देशले स्थिरता र विकासको लय समाउनु त कता हो कता, अस्थिरता र असन्तुष्टिका बाछिटा देखिँदै छन्, कुनै राजनीतिक व्यवस्था विशेषलाई दोषी देखाएर जनता उद्वेलित पार्ने दुष्प्रयास हुँदैछ।
कुनै लापरवाह अभिभावक वा सन्तानका कारण लथालिंग भएको परिवारजस्तै बनेको छ देश र यहाँको राजनीति। हामी एउटै दुष्चक्रमा बारम्बार जेलिन किन बाध्य छौँ? यसबाट कसरी उन्मुक्ति मिल्ला? यस्ता अनगन्ती प्रश्न छन् र ती प्रश्नको सही उत्तर दिलाउन सक्ने सशक्त माध्यम निर्वाचन नै हो। तर आवधिक निर्वाचन हुनु, जनताले भोट हाल्नु अनि प्रजातन्त्रको गजब उपभोग गर्दै जनप्रतिनिधि चुन्यौँ भनेर नाक फुलाउनुको पनि के अर्थ! जब त्यसको परिणाम सधैँझैँ ‘धमिलो’ भएपछि!
संघीय र प्रादेशिक निर्वाचन भएको एक वर्ष पुग्यो, तर समाज, देश र जनतामा भने अरू पाँच वटा चुनाव गराउँदा पनि नपखालिने खालको वितृष्णा र उकुसमुकुस देखिन्छ। यस्तो किन? र यस्तो कहिले सम्म? उत्तर कहाँ भेटिएला?
मोहन मैनालीद्वारा अंग्रेजीबाट अनूदित प्रसिद्ध लेखकहरूका निबन्ध/कथाहरूको संग्रह ‘आकाशमुखी’ छ। सो पुस्तकमा समावेश निबन्धमध्ये प्रसिद्ध आइरिस चिन्तक जर्ज बर्नार्ड शको निबन्ध ‘स्वतन्त्रता’को थोरै सन्दर्भ जोड्न चाहन्छु।
‘चुनावमा धनी दुई जना उम्मेदवारले तपाईंसँग भोट माग्छन्। तपाईंले ती दुई धनीमध्ये जसलाई पनि छान्ने स्वतन्त्रता पाउनुभएको हुन्छ। तपाईंले यस्तो कुराको छनोट गर्न पाउनुहुन्छ, जसले तपाईंलाई पहिलेभन्दा अलिकति पनि स्वतन्त्र बनाउँदैन, किनभने यसो गर्दा तपाईंको कामको बोझ कत्ति पनि घट्दैन। समाचारपत्रले चाहिँ तपाईंको मतले निर्वाचनको परिणाम निर्धारण गर्यो भन्ने कुरामा विश्वास दिलाउँछन्। यति हुनेबित्तिकै तपाईं प्रजातान्त्रिक मुलुकको स्वतन्त्र नागरिक हुनु भयो। छक्क लाग्छ, तपाईं कति मूर्ख हुनुहुन्छ भने यस्तो कुरा पत्याइहाल्नुहुन्छ!
चुनाव आसपासको समय सम्झिनुहोस् त! त्यो बेला नेताले गर्ने भाषण याद गर्नुहोस्, पत्रपत्रिका, रेडियो, टेलिभिजन र सामाजिक सञ्जालमा आउने समाचार शीर्षक र तिनको भाष्य स्मरण गर्नुहोस्, ‘बौद्धिक’ र ‘विश्लेषक’हरूले जनता/भोटरलाई ‘सर्वशक्तिमान्’ बनाएको माहौल ताजा गराउनुहोस्, अनि अहिले हामीले भोगिरहेको यथार्थलाई जुधाएर हेर्नुहोस् त! त्यो चुनावी समयको भाष्य र परिणाम अनि आजको परिणतिमा कति फरक छ?
अन्यथा अर्थ नलागोस्, प्रजातान्त्रिक प्रणाली र आवधिक चुनाव बहुदलवादका परिपूरक हुन्, तर यही उत्कृष्ट प्रणालीभित्र आफ्नो अधिकार प्रयोग गर्दा हामीले प्राप्त गरेको परिणामबारे खुलेर बहस गर्ने सामर्थ्य राखेका छौँ? अथवा हाम्रो बहसले ‘कोर्स करेक्सन’मा बल पुगेको छ? यसको जवाफ ‘छैन’मै आउँछ।
आम मानिस र शासकबीचको दूरी फराकिलो भइरहनुको अन्तर्य के होला?
