटरफ्लाइज अफ नेपाल” लगायत विभिन्न जर्नलमा उनका थुप्रै लेख प्रकाशित छन्।
यसरी पूरै जिन्दगी पुतलीको खोजमा बिताएका पुतली बाजे जिन्दगीको उत्तरार्द्धतिर ठूलो आर्थिक संकटको चपेटामा परेका थिए। पछिल्लो समय उनले संयुृक्त अधिराज्य बेलायतबाट आउने मासिक १७५ युरो पेन्सन र मानार्थ नेपाली नागरिक भए बापतको चार हजार रुपैयाँ वृद्धभत्ता पाउँथे। यसबाटै उनको गुजारा चलेको थियो।
पोखरा–१८, ग्यारजातिमा ३६ वर्षदेखि आफूसँगै रहेका सहयोगी मीनबहादुर परियारको नाममा जग्गा किनेर सानो घर बनाएका पुतली बाजे केही महिनायता अस्पतालको शय्यामा थिए। उनलाई निको बनाएर घर फर्काउने दृढता परियारमा थियो। तर बिडम्बना, स्मिथ निको भएर घर फर्कन सकेनन्।
आफन्त, परिवार, साथीभाइ, देश सबथोक त्यागेर नेपाल र नेपालीको लागि पूरै जीवन सुम्पेका पुतली बाजे आम नेपालीका लागि श्रद्धाका पात्र बनेका छन्। बिरामीले थलिएर अस्पतालको शय्यामा लडेका स्मिथले पत्रकार कुन्द दीक्षितसँगको वार्तामा गत साल आफ्नो भाइका दुई छोरालाई भेट्ने इच्छा व्यक्त गरेका रहेछन्।
पुरानो सम्बन्धको गाँठो खुकुलो पार्दै नयाँ सम्बन्ध बनाउन नेपाल आइपुगेका उनको इच्छा अन्ततः अधुरै रह्यो।
पुतली बाजेले दिएको पोस्टकार्ड!
स्मृतिको गर्तमा अडिएर बसेका मिठा सम्झनाहरू समय बित्दै जाँदा धमिला हुँदै जाँदा रहेछन्। यो त्यही सम्झना हो। नदीपुरबाट पीएन क्याम्पस जाने ओरालो झर्दै गरेका, नीलो सर्ट, शिरमा चुच्चे ढाका टोपी लगाएका, कपाल सेतै फुलेका, हातमा ब्याग झुण्ड्याएर लौरीको सहाराले बिस्तारै पाइला चाल्दै गरेका कोलिन फिलिप स्मिथ अर्थात् पुतली बाजेको पहिलो झलक म धमिलो सम्झिन्छु।

साथी विकास रोका र म क्याम्पसबाट पैदलै फर्किंदै थियौँ। त्यही बेला पुतली बाजे हाम्रो नजरमा परेका थिए। टेलिभिजन, पत्रपत्रिकामा आक्कलझुक्कल देखा पर्ने उनलाई पहिलोपटक साक्षात् देख्न पाउँदा मन फुरुंग भएको थियो।
भर्खर रिर्पोटिङ शुरू गर्दै गरेका हामीले केही वार्ता पनि गर्ने हेतुले पुतली बाजेलाई उनको गन्तव्यसम्म पछ्यायाौँ।
२०७५ सालको असार, साउनतिर होला। क्याम्पस हाताभित्र स्थापना गरिएको ‘अन्नपूर्ण नेचुरल हिस्ट्री म्युजियम’ छिरेपछि पुतली बाजे म्युजियमका सबै कोठा चहार्न लागे। हामी उनलाई पछ्याइरहेका थियौँ। आफ्नै लयमा व्यस्त उनको ध्यान हामीले भंग गर्न चाहेनौँ, तर पनि पछि लागिरह्यौँ।
केही बेरपछि ब्यागबाट पुतलीका पोस्ट्कार्ड झिकेर तेर्स्याउँदै उनले हामीलाई लिन भने। हामीले समाएको रंगीन पोस्टकार्डमा पुतली र त्यसको प्रजातिबारे जानकारी पनि लेखिएको थियो। फोटोको छेउमा लेखिएको थियो– कोलिन फिलिप स्मिथ।
पोस्ट्कार्ड पाइसकेपछि केही जिज्ञासा राख्यौँ। पुतली र त्यसको प्रकृतिबारे हामीले जान्न चाहेकोभन्दा धेरै कुरा पुतली बाजेले बताए। त्यसबाट पुतलीबारे उनीसँग भएको गहन ज्ञानको गहिराइ प्रस्ट झल्किन्थ्यो।
उनीसँग गरेको कुराकानी डायरी र मोबाइलमा बोकेर हामी बिदा भयौँ। पुतली बाजेसँगको यो स्मृति लेखिरहँदा त्यो पोस्टकार्ड खोजेँ। तर भेट्न सकिनँ। निकै समयसम्म साथमै रहेको त्यो पोस्टकार्ड त कोठाभित्रै कतै ‘मिसप्लेस्ड’ भएकाले कुनै दिन भेटिएला। तर अंग्रेजी लवजको मधुरो बोलीमा पुतलीसँग सम्बन्धित सारा जिज्ञासा मेटाइदिने पुतली बाजे अब कहिल्यै भेटिने छैनन्।
भौतिक शरीर बिलाए पनि उनले हामीलाई छाडेर गएका खोजअनुसन्धानले पुतली बाजेलाई नेपाल र नेपालीमाझ शताब्दीयौँसम्म जीवित राखिरहने छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
