जमिन ओगटेर त्यतिकै बर्षौंवर्ष बाँझो राखिनु हुँदैन। त्यसलाई अपराध मानिनुपर्छ। दीर्घकालसम्म जमिन खालि राख्ने अधिकार कसैलाई हुनुहुँदैन।
करिब दुई दशकअघि हामी दुई दाजुभाइ एक आफन्तको मृत्युका कारण आफू जन्मेको गाउँ गएका थियौँ। कोही मरे भने 'विचार लैजाने' धेरै पुरानो चलन हो, यस्तो प्रचलनका नाम ठाउँअनुसार फरक होलान्। कतै यसलाई भेटी लैजाने वा माना चामल लैजाने भन्ने पनि छ। कसैको मृत्युमा छरछिमेक, नातागोताबाट गरिने यस्तो सहयोगको चलन राम्रै हो। विभिन्न समाज र सम्प्रदायमा विपद्मा गरिने यस्तो सहयोग आफैँमा सद्भावको प्रतीक हो। यद्यपि, मृत्यु अन्त्येष्टिमा गरिने अनावश्यक कर्मकाण्ड, तामझाम र दान दक्षिणाचाहिँ गलत हो। त्यस्तो रूढीवादी हठधर्मिताले समाज अहिले पनि पीडित छ।
अब मूल प्रसंगमा फर्कौँ। मृतकका आफन्तसँगको भेटघाट र औपचारिकतापछि मेरा दाजुले भने, "गाउँमा आएको मौकामा जग्गा कमाउने मोहीलाई पनि भेटौँ। उनीहरूले कुत नतिरेको पनि निकै वर्ष भइसक्यो। यसरी छाड्दै जाने हो भने कहिले पनि तिर्दैनन्, अलिकति हप्कीदप्की पनि गर्नैपर्छ। आजकल मान्छेहरूमा इमान जमान पटक्कै छैन।" हामी दुवै भाइ डाँडामा रहेको मोहीको घरतिर हिँड्यौँ। निकै उकालो चढ्नु परेकोले दाइ स्वाँस्वाँ गर्दै बिस्तार–बिस्तार अघि बढ्नुभयो। एक छिनपछि मोहीको घरमा पुग्यौँ। घरको पिँढीमा एक वृद्धबाहेक अरू देखिएनन्। वृद्धले हामीलाई पिँढीमा गुन्द्री ओछ्याइदिए।
उनका बारीमा लटरम्म फलेका नासपतीका बोट थिए। वृद्धले हामीलाई एक अम्खोरा पानीसँगै एक प्लेट रसिलो नासपती काटेर सत्कार गरे। एक छिनपछि एक एक गिलास भैँसीको बाक्लो दूधसँगै मकै भटमास पनि ल्याए। मिठो खाजाले हामी टन्न भयौँ। एक छिनपछि दाजुले त्यहाँ पुग्नुको उद्देश्य बिस्तार गरे, "ए माइला, तैँले कुत नबुझाएको तीन वर्ष भइसक्यो। यसरी त हुँदैन नि। अर्काको जमिनको भोग चलन गरेपछि त्यसबापत तिर्नुपर्छ भन्ने हेक्का पनि त राख्नु पर्छ। अहिले भाइ पनि आएको छ, उसको समेत तैँले कुत नतिरेको अझ बढी भइसक्यो।"
वृद्ध असीको दशकमा थिए, अनुहार ख्याउटे थियो। दुवै गाला भित्र पसेका थिए। आँखाहरू गाडिएका थिए। उसै त होचो कदका, कुप्रिँदा जमिनै छोलाझैँ देखिन्थ्यो। दशैँको बेला थियो, डाँडामा हावा बेस्सरी चलिरहेको थियो। आङमा एकसरो, धेरै ठाउँमा टालेको लुगा थियो। त्यस अवस्थाका दुब्ला वृद्ध देख्दा मलाई भने उकुसमुकुस भइरहेको थियो। यस्तो बुढो मान्छेसँग पनि दाजुले के हिसाबकिताब खोजिरहेको भन्ने लाग्यो।
"बुढी खसेको ६ महिना भो, अहिले म घरमा एक्लै छु। छोराबुहारी पनि शहरबजारतिर ज्याला मजदुरी गर्दै बसिरहेका छन्। बालीनाली पनि पहिलेजस्तो हुन छाडिसक्यो। यसपालि त खडेरीले गर्दा मकै कोदो पनि खासै भएन। आयस्ताले घर चलाउन नसकेपछि दुवै छोराबुहारी शहरबजारतिर ज्यालादारी गरेर गुजारा गरिरहेका छन्। दशैँमा त पक्कै आउलान्, म सुनाइदिन्छु। पैले पैले त मैले कहिले तिर्न बाँकी राखिनँ," वृद्धले भने।
दाजुले कड्कँदै भने, "मलाई अरू कुरा थाहा छैन, म बारबार यति टाढा आइरहन सक्दिनँ। जति छ अहिले नै दिइहाल। नत्र राम्रो हुने छैन।"