शासकीय मनोविज्ञानबारे आजभन्दा २ हजार ३४५ वर्षअघिका प्रसिद्ध ग्रिक दार्शनिक अरिस्टोटल (३८४–३२२ बिसी)ले गरेको विश्लेषण हामीले अहिलेसम्म भोग्दै छौँ।
अरिस्टोटल भन्छन्, ‘आम मानिसलाई आदेश दिने मानिस अथवा शासकले राम्रो लुगा लगाएन भने, अथवा उनीहरू सजिसजाउ भएनन् भने, उनीहरू सबैले एकै खालका राम्रा लुगा लगाएनन् भने, उनीहरूले बोल्दा कुनै शब्द विशेष किसिमले उच्चारण गरेनन् भने, यात्रा गर्दा उनीहरूले विशेष ढोङ गरेनन् भने, अथवा उनीहरूले सबैभन्दा राम्ररी पालिएका घोडा चढेनन् भने, अथवा आफ्ना बुट आफैँ सफा गरे भने, अथवा साधारण मानिसले गर्ने काम गरे भने, शान्ति सुरक्षा कायम गर्न र सरकार चलाउन असम्भव हुन्छ र? यसको अर्थ हो– उनीहरू एकदमै धनी हुनुपर्छ, जसले आम मानिसको दिमागमा आफू भगवान्जस्तो विशिष्ट हुँ भन्ने भ्रम छर्नुबाहेक अरू केही काम गर्नु पर्दैन। छोटकरीमा भन्दा मानिसलाई आज्ञाकारी कामदार, कानून मान्ने नागरिक बनाउन उनीहरूलाई अज्ञानी भक्तजनमा परिणत गर्नुपर्छ भन्ने कुरा दृढतापूर्वक विश्वास गरिएको छ।’
चरित्र ठ्याक्कै यस्तै छैन त हामीले भोगेका शासकहरूको/शासनको पर्खाइमा ‘लामबद्ध’ राजनीतिक नेतृत्वको?
नीति, योजना र कार्यान्वयनको खाकाका बारेमा कोही बोलेको सुनिँदैन, अहिले जताततै नेताका आक्षेपपूर्ण भाषण मात्र छन्। यस्तोमा हामीजस्ता ‘निम्छरा’ लेखकका शब्दको हुलमुलमै हराउन सक्छन्। तैपनि उज्यालो राजनीति र उन्नत समाजको अपेक्षाखातिर लेख्न र बोल्न त छोड्न भएन।
विम्ब एक
एक युवा जो विगतमा लागूपदार्थ दुर्व्यसनमा परेर पछि सुधारको बाटोमा हिँडेका रहेछन्। उनले कुनै राष्ट्रिय टेलिभिजनमा आफ्नो कहानी सुनाउने क्रममा भनेको कुरा निकै घतलाग्दो थियो, ‘जबसम्म आमा बाबु (अभिभावक) थाक्दैनन् वा हार खाँदैनन्, तबसम्म दुर्व्यसनमा फसेको सन्तानले सताउन छोड्दैन।’
किताब किन्छु भनेर लगेको पैसा नसामा उडाएको छ, कलेज शुल्कको पैसा 'मस्ती'मा सक्काएको छ। अनेक बहानामा पैसा माग्दै बर्बादीमा लागेको सन्तानले बाबुको कोट र आमाको थैलीबाट पैसा चोरेको छ, घरका किम्ती वस्तु चोरेर जति पायो उति पैसामा बेचिबेची दुर्व्यसन डुबेको छ।
ढाँट्ने, छल्ने, चोर्ने र नौटंकी गर्ने सन्तानको बानीबाट आजित आमाबाबुसँग कुनै एक दिन उसले फेरि नयाँ बहाना बनाएर तीन हजार माग्छ। आफ्नो दुर्व्यसन छोरालाई तीन हजारको साटो तीस हजार दिँदै अभिभावक भन्छन्, ‘थाहा छ तैँले मागेको तीन हजार दुर्व्यसनकै लागि हो, अब हामी थाक्यौँ, तीन हजार होइन, तीस हजार लैजा। एकै पटक जति खान सक्छस् खा, अनि आफैँलाई र हामीलाई पनि यो सबै दिक्दारीबाट मुक्त गर्। उसले जब आफ्ना आमाबाबु साँच्चिकै थाकेको थाहा पायो, उसले सुध्रने कोसिस गर्यो र सुधार मार्गमा छ उ अहिले।
हाम्रो राजनीतिक चरित्र पनि ठ्याक्कै यस्तै छ। दुर्व्यसनी सन्तानजस्तै अधिकांश नेता/राजनीतिकर्मीको व्यवहारबाट अभिभावक जनता/भोटर आजित छन्। त्यस सन्तान (दल/नेता)लाई अभिभावक जनताले थाकेको स्वीकारोक्ति कसरी गराउने होला? "यो नै अन्तिम पटक हो, जति हसुर्न सक्छौ, हसुर भन्दै भोट खन्याइदिएर या भोटै नदिई तड्पाउनु पर्ने हो यिनलाई? यसको उपाय के? जनता अब साँच्चै निर्मम बन्नुपर्ने क्षण आएको होइन र?
