पोखरालाई ‘लाहुरेले बनाएको शहर’ भनिन्छ। तर तिनै लाहुरे अहिले धमाधम बेलायततिरै फर्कन थालेका छन्। ‘लाहुरेले जाँड खानेबाहेक केही जान्दैनन्’ भन्ने खराब भाष्यका कारण फर्कन बाध्य भएको धेरैको गुनासो छ।
पोखरा– यम राना ६ वर्षअघि बेलायती सेनाबाट अवकाश पाएर स्वदेश फर्किएका थिए। उनले ३७ वर्ष गोर्खा सैनिक भएर काम गरे। त्यसपछि पोखरा फर्किएर ब्रिटिश क्याम्पको गोर्खा वेलफेयर ट्रस्टमा तीन वर्ष काम गरे। अब भने फेरि बेलायत नै फर्किने सुरसारमा छन्।
बेलायती सैनिकहरू अवकाशबाट फर्किएपछि स्वदेशमा कुनै काम नहुँदा विदेशै जानुपर्ने बाध्यता रहेको यम बताउँछन्। “मसँग अनुभव छ, गर्न पनि सक्छु। लिडरसिप गर्न सक्छु, कमान्ड गर्न सक्छु, म्यानेजमेन्ट गर्न सक्छु,” उनी भन्छन्, “नेपालमा आएर त मलाई केही पनि काम छैन। तँ लाहुरे भइहालिस्, तलाईं केही पनि थाहा छैन भन्छन्। तर उनीहरूलाई मेरो योग्यता के हो थाहै छैन।”
विदेशमा आर्जन गरेको ज्ञानसीप आफूले प्रयोग गर्न नपाउने त छँदैछ, विदेशमा शिक्षित भएर आउने आफूहरूका सन्तानले पनि काम नपाउने उनको भनाइ छ। “मेरा बच्चाहरू सबै ग्राजुयट छन्। तर यहाँ आएर गर्ने ठाउँ नै छैन। त्यसकारण उनीहरू यता आउन मन गर्दैनन्,” यम भन्छन्, “यता भएका त बाहिर गइरहेका छन्, उताबाट यहाँ आएकालाई के दिन सक्छ सरकारले?”
नेपाल फर्किएर पनि केही काम नपाउँदा समय कटाउने र आर्जन पनि गर्ने उपाय खोज्दै विदेशै फर्किनु बाध्यता भएको यमको भनाइ छ। ‘लाहुरेले केही जानेको हुँदैन, जाँड खाने र हल्लिने मात्र गर्छन्’ भन्ने खराब भाष्य स्थापित भएको धेरै पूर्व गोर्खा सैनिकको गुनासो छ।
बेलायती सेनाबाट अवकाश पाएका धर्मराज गुरुङ संयुक्त राष्ट्रसंघमा काम गरे। उनले त्यहाँबाट पनि अवकाश पाइसकेका छन्। “म युनिफर्ममै टेलिकम्युनिकेसन इन्जिनियरिङ पढेको मान्छे। तितो सत्य के भने, नेपाल सरकारले योग्य व्यक्तिलाई कहिल्यै काम दिएन। त्यो नियति अहिले पनि छ,” गुरुङ भन्छन्।

लाहुरेहरूले बन्दुक चलाउनेबाहेक सेनाभित्रै अन्य क्षेत्रमा पनि अनुभव हासिल गर्ने उनको भनाइ छ। ‘कोर युनिट’ भनिने ‘क्विन्स गोर्खा ट्रान्सपोर्ट रेजिमेन्ट’, ‘क्विन्स गोर्खा सिग्नल’, ‘क्विन्स गोर्खा इन्जिनियर’जस्ता प्राविधिक युनिटमा काम गरेका लाहुरेहरूको सीप सदुपयोग गर्न सकिने उनी बताउँछन्। “भूपू बेलायती सेनालाई कसरी प्रयोग गर्ने भन्ने सरकारसँग योजना छैन,” उनी भन्छन्, “हामी ४० वर्ष बाहिर बसेको मान्छे, हामीलाई हाम्रो योग्यताअनुसारको काममा लगाउन सक्नुपर्यो। कामबिना बस्नुपर्दा भूपूसैनिकहरू यहाँ टिक्न सकेनन्। भूपूले जानेको कामको कदर भएन।”
पोखरा बगरमा बस्दै आएका धर्मराजका छोराबुहारी विदेशमै छन्। आफूले भने अवकाशपछिको जीवन नेपालमै बिताउन चाहेको उनको भनाइ छ। “मेरो छोराबुहारी सबै विदेश छन्, उनीहरूलाई यहाँ अड्याउन सकिन्न। हामीलाई पनि उतै बोलाउँछन्। यत्रो वर्ष बस्यो, अब कति बस्ने भनेर समय मिलाएर भेट्न जान्छौँ,” उनले भने।
