रुसले नयाँ कानून बनाएर विदेशीलाई समेत ‘कन्ट्र्याक्ट आर्मी’मा भर्ती गरिरहेको छ। आकर्षक तलब र एक वर्षपछि त्यहीँको नागरिकता पाउने लोभमा नेपाल, भारत, बांग्लादेश, क्युबालगायत देशका नागरिक भर्ती भइरहेका छन।
काठमाडौँ– “गोली छेक्ने छाती हो यो, कहाँ कमजोर छ र... बाँचुन्जेल रुन दिन्न मेरो विश्वास गर...”
“सुनको बाला लाउने धोको, फुकाउनु छ ऋणको पोको। जाउँ साइँला धन कमाउन...”
यस्तै–यस्तै गीत तथा हिन्दी चलचित्रका ‘डाइलग’ राखेर रुसी सेनाको बर्दीमा अभिनय गर्दै शेयर गरिएका नेपाली युवाका भिडियो सामाजिक सञ्जाल तथा युट्युबतिर प्रशस्तै देख्न सकिन्छ। रुसी सेनामा भर्ती भएका नेपाली युवा फुर्सद पाउनेबित्तिकै टिकटक, भिडियो, रिल्स बनाउन भ्याइहाल्छन्। तर उनीहरू कतिबेला युक्रेनी सेनाको आक्रमणमा पर्ने हुन् भन्ने टुंगो छैन।
विभिन्न उद्देश्यका साथ रुस पुगेका नेपालीहरू त्यहाँको सेनामा भर्ती हुने क्रम बढेको छ र दुखद् खबर पनि आइरहेका छन्। रुसी सेनामा भर्ती भएका ६ जना नेपालीले ज्यान गुमाइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ। तीन जना युक्रेनी सेनाको कब्जामा छन्।
केही समय अघिसम्म टिकटकमा सक्रिय काभ्रेका सिद्धार्थ ढकाल, बर्दियाका विवेक खत्री र दाङका प्रतीक पुन अहिले युक्रेनी सेनाको नियन्त्रणमा छन्। युक्रेनी पक्षको तर्फबाट सार्वजनिक गरिएका भिडियोमा बताइएअनुसार तीनै जना विद्यार्थी भिसामा रुस पुगेका थिए। त्यहाँ अरू काम खोज्नभन्दा सजिलो र कमाइ पनि धेरै हुने भएपछि भर्ती भएको उनीहरू स्वयं तथा आफन्त बताउँछन्।
ठ्याक्कै कति नेपाली रुसी सेनामा भर्ती भएका छन् भन्ने यकिन तथ्यांक सरकारसँग छैन। तर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत हप्ता २०० नेपाली रुसी सेनामा भर्ती भएको बताएका थिए। परराष्ट्र मन्त्रालयले भने यसको पुष्टि गरेको छैन। रुसी सेनामा आबद्ध सैनिकको संख्या यकिन गर्न कठिन भएको मन्त्रालयको भनाइ छ।
परराष्ट्र सचिव सेवा लम्सालले अवैधानिक तवरले जाने गरेका कारण यकिन संख्या थाहा हुन नसकेको बताइन्। “नेपालको बाटो मात्रै भएर गए पो रेकर्ड हुन्छ। कोही भारतबाट, कोही खाडीका देशबाटै पनि गएका छन्। त्यो तथ्यांक जम्मा पार्न समय लाग्छ,” उनले भनिन्।
मस्कोस्थित नेपाली दूतावासको भनाइ पनि त्यस्तै छ। उता रुसी सेनामा भर्ती भएकाहरू भने त्यहाँ एक हजार जति नेपाली भर्ती भइसकेको दाबी गर्छन्।
आक्रमणमा घाइते भएर अहिले रुसमै उपचाररत अनुप (नाम परिवर्तन)ले त्यही अस्पतालमा अरू ५/६ जना नेपालीको पनि उपचार भइरहेको र सबैका कुरा सुन्दा एक हजार जति नेपाली रुसी सेनामा गइसकेको अनुमान गर्न सकिने बताए। उनी भन्छन्, “यहाँ उपचार गरिरहेका साथीहरूको कुरा सुन्दा एकै लटमा २०/३० जना जति भर्ती भएको भन्छन्। एक वर्षदेखि यसरी भर्ती भइरहेका छन्, हजारभन्दा धेरै होलान् नि।”