विम्ब दुई
यो बिम्बचाहिँ म हुर्केको समाजको यथार्थ घटना हो। अलि धेरै जग्गाजमिन भएका एक जना आफन्त थिए, उनका दुई भाइ छोरा थिए। असार साउन आएपछि धानको बीउ राख्ने, खेत खनजोत गर्ने, रोपाइँको बन्दोबस्ती गर्ने बेला हुन्थ्यो, दुवै छोरा कहिले परीक्षा तयारी भन्दै त कहिले छुट्टीका बेलासमेत क्याम्पसमा पढाइ चलिरहेको छ भन्दै बुटवल बजारमै डेरा जमाएर बस्थे। यस्ता ‘कामचोर’ छोराहरूको पाराले दिक्क आफन्तले एक दिन फोन गरेर छोराहरूलाई साफ गाली गर्छन्। ‘तिमीहरू कुलाङ्गार, खानका काल, कामचोर, बाबुआमालाई दुःख दिन जन्मेका, मौकाको ख्याल गर्न नसक्ने’ आदि इत्यादि। फोन संवादको प्रारम्भमा बेजोड हप्काउने आफन्तले छोराहरूसँग फोन बिसाउने बेला भने नम्र र लत्रेको पारामा ‘हवस् त अब फोन राखेँ है’ भन्दै बिदा हुन्थे।
हामीले भोगेको राजनीति र चुनावका बखत हाम्रो चरित्र पनि तिनै आफन्त र उनका छोराहरूसँगको संवादझैँ छ। अरू बेला राजनीतिक दल र नेताले दुःख दिएको कहानी हालेर नथाक्ने अनि जब भोट खसाल्ने बखत आउँछ, ‘हवस् त फोन राख्छु है’ भन्ने पारामा ‘हवस् त भोट हाल्छु है’ भन्ने खालको लाचार बन्ने, उम्मेदवारको गुण र दोष छुटाउन नसक्ने, नजान्ने।
विम्ब तीन
दुई जना साथी मिलेर साझेदारीमा दूध डेरी व्यवसाय गर्ने योजना बनाए, योजनाअनुसार काम शुरू पनि भयो, तर दुईमध्ये एउटा साथी असाध्यै सोझो र अर्कोचाहिँ धूर्त। आर्थिक कारोबार र लाभका कुरामा धूर्त साथी अगाडि सर्ने, मरिमेटेर काम गर्नेचाहिँ सोझो साथी। स्वभावतः कारोबार घाटामा गयो, धूर्त साथी मालामाल, सोझो साथी कर्जामा। लेनदेनको हिसाब गरेर साथीहरू कारोबारबाट अलग भए, हिसाबमा धूर्तवाला साझेदारले सोझोवाला साथीलाई केही पैसा चुक्ता गर्नुपर्ने देखियो, केही समयपछि तिर्ने सहमति पनि भयो। सोझो साथी खेती किसानीको काममा लाग्यो भने धूर्त साथी राजनीतिमा। एक दिन सोझो साथी आफ्नो हिसाबको पैसा माग्न पुरानो साझेदारको घर खोज्दै पुग्यो।
आफ्नो जायज हिसाबको पैसा माग्न आएको साथीलाई कुनै दलको नेता बनिसकेको साथीले हप्काउँदै भन्यो, ‘आइन्दा पैसा माग्न मलाई खोज्दै आउने होइन , आइस् नै भने पनि दिउँसोमा मलाई भेट्न मुस्किल छ, रातिमा आए त जिउँदै फर्कन मुस्किल छ।’ त्यसपछि सोझो साथीले आफ्नो लगानीको हिसाब माया मार्यो। कतै नेपालमा पनि ‘राजनीतिक साझेदारी’ यस्तै त हुँदै छैन?