पोखरालाई आधुनिक शहरका रूपमा विस्तार गर्न योगदान गरेका लाहुरेहरू फर्केर पुनः उतै जाने धेरै छन्। कोही पारिवारिक कारणले र कोही रोजगारीकै लागि विदेशिने गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट गोर्खा भर्ती इतिहासबारे विद्यावारिधि गरिरहेका मनोज घर्ती मगरले २०७६ सालमा गरेको ‘पोखरामा गोर्खा भर्तीको सामाजिक–आर्थिक प्रभाव’ नामक शोधअनुसार यहाँ ब्रिटिश गोर्खा र भारतीय सेनामा काम गरेका करिब ५० हजार भूपूसैनिक छन्।
यिनै लाहुरेले पोखरामा चिटिक्कका घर बनाए, व्यवस्थित ढलसहित चिल्ला सडक बने र अहिलेको आर्थिक रूपमा सम्पन्न पोखरा बनेको घर्ती मगरले उल्लेख गरेका छन्। उनका अनुसार लाहुरेहरू समूहमा बस्न रूचाउने भएरै पोखरामा घरहरू थपिँदै गए। कति बस्तीको नाम पनि गोर्खा सैनिकका लागि प्रयोग हुने शब्दबाटै राखिएको छ, शिरमुर लाइन, सिंगापुर टोल, भिसी मार्ग, गोर्खा चोक।
रिडन्डेन्सी (बिनापेन्सन अवकाश प्राप्त सिपाही) डा. चन्द्रबहादुर गुरुङ लाहुरेको विषयमा धेरै भ्रम रहेको बताउँछन्। राष्ट्रियताको नारा दिनेले ‘अर्काको लागि लड्ने भाडाका सिपाही’का रूपमा लाहुरेलाई अर्थ्याउने गरेको भन्दै उनले आपत्ति पनि जनाए।
“अहिले मान्छे अरब जान लागे। आजभन्दा २०० वर्षअघि त्यस्तो थिएन। बेलायती साम्राज्यसँगको सम्बन्धमा नेपालको राजसंस्थाको पनि दुईवटा स्वार्थ थियो। एक, उनीहरूको विरोधमा कोही निस्कन्छ कि भन्ने डर। अर्को, हामीले यहाँ काम दिन सकेनौँ, जाओस् न त भन्ने होला,” उनी भन्छन्, “सरकारले पनि त्यसबापत रोयल्टी पाउँथ्यो।”
अहिले २०० वर्षपछि पनि ‘लाहुरे संस्कृति’ चलिरहेको डा. गुरुङ बताउँछन्। सन् १८१५ मे १५ मा नेपालका सेनापति अमरसिंह थापा र अंग्रेज सेनापति डेविड अक्टरलोनीबीच मलाउमा सन्धि भएपछि गोर्खा भर्ती शुरू भएको मानिन्छ। “पहिले लाहोरमा गएर लाहुरे हुन्थे। अहिले लाहुरे भनेको विदेशमा गएर जागिर गर्ने भनेर बुझ्न थालियो,” उनी भन्छन्, “लाहोर भन्ने शहर अहिले पाकिस्तानमा छ। पहिला ब्रिटिश साम्राज्य हुँदा भारत र पाकिस्तान एउटै थिए।”
आफूहरू पोखरामा बस्ती बस्दै गर्दादेखि यसको शहरीकरणमा जोडिएको डा. गुरुङ बताउँछन्। आफूहरूले पोखरामा बयर र सिस्नो पनि देखेको उनको भनाइ छ। तिनै झाडी फाँडेर घरहरू बनाइँदै गएको उनले बताए।
लाहुरेहरू जमदार, सुबेदारलगायतमा बढुवा हुँदा हर्षबढाइँ हुने चलन पोखरामा अहिले पनि कायम छ। तर भारत र बेलायतबाहेक अन्य देशका सेनामा पनि नेपाली भर्ती हुँदा प्रतिष्ठामा आँच आएको डा. गुरुङको भनाइ छ। फ्रान्स, रसियालगायत देशका सेनामा पनि अहिले नेपाली छन्। “त्यस्तै परे अब चाइनाले पनि भर्ती लिन्छ। पहिला प्रतिष्ठासँग जोडिन्थ्यो, अब रोजगारीसँग पनि जोडियो। सन्र्दभ परिवर्तन हुँदै आइरहेको छ। अहिलेको परिस्थितिमा बेरोजगारी समस्या समाधानको बाटो पनि बनिरहेको छ,” उनी भन्छन्।