रुसी सेनामा विदेशीलाई भर्ती
विश्वमा अमेरिकापछि दोस्रो धेरै सेना भएको देश रुस हो। गत डिसेम्बर १ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक लाख ७० हजार सेना थप गर्ने घोषणा गरेका थिए। यसले १३ लाख सेनासहित रूसी सैन्य कर्मचारीहरूको कुल संख्या २२ लाख पुग्ने बताइएको छ।
युक्रेनसँग युद्ध शुरू गरेपछि रुसी सेनाले ठूलो क्षति बेहोरेको छ। युक्रेनको जेनेरल स्टाफ अफ आर्म्ड फोर्सका अनुसार गत नोभेम्बरसम्म २० महिनाको अवधिमा रुसले तीन लाख सेना गुमाइसकेको छ। युक्रेनका प्रधानसेनापति भ्यालेरी जलुझ्नीका अनुसार तीमध्ये कम्तीमा डेढ लाखको मृत्यु भएको छ भने, बाँकी घाइते तथा अंगभंग भएर काम गर्न अक्षम छन्।
उता, युक्रेनले अमेरिकाको बलियो सहयोग र समर्थन पाइरहेको छ। गत हप्ता अमेरिका भ्रमणमा गएका युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले २० करोड अमेरिकी डलर सहयोग गर्ने वाचा गरेर पठाएका छन्। युक्रेनले यस्तो सहयोग निरन्तर पाइरहेको छ। यसबाट सजिलै अनुमान गर्न सकिन्छ कि, युक्रेनसँग युद्ध गर्न रुसलाई कति सकसपूर्ण छ। त्यसैमाथि मृत्यु र घाइते भएका कारण सेनाको संख्या घट्दै गएपछि त्यसको भर्पाईका लागि राष्ट्रपति पुटिनले नयाँ कदम चालेका छन्।
रुसको तल्लो सदन डुमाले २०२२ सेप्टेम्बर २० मा रुसी सशस्त्र बल तथा सेनामा भर्तीको लागि आकर्षित गर्न नयाँ कानून अनुमोदन गर्यो। जसमा एक वर्ष सेवा गरेका विदेशी नागरिकहरूलाई एउटा सरल प्रक्रियामार्फत रुसी नागरिकता प्रदान गर्ने प्रस्ताव गरिएको थियो। त्यही कानूनले १८ देखि २७ वर्ष उमेर समूहका सबै रुसी पुरुषले एक वर्षे अनिवार्य सैनिक सेवा लिनुपर्ने बाध्यकारी व्यवस्था पनि गरेको छ। तर त्यो उमेर समूहका रुसी युवा युद्ध लड्नुपर्ने डरले देशै छाडेर पलायन हुन थाले। यो क्रम निरन्तर चलिरहेको छ।
रुसी नागरिक युद्ध लड्न चाहिरहेका छैनन्। उनीहरू युक्रेनसँग जारी युद्धको विरोध गरिरहेका छन्। रुसी युवाको विदेश पलायन बढेपछि न्युयोर्क टाइम्सले मस्कोका पुरुषहरू कहाँ गए भनेर रिपोर्ट नै तयार पारेको थियो।
रुसले सेनाको संख्यालाई कायम राख्न विश्वविद्यालयमा अध्ययनरत आफ्ना नागरिकलाई उनीहरूको अध्ययन खर्च बेहोर्ने शर्तमा सेनामा भर्ती हुनुपर्ने प्रलोभन देखाउँदै सम्झौता गर्ने गरेको छ। मस्कोस्थित रक्षा मन्त्रालयले रुसीहरूलाई आफ्नो जागिर छोड्न आग्रह गर्दै एउटा भिडिओ नै सार्वजनिक गरेको थियो। भिडिओमा सेनामा भर्ती हुनेलाई चार गुणा बढी तलब दिने वाचा गरिएको छ। त्यति गर्दा पनि नागरिकहरू सेनामा आकर्षित नभएपछि पुरुषहरूलाई खोज्दै भर्ती हुन बाध्य पार्न थालियो।