यसबीच देशले स्थिरता र विकासको लय समाउनु त कता हो कता, अस्थिरता र असन्तुष्टिका बाछिटा देखिँदै छन्, कुनै राजनीतिक व्यवस्था विशेषलाई दोषी देखाएर जनता उद्वेलित पार्ने दुष्प्रयास हुँदैछ।
निमुखा र सर्वसाधारण जनताका लागि न्याय ,समानता र समुन्नत जीवनको सपना देखेर वा देखाएर सत्ता उलपुलटको संघर्षमा होमिएका अगुवाहरू कसरी विचलित हुन्छन् भन्ने सपाट दृष्टान्त बुल्गेरियन कवि तथा लेखक रिस्तो मिनेस्कीले लेखेको 'भर्याङको कथा' पढेपछि भेटिन्छ। माथि उल्लेखित आकाशमुखीमै समावेश कथाको सार यस्तो छ:
जन्मजात सर्वहारा, मजदुर किसानको दयनीय अवस्था बदल्न संघर्षरत एउटा योद्धा सत्ताको दरबार अगाडि पुगेर दरबारको सुरक्षामा खटिएको सिपाहीसामु शिर ठाडो पारेर भन्छ, ‘म ती राजा रजौटा र सामन्तहरूसँग उनीहरूले हामी सर्वहारा, मजदुर किसानमाथि गरेको शोषणको बदला लिन चाहन्छु। बालुवाजस्ता पहेँला अनुहार पार्न र शिशिरको स्याँठभन्दा नराम्ररी पीडा व्यक्त गर्न बाध्य पारिएका मेरा सर्वहारा, मजदुर किसान दाजुभाइ, दिदीबहिनीहरूलाई तिनीहरूले गरेको शोषणको निर्ममतापूर्वक बदला लिन चाहन्छु। उनीहरूका रक्ताम्मे शरीर तिमिले देखेका छौ? उनीहरूलाई हेर, उनीहरूका चीत्कार तिमिले सुनेका छौ? म बदला लिएरै छाड्छु। मलाई नरोक, मलाई माथि जान देऊ।’
‘म माथि बसेका मालिकहरूको रक्षा गर्न खटिएको हुँ, घुस नपाईकन उनीहरूलाई विश्वासघात गर्दिनँ, भन तिमी के घुस दिन्छौ?’ सिपाही हाँस्दै भन्छ।
‘मेरो लक्ष्य हासिल गर्न म ज्यानको आहुति दिन तयार छु!’ सिपाही फेरि हाँसेर भन्छ, ‘अहँ मलाई ज्यानजस्तो बहुमूल्य घुस चाहिँदैन। तिम्रा दुई वटा कान दियौ भने पुग्छ।’
युवक झस्कन्छ, ‘कान दिएँ भने त म केही पनि सुन्न सक्दिनँ..!’
सिपाहीले वचन दिन्छ ‘दुई वटा कान दिएर पनि तिमी सुन्न सक्छौ!’
दुई वटा कान घुस दिएर युवक तीन खुड्किला माथि पुग्छ।
सिपाहीले तोके बमोजिम एक जोर आँखा घुस दिएर अर्को तीन खुड्किला माथि पुग्छ, यसैगरी प्रत्येक तीन खुड्किला चढ्नु अघि शरीरका कुनै न कुनै अंग घुस दिँदै योद्धा खुसीसाथ माथि चढ्यो, अब एक खुड्किलो माथि उक्लँदा उ भर्याङको सिरानमा पुग्नेछ। त्यहाँ पुगेर उसले सर्वहारा र मजदुर किसानको शोषणको बदला लिने छ।
अन्तिम खुड्किलो उक्लिनका लागि सिपाहीले दुई गुणा घुसको माग गर्छ र घुसका रूपमा युवकको मुटु र स्मरण शक्ति माग्छ।
"मुटु दिनु? अर्काको मुटु माग्नु क्रूरताको पराकाष्ठा हो", युवकले विरोध गर्छ।
"तिमिले मुटु र स्मरण शक्ति नदिए माथि जान पाउँदैनौ, माथि नपुगी कसरी सर्वहाराको पक्षमा बदला लिन सक्छौ? बरु तिम्रो मुटु र स्मरणशक्तिको बदलामा सुनको मुटु र नयाँ स्मरण शक्ति दिन्छु!" सिपाहीले युवकलाई उकास्छ, क्षण भरका लागि क्रोधित र अन्यमनस्क बनेको युवकले अन्ततः आफ्नो मुटु र स्मरण शक्ति बुझाएर रोषसहित आँधीको बेगमा अन्तिम खुड्किलो पार गर्छ र सिरानमा पुग्छ।
युवक जसै सिरानमा पुग्छ, उसका आँखा शान्ति र आनन्दले चम्किन्छन्, अनुहारमा उन्मुक्त हाँसो छाउँछ, उसको मुठ्ठी खुकुलो बन्छ। उसले त्यहाँ बसेका राजारजौटा र सामन्तलाई हेर्छ, अनि त्यसपछि तल बसेर चिच्याइरहेका, गाली गरिरहेका मैला र क्रोधित मानिसको भिड हेर्न खोज्छ , अचम्म! अलि अघिसम्म चिच्याइरहेका क्रोधित र पीडित मानिसले अहिले भजन गाइरहेका हुन्छन्!
