तराईवासी मधेशी समुदायको मुख्य पर्वको रूपमा रहेको छठ पछिल्लो समय पहाडी समुदाय मात्र नभएर मुस्लिम धर्मावलम्बीले समेत आस्था र भक्तिपूर्वक मनाउने गरेका छन्।
धनुषा– चार दिवसीय छठ पर्वअन्तर्गत शनिबार ‘खरना’ मनाइँदैछ। छठको पहिलो दिन शुक्रबार बर्तालुले नुहाएर मात्र चोखो बस्त्र धारण गरेर बिना प्याज, लसुनको अरबा चामल सेवन गरेका थिए। पहिलो दिन चतुर्थीलाई ‘अरबा–अरबाइन’ वा नहा खाय भनिन्छ। यो दिनमा बर्तालुले खोला, नाला, नदी, पोखरी र तलाउलगायतका जलाशयमा गई नुहाई धुवाइ गरेर शुद्ध भई चोखो खाना खाने गर्छन्।
शनिबार पञ्चमी तिथि (दोस्रो दिन)लाई खरना (संरक्षण अर्थात् पापको क्षय) भनिन्छ। जनकपुरधाम किशोरी नगरकी एक बर्तालु ज्योति झा भन्छन्, “खरनाको दिन बर्तालु दिनभरि निर्जला बस्छन् र साँझपख नुहाएर चोखो भई आफ्नो कुलदेवता स्थापना गरेको पूजा कोठामा नयाँ चुलो स्थापना गरी प्रसाद बनाउने गरिन्छ।”
प्रसादका रूपमा विशेष गरी पाकेको केरा र खीर लिने चलन छ। खरना विधिको सन्दर्भमा महेन्द्रनगरकी ७५ वर्षीया गीता झा भन्छन्, “आँगनमा गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतीले राति चन्द्रोदयपछि चन्द्रमालाई पायस (खीर) चढाई सोही प्रसाद ग्रहण गर्छन्। यस दिनपछि व्रतीले पूर्ण व्रत लिनुपर्दछ।”
षष्ठीका दिन (तेस्रो दिन) गहुँ र चामल ओखल, जातो वा ढिकीमा कुटान–पिसान गरी त्यसबाट निस्केको पिठोबाट विभिन्न गुलियो खाद्य सामग्री तयार गरिन्छ। क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरकी ६५ वर्षीया संगीतादेवी यादवले छठ पूजाका सामग्री तयार पार्दा विशेष चनाखो हुनुपर्ने बताइन्। “पूजाका सामग्री चोखो र शुद्ध हुनुपर्दछ, जुठो हुन गए अनिष्ट हुने जनविश्वास छ,” उनले भनिन्। यस दिन जलाशयमा पुगी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ।
पर्वको चौथो दिन (अन्तिम दिन)लाई पारन (पार्वण) भनिन्छ। यस दिन बिहान उषाकालमा व्रत लिने पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहोर्याउँछन् र प्रातःकालीन सूर्यलाई अर्घ्य दिई पर्वको समापन गरिन्छ। पण्डित लालबाबु झाका अनुसार अर्घ्य दिएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ। व्रतीले छठ व्रतको कथा सुन्छन् र सुनाउँछन्। यस पर्वमा यथासम्भव टुप्पोमा पात भएको चारवटा उखुलाई गाडेर त्यसभित्र पूजा गर्ने चलन छ।

मैथिली साहित्यकार रामभरोस कापडी भन्छन्, “सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न प्रेरित गर्ने चाड हो छठ।” छठ पूजाका लागि अहिले जनकपुरसहित सारा मिथिलाञ्चल झकिझकाउ हुने गरी सिँगारिएको छ।
श्रद्धालुले जनकपुरधामको इतिहासमा वर्णित सरोवर गंगासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रुकमिणी सरोवर, अरगजा, महाराजसागर र अग्निकुण्डलगायत कुण्ड, पोखरी, तलाउमा छठ पर्व मनाउने गर्छन्। दीपावली तिहारको रौनक नसक्दै यहाँ छठ पर्वको तयारी शुरू हुन्छ। पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा मनोकामना पूरा हुने विश्वासका साथ सूर्यको उपासना गरी यो पर्व मनाइन्छ।