अवकाश प्राप्त लाहुरे नेपाल नफर्किनुमा भावनात्मक कारण पनि रहेको उनी बताउँछन्। राष्ट्रियताको भावनामा धेरै विषय जोडिने उनको भनाइ छ। “तपाईं यतै जन्मेर यतै खेलेको हो भने तपाईंलाई नेपालको माया लाग्छ। तपाईंको स्कुल र कलेजका साथी नेपालमै हुन्छन्। काम गर्ने ठाउँका साथी हुन्छन्,” उनी भन्छन्, “तपाईं बेलायत बस्नुभयो र तपाईंका बच्चा उतै जन्मे भने उसको यहाँ कुनै कनेक्सन हुँदैन।”
गुरुङका अनुसार त्यही कारण अहिले कतिपय लाहुरे सम्पत्ति बेचेर विदेश गइरहेका छन्। उनीहरूलाई राष्ट्रियतासँग मतलब नभएको पनि उनले बताए। “एक त देशको राजनीतिक परिस्थितिले राष्ट्रियता जन्माउन सकेन, विकास भइदिए पो राष्ट्रियता हुन्छ।”
लाहुरेको दोस्रो ‘करियर’ले बनाइएको शहर!
१९४७ नोभेम्बर ९ मा नेपाल, भारत र बेलायतबीच गोर्खा भर्तीबारे सन्धि भएको थियो। उक्त त्रिपक्षीय सन्धीका आधारमा नेपाली युवालाई भारतीय र बेलायती सेनामा भर्ना गर्ने क्रमले निरन्तरता पाएको हो। यसअघि, भारतसम्म शासन गरिरहेको बेलायतले नेपाली युवालाई फौजमा भर्ती लिने गरेको थियो। नेपालीले बेलायती सेनामा भर्ना भएर पहिलो र दोस्रो दुवै विश्वयुद्धसमेत लडेका थिए।
गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)ले बेलायती सेनामा रहेका गोर्खा सैनिकलाई शोषण गरेको दाबी गर्दै त्यहाँको ‘रोयल कोर्ट अफ जस्टिस’मा मुद्दा दायर गरेको थियो। २००८ सेप्टेम्बर ३० मा उक्त मुद्दाको फैसला गेसोको पक्षमा आएपछि मात्र गोर्खाहरूले बेलायती सेनासरह अधिकार र सुविधा पाउन थालेका हुन्।
त्यसअघि ब्रिटिश आर्मीले ४०० डलर पेन्सन पाउँदा गोर्खाहरू जम्मा ४१ भारु पेन्सन पाउँथे। लडाइँमा अंगभंग भएका सिपाहीलाई रिडन्डेन्सीमा पठाइन्थ्यो (ब्रिटिश साम्राज्यका नेपाली मोहरा, झलक सुवेदी पृष्ठ १६५)। त्यही असमान व्यवहारविरूद्ध गेसोले लामो समय आन्दोलन गरेको थियो।
जिन्दगीभर ब्रिटिशको सेवा गरेर उतैको जीवनशैलीमा बानी परेका लाहुरेलाई नेपाल फर्केर फेरि खेतीकिसानीमा लाग्नुपर्यो। तर सन् १९७४ अप्रिलमा गोर्खा सैनिकका लागि ब्रुनाईको जागिर खुल्यो। त्यहाँका सुल्तानलाई ‘मलयन सेक्युरिटी गार्ड’ले सुरक्षा दिन्थ्यो। तर मलयन सेक्युरिटी गार्डले तीन जना विद्रोही भगाइदिएपछि सुल्तानले मलयन सेक्युरिटी गार्डलाई सुरक्षाको जिम्मेवारीबाट हटाए। उनले सिंगापुर पुलिसको गोर्खा कन्टिन्जेन्टसँग सल्लाह गरेर सिंगापुर पुलिस र हङकङमा कार्यरत गोर्खा ब्रिगेडका अवकाशप्राप्त सैनिकलाई सेक्युरिटी गार्डमा लिने निर्णय गरेका थिए (सुवेदी, पृष्ठ. १७७)। यही कारण अवकाश प्राप्त गोर्खा सैनिकले नयाँ अवसर मात्र पाएनन्, आर्थिक अवस्था मजबुत हुन पायो।