यत्तिकैमा त्यहाँ रहेका एक सिपाहीले कुटिल पारामा सोध्छ, "तिमी को हौ?"
न्याय र बदलाका लागि आफ्ना अंग घुस दिँदै माथि सत्ताको तख्तामा पुगेको युवक भन्छ, "म जन्मले राजकुमार हुँ र भगवान्हरू मेरा दाजुभाइ हुन्! यो संसार कति सुन्दर छ र यहाँका मानिस कति सुखी छन्।"
यो कथासार पढेसँगै तपाईंको मनमा त्यही युवकजस्तै कतिपय चरित्र अटेसमटेस आए होलान्? असाध्यै खराब चिजलाई प्रतिस्थापन गर्दै निस्किएको नयाँ चिज झनै खराब निस्कियो भने भोक्ता पात्र अत्तालिएर पुरानै खराब चिजलाई समेत राम्रो भन्नुपर्ने अवस्थामा पुग्दो रहेछ।
मदन भण्डारीले ´घाटे वैद्यको कथा`मार्फत उ बेला राजा र काँग्रेसलाई गरेको व्यंग्य खुबै चर्चित थियो। ´खराब र अति खराब`को सन्दर्भमा मदन भण्डारीको उक्त प्रसंग पूर्व पत्रकार अनिल थापाले केही दिनअघि सम्झाएका थिए:
"घाटे वैद्यले गाउँलेलाई साह्रै सताएको रहेछ। कोही मर्यो कि घाटमा पुर्याउनासाथ उसलाई शुल्क नदिई शव जलाउन नदिने। आजित गाउँलेले वैद्यलाई ‘छिटै मरोस्’ भन्दै सराप्दा रहेछन्। वैद्यले आफू मर्ने बेला आफ्ना चार भाइ छोरालाई अन्तिम इच्छा सुनायो– ‘मसित गाउँले साह्रै क्रुद्ध छन्, तिमीहरूले कुनै यस्तो काम गर्नु, ताकी गाउँलेहरू छोराभन्दा बाउ नै ठीक रहेछन् भन्ने निष्कर्षमा पुगून्।’
घाटे वैद्य बितेपछि छोराहरूले धेरै सोचे र जुक्ति निकाले। गाउँमा कोही मरेको सुन्नासाथ घरमै पुगेर शुल्क उठाउने अनि मात्र घाटमा लैजान दिने नियम चलाए। छोराहरूको व्यवहारले गाउँलेहरू सहजै निष्कर्षमा पुगेछन्– ‘बरु बाउ नै ठीक थियो, कम्तीमा शव घाटसम्म पुर्याउन त दिन्थ्यो।" हामी जनताका लागि दल, नेता र नेतृत्व घाटे वैद्यका चार भाइ छोराजस्तै बन्दाबन्दै।
यस्तो उकुसमुकुसबारे कति कुरा गर्नु?
व्यवस्थाविरुद्ध मान्छेहरूले आक्रोश व्यक्त गरिरहेका बेला सचेत नागरिकका नाताले हामी सबैले एउटा कुराचाहिँ भुल्नुहुँदैन, यो व्यवस्थालाई सुव्यवस्थित बनाउने जिम्मेवारी हाम्रो पनि हो, प्रत्येकको हो। व्यवस्था जिन्दावाद, अव्यवस्था मुर्दावाद।
स्वतन्त्र पत्रकार पोख्रेल हाल निजी उद्यममा संलग्न छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