"मसँग त अहिले सुको पनि छैन। पानी ल्याउने दुइटा पितलको गाग्री छ, पकाउने कसौँडी छ। त्यो लैजाने भए लैजानुहोस्। बाँकी यही बूढो ज्यान हो, जे गर्नुहुन्छ, गर्नूस्।"
जमिनमै भासिएला जस्तो वृद्धको त्यस्तो करुण आवाज सुनेपछि मेरो मन द्रवित भयो, आँखा रसाए। हीनताबोध भयो र म बोल्न बाध्य भएँ, "मेरो भागको चाहिँ तपाईंले तिर्नुपर्दैन।" मेरो खल्तीमा बाटो खर्चबाहेक पाँच सय जति जगेडा थियो। मैले सोही पैसा उनलाई दिएँ। उनी धेरै खुशी भए। यसपछि हामी त्यहाँबाट हिँड्यौँ।
अलि पर पुगेपछि दाजु जंगिनुभयो, "तेरो चाला ठीक भएन। तैँले गर्दा हामी पनि अप्ठ्यारोमा पर्ने भयौँ। यस्तो गरेपछि त मोहीहरू भड्किन्छन्। तँलाई पुगिसरी आएको होला, तर हामीलाई त आफ्नो पुर्खाले धर्म गरेर कमाएको सम्पत्ति र जग्गा जमिनबाट उब्जने कुराको आशा हुन्छ।"
मलाई धेरै चित्त नबुझ्ने कुरा "पुर्खाले धर्म गरेर कमाएको सम्पत्ति" भन्ने धारणा पनि हो। दाइलाई जवाफ दिएँ, "के थाहा? पुर्खाले धर्म गरेर कमाए या पाप गरेर? हामीलाई हाम्रो हजुरबा पुस्तासम्मका कुरा थाहा होला। त्योभन्दा अघिका हाम्रा पुर्खाले के गरेर यत्रो जमिन जोडे र सम्पत्ति आर्जन गरे भन्नेबारे हामी अज्ञात छौँ। पक्कै पनि आफैँले मात्र खनजोत गरेर र पसिना बगाएर यतिविधि जग्गा जमिन जोडेका त पक्कै होइनन् होला। खोरिया खन्ने र जमिन जोत्ने त अरू नै थिए होलान्। त्यसमाथि सबैले आफ्ना पुर्खाहरू राम्रा र धर्मात्मा थिए नै भन्छन्। उनीहरूको पुण्य कर्मले आफू धनी भएको समेत दाबी गर्छन्।"
"जमिनमा पसिना बगाउने त जहिल्यै निमुखा र गरिब नै हुन्। कहिलेकाहीँ अप्ठ्यारो पर्दा गुजारा चलाउन उनीहरू साहु महाजनहरूकहाँ गुहार माग्न बाध्य हुन्थे (अहिले पनि हुन्छन्)। अनि जब साहु महाजनसँग लिएको/खाएको ऋण तिर्न उनीहरू असमर्थ हुन्थे, कौडीको मोलमा आफ्नो जमिन साहुको नाममा पास गर्न विवश हुन्थे। मिटरब्याजका कथाहरू त अहिले पनि हामीहरू पढिरहेका/सुनिरहेका छौँ। यसरी गरिबहरू आफूले रगत पसिना बगाएर जोडेको जमिनबाट वञ्चित हुन पुग्थे। यसरी नै धेरैजसो जमिन साहुको हुन गयो र फेरि जमिन साहुकै भए पनि जोत्ने खन्ने त तिनै निमुखा गरिब किसानले नै गर्ने भए।"
मैले भनेको कुरा परम्परागत बुझाइका दाजुलाई नपच्नु स्वाभाविक थियो।
मान्छेको सोच, निर्क्योल, सत्य व्यक्तिको परिवेश, शिक्षा र अनुभवहरूबाट निर्धारित हुन्छ। संक्षेपमा भन्ने हो भने औसत मान्छे सामाजिक, सांस्कृतिक, आर्थिक परिवेश र परिधिबाट बाहिरिएर सोच निर्माण गर्न सक्दैन, 'आउट अफ द बक्स' भएर विचार गर्न सक्दैन। त्यसैले प्राय जसो मान्छेहरू पारम्परिक विचार र संस्कारको दास भएर बाचिरहेको हुन्छ।
मान्छे तथा पृथ्वीका सबै जीवका लागि प्रकृतिप्रदत्त उपहार हो जमिन। प्रकृतिका यावत् जीवजन्तुको आश्रयस्थल र जीवन निर्वाहको आधार पनि हो जमिन। त्यसैले जमिनको अधिकतम उपयोग हुनुपर्छ। जमिनमाथिको अधिकार तिनैको हुन्छ र हुनुपर्छ, जसले जमिनको दोहन गर्दैनन्, सदुपयोग गर्छन्। जमिनको विविध प्रयोग या उपयोग हुनसक्छ– आवास, खेती, उद्योग, व्यवसाय, कलकारखाना आदिका लागि।