गेसोका संस्थापक पदमबहादुर गुरुङ लाहुरेको कमाइबाट अहिलेका प्रमुख शहर पोखरा, धरान, बुटबल नबनेको दाबी गर्छन्। “लाहुरेले कसरी विकास गरे? पहिला राणाले बिनातलब बेचे, जुनबेला नेपालमा रोजगारीको समस्या नै थिएन। हुकुमी शासनको बलमा बेचेको प्रमाण भीसी तक्मा पाउने १३ जना नेपाली हुन्,” उनी भन्छन्, “तर यी १३ भीसी नेपालीलाई कुनै तलबभत्ता दिइएको छैन। त्यहीँबाट प्रष्ट हुन्छ, एक पैसा रेमिट्यान्स नेपाल आएन।”
ब्रिटिशको उपनिवेशबाट भारत मुक्त हुने बेलामा मलायाको जंगलमा नेपालीलाई युद्ध लड्न पठाएपछि मात्र गोर्खा सैनिकलाई पेन्सनको व्यवस्था गरिएको गेसो संस्थापक गुरुङ बताउँछन्। तर कानूनबाहिर रहेर गोरा हाकिमको तजबिजमा पेन्सन दिएको उनको भनाइ छ। “ब्रिटिश सरकारले बनाएको कानूनअन्तर्गत नलगी गोरा हाकिमको तजबिजले नेपालको जीवनस्तर हेरेर जीवन यापन गर्न सक्ने तलब दिइयो। भारतमा शासन गर्दा बेलायतीले नेपालीको जीवनस्तर बुझेका थिए, जसकारण विभेद कायम रह्यो,” उनी भन्छन्।
त्यसबेला समुद्र पार गएको भत्ता ३० रूपैयाँ दिइन्थ्यो। त्यतिखेर नेपालीले १५ वर्ष सेवा गरेर ५ हजार नेपाली रूपैयाँ पाउँथे। “एक त नेपालमा जीवनयापन गरिरहेको मान्छेलाई बेलायतको जीवनशैली सिकायो, बियर खान सिकायो। बानी परिसकेपछि नेपाल पठाइदियो,” उनी भन्छन्, “म २०६९ सालमा ४१ रूपैयाँ पेन्सनमा आएको हुँ।”
लामो समयको आन्दोलन मात्र नभई मुद्दासमेत जितेर गोर्खाहरूले बेलायती नागरिकसरह सुविधा पाउने भए। तर यसमा पनि बेलायतले चलाखी गरेको गुरुङ बताउँछन्। “पहिला तलबभत्ता कम थियो, सेवा पूरा भएपछि नेपाल पठाइदिन्थ्यो। अहिले समान सेवा सुविधा दियो, उहीँको नागरिकता दियो। उसको रेमिट्यान्स नै यहाँ आउँदैन। कसरी लाहुरेको पैसाले यहाँको विकास हुन्छ?” उनी भन्छन्।
पोखरामा ठडिएका चिटिक्कका घर लाहुरेको दोस्रो ‘करियर’बाट बनेको गेसो संस्थापक गुरुङ बताउँछन्। बेलायती सेनाबाट अवकाश भएर बु्रनाइमा सेक्युरिटी गार्डको जागिर खाई ल्याएको पैसाले नेपालमा घर बनाएको उनको भनाइ छ। “ब्रिटिश लाहुरेबाट यो राष्ट्रलाई आर्थिक आम्दानी भएकै छैन। यदि, कसैले भएको भन्छ भने म अर्थविद्सँग बसेर विमर्श गर्न तयार छु,” उनी भन्छन्।
अहिले समान पेन्सन दिए पनि उतै बस्ने वातावरण बनाइदिएपछि लाहुरेहरू फर्केर आउन छाडेको उनी बताउँछन्। लाहुरेहरू नआएपछि उतै जन्मिएका उनीहरूका छोराछोरी पनि नआउने उनी बताउँछन्।
“वैधानिक रूपमै केआई सिंह पुलमाथि भर्ती लिइन्छ। नेपाली भूमिमै नेपालीका सन्तति ब्रिटिशको ऐन कानूनअनुसार शपथ लिन लगाएर ब्रिटिश नागरिक बनाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नफर्कने गरी सरकारले नै उता निर्यात गरिरहेको छ। भनेपछि लाहुरे भएर नेपालमा कहाँबाट पैसा आयो?”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