अहिले तराई मधेशका हाट, बजार, सडक र गल्ली छठ पूजाका लागि आवश्यक पर्ने पूजा सामग्री, माटोबाट बनाइएको कलश, दियो, हात्ती, बाँसको चोयाबाट बुनिएको परम्परागत भाँडाकुँडा नाङ्लो, दाउरा, सुपली, छैँटी, ढकनीबाट सजिएका छन्। उखु, केराउ, अदुवा, केरा, मुलालगायतका कृषिउपजका साथै सख्खर मिसाएर बनाइएको गुलियो खीर, गहुँको पीठोबाट बनाइएको परम्परागत बुट्टे ठेकुवा, चिनीको चास्नीबाट बनाइएको बतासाले यहाँको भान्छा, भूमिसँग जोडिएको जनजीविका र जनस्वास्थ्यको त्रिकोणात्मक सम्बन्धलाई झल्काइ रहेको हुन्छ।
छठ पर्वका लागि माटाको भाँडाकुँडा कुम्हालेले बनाउँछन् भने बाँसको चोयाका भाँडाकुँडा डोम जातिले बुन्छन्। डोम समुदायले बुनेको बाँसको नाङ्लो, डगरा, सुपली, छैटी, बेना (हाते पङ्खा) छठ पर्वका लागि नभई नहुने हस्तकला सामग्री हुन्। यसरी सडक छेउमा लगाइएका बजारले तराईको संस्कृति, कृषि र विविधताले भरिपूर्ण यहाँको समाजबारे अध्ययन गर्ने खुला संग्रहालयकै काम गरिरहेको प्रतीत हुने समाजशास्त्री नागेन्द्र दुबे बताउँछन्। समाजशास्त्री दुबेका अनुसार छठमा जात, धर्म, क्षेत्रीयतालाई ओझेलमा पार्ने गरी फरक–फरक समुदायका अनुहार जलाशयमा डुबुल्की लगाउँदै सूर्यदेवको उपासना गरिरहेका हुन्छन्।
“मधेशी समुदायको मुख्य पर्वका रूपमा मानिँदै आएको यस पर्वमा सिउँदोदेखि नाकको टुप्पासमेत ढाकिने गरी सिन्दूर लगाएर साडीको आँचलले शिर छोपेर आराधनामा व्यस्त पहाडी समुदायका गृहिणी उल्लेख्य रूपमा देख्दा समाजको मीठो तस्वीरले जोकोहीको मन छुन्छ,” मैथिली संस्कृतिका जानकार तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलले भने।

अर्थशास्त्री डा. सुरेन्द्र लाभका अनुसार रोजगारीको ठूलो बजार मानिएको संघीय राजधानी काठमाडौँबाट दशैँ मान्न मोफसल फर्किनेको लर्को लाग्दा छठ पर्वलाई नै मुख्य पर्व मान्ने तराईवासीले राजधानीको जनजीवन सहज बनाइ दिइरहेका हुन्छन्। “जब दशैँ मान्ने सबैतिरबाट काठमाडौँ फर्किन्छन् तब कामको जिम्मेवारी हस्तान्तरण गरेर छठ पर्वका लागि तराई मूलका व्यापारी, कर्मचारी, मजदुर, विद्यार्थी पोकोपन्तरो कसेर घरतर्फको यात्रा गर्ने हतारोमा हुन्छन्,” उनले भने। सामाजिक विविधताले भरिएको हाम्रो समाजको चक्रलाई एउटा समुदायले अर्को समुदायलाई जिम्मेवारी हस्तान्तरण गर्दै रिले ओलम्पिक खेलमा झैँ यसरी नै यात्रालाई निरन्तरता दिइरहेको उनको कथन छ।
तराईवासी मधेशी समुदायको मुख्य पर्वको रूपमा रहेको यस छठ पछिल्लो समय आएर पहाडी समुदाय मात्र नभएर मुस्लिम धर्मावलम्बीले समेत आस्था र भक्तिपूर्वक मनाउने गरेको देखिन्छ। यस पर्वको अर्को विशेषताको रूपमा सबै जातजाति, ठूला साना, धनी, गरिब सबै एकै ठाउँमा जम्मा भएर पूजा अर्चना गर्नु पनि हो। यस कारण वर्षौँसम्म भेटघाट नभएका बोलचाल नभएकासँग पनि भेटघाट तथा वार्तालाप हुने हुन्छ। “तसर्थ छठ पर्व सबैको मन जोड्ने सेतुको रूपमा मान्न सकिन्छ,” लाभले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