जमिनबाट उब्जेको अन्न र फसलमै जीवन आश्रित छ। जनताको जीवनस्तर उकास्न जमिनको अधिकतम उपयोग अपरिहार्य छ। हामी उर्वर जमिनको यतिविधि धनी हुँदाहुँदै पनि जीवन निर्वाहको लागि भने पराश्रित छौँ। जमिनको सदुपयोगबाट समृद्ध हुन सक्ने अनन्त सम्भावना हुँदाहुँदै बहुसंख्यक जनता विपन्नतामा बाँचिरहेका छन्।
नेपालमा पारम्परिक रूपमा जमिन जहिल्यै जमिनदारको अधीनमा रह्यो। अधिकांश जमिन तल्सिङ र मोहीबीचको समस्यामा अल्झिन गयो। मोहीहरू जमिनबाट परिश्रम गरे जतिको उब्जनी पाउन नसकेपछि जमिनमा काम गर्न छोडेर शहरबजारतिर श्रम र रोजगारीका लागि पलायन भए। लागतको आधारमा जमिनको उब्जनी घट्दै जाँदा धेरै नेपाली शारीरिक श्रमका लागि विदेश गएका छन्। जसका कारण आज भारतको चामलबिना नेपालीको चुलो नतात्ने भयो। भारत र अस्ट्रेलियाबाट तोरी आएन भने हामी भुटन हाल्न पाउँदैनौँ। पहाडको रैथाने मुरली मकै हामी मेक्सिकोबाट झिकाउँदै छौँ।
जमिनको उब्जाउ घट्दै जाँदा गाउँपाखाका जमिनको अवमूल्यन हुन थालेका छन् भने शहरबजार वरिपरिका प्रायजसो अति उर्वर जमिनलाई पैसावालाहरूले घेरेर बाँझै छोडेका छन्। भूमाफियाहरू तराई र पहाडतिर पनि पसिसकेका छन्। तराई या पहाडका नयाँ विकसित शहरबजार वरपरका जमिन पनि पैसावालहरूको कब्जामा पर्दै गएको छ, तर तिनको प्रयोजन सेयरको जस्तो छ। बेच्नकै लागि जमिन किनिइने अवस्था छ। जमिनको उत्पादन केही छैन।
करिब तीन करोड जनतामा औपचारिक र अनौपचारिक रूपमा एक करोडभन्दा बढी देशबाहिर छन्। जमिनको परिमाणमा जनघनत्व कमै भएको देश नेपालमा जनतामा चेतना आयो भने र सरकारी अवरोध नहुने हो भने नेपालीहरू गरिबीको चपेटामा सधैँ रहन सम्भव छैन। हिमालदेखि तराईसम्मका प्रायःजसो भूभागमा कुनै न कुनै प्रकारले जमिन उपयोग हुनसक्छ। तराई धान, गहुँ र तोरीको भण्डार हुन सक्छ भने हिमाल र पहाड फलफूलको लागि उपयुक्त हुन्छ।
यातायात र बजार व्यवस्था नहुँदा कैयौँ टन स्याउ पहाड र हिमालमै कुहिएरै जान्छ। यस्तो किन त? किनकि यी सबै समस्या एकर्कामा अल्झिएका छन्, बल्झिएका छन्। यसको मूल समाधान जमिनको उचित प्रयोग या प्रयोग गर्न सक्नेको अधीन मात्र जमिन हुनुपर्छ, पैसावाल या भूमाफियाको कब्जाबाट जमिन बाहिर आउनु पर्छ। किसानको हक, हित र उनीहरूबाट उत्पादित फसलको ढुवानी र बजार व्यवस्था हुनुपर्छ।
जमिन कसैले ओगटेर त्यतिकै वर्षौंवर्ष बाँझो राखिनु हुँदैन। त्यसलाई अपराध मानिनुपर्छ। दीर्घकालसम्म जमिन खालि राख्ने अधिकार कसैलाई हुनुहुँदैन। अनि सबैभन्दा जरुरी कुरा त तल्सिङ र मोहीबीचको पर्खाल भत्किनुपर्छ, ताकि जमिन प्रयोग गर्ने किसानहरूले जमिनमाथि अपनत्व गर्न सकून्। बाँझो जमिनलाई उर्वर बनाउन एउटा नयाँ जागरण चाहिन्छ। कसै न कसैको प्रयासमा हरित क्रान्ति हुन जरुरत छ। त्यसबाट मात्र जमिनको उपादेयता सम्भव हुन्छ। यसो गर्न सकियो भने नेपालीहरू आजभन्दा सम्पन्न हुनेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