जर्मनीको राज्य नियन्त्रित समाचार संस्था डीडब्लूले पनि रुसले सेनामा अनिवार्य भर्ती हुनुपर्ने नीति ल्याएपछि धेरै रुसी युवाहरू भागिरहेको जनाएको छ। त्यहाँबाट भागेर उनीहरू छिमेकी देश जर्जिया, काजकिस्तान र जर्मनीमा बस्न थालेका छन्। सन् २०२२ को अन्तिमसम्म ६ देखि १० लाख रुसी नागरिकले देश छाडेको फोर्ब्सले जनाएको छ।
रुसी सदनले पारित गरेको उक्त कानूनमा राष्ट्रपति पुटिनले २०२३ मे १५ मा हस्ताक्षर गरेका छन्। त्यतिन्जेल धेरै रुसी युवाले देश छाडिसकेका थिए। त्यसपछि रुसका शहरका होडिङबोर्डदेखि बाटो छेउछाउमा व्यापक विज्ञापन गर्न थालियो। रुसी सेनामा भर्ती गराउने एजेन्टहरू सक्रिय भए। अनि कमाइ राम्रो हुने र त्यहाँको नागरिकता पाउने लोभमा परेर नेपाल, क्युबा, बांग्लादेश, भारतलगायत धेरै देशका युवा रुसी सेनामा भर्ती हुन पुगे।

थाकेका रुसी सेनालाई सघाउन ‘कन्ट्र्याक्ट आर्मी’
युक्रेनी तथ्य जाँच गर्ने वेबसाइट मोल्फरका अनुसार रूससँग २७ निजी सैन्य कम्पनीहरू छन्। विशेषगरी वाग्नर, कन्भोय, प्याट्रिअट, मोरन सेक्युरिटी, शिल्डलगायत सैन्य कम्पनीले सेना उपलब्ध गराइरहेका छन्। विदेशी नागरिक कोही ती कम्पनीमार्फत तथा केही रुसी रक्षामन्त्रालयमार्फत सैनिक सेवामा भर्ती भइरहेका छन्।
रुसी सुरक्षा परिषदका उपाध्यक्ष दिमित्री मेदभेदेवका अनुसार रुसले गत जनवरी १ देखि डिसेम्बर १ सम्म ११ महिनामा चार लाख ५२ हजार ‘कन्ट्र्याक्ट आर्मी’ अर्थात् करारका सेना भर्ती गरेको छ। नेपालीहरू पनि एक वर्षे करार सम्झौता गरेर नै भर्ती भइरहेका छन्। रुसी सेनाको नियन्त्रणमा रहेका विवेकको सार्वजनिक भिडियोमा उनले त्यहाँको रक्षा मन्त्रालयसँग करार सम्झौता गरेको र रसियाको एअरबर्न फोर्स ब्रिगेडमा संलग्न रहेको बताएका छन्।
उनीहरू त्यहाँ ‘रसियन कन्ट्र्याक्ट सर्जेन्ट’का रूपमा भर्ती गरिन्छ। यसरी भर्ती भएकाहरूलाई कुनै ठूलो जिम्मेवारी दिइँदैन। उनीहरू पैदल सेना तथा ‘गन मेन’ हुन्छन्। युद्धमा लड्ने सेनाहरूलाई सजिलो होस् भनेर ‘कन्ट्र्याक्ट सर्जेन्ट’लाई अगाडि लगाउने गरिन्छ।

रुसमा उपचाररत अनुप यसरी भर्ती भएका सेनाहरूलाई रुसी सेनाको सहयोगीको रूपमा प्रयोग गर्ने गरिएको बताउँछन्। उनीहरूलाई तालिम पनि खासै नदिइने र सामान्य बन्दुक र केही ‘मेडिकल किट’ दिएर सिधै युद्धग्रस्त क्षेत्रमै पठाउने गरिएको उनको भनाइ छ। “१० दिनको तालिममा बन्दुक चलाउन र सेनाको कोड भाषा मात्र सिकाएको थियो,” उनी भन्छन्, “हामीलाई त केही थाहा नै हुँदैन, उनीहरूकै पछि जाने हो। जे जे उनीहरूले भन्यो त्यही मान्ने हो।”
उनले आफूलाई दक्षिणपूर्वी युक्रेनको बाखमुत क्षेत्र नजिक खटाइएको र त्यहाँ क्याम्पमा बसिरहेको बेला युक्रेनी सेनाको ड्रोन आक्रमणबाट घाइते भएको बताएका छन्।
रुसी सेनामा रहेका गोरखाका रजिन श्रेष्ठका बुवा रोलक श्रेष्ठ आफैँ भूतपूर्व सैनिक हुन्। उनी भन्छन, “नौ महिना तालिम गराएर मात्रै युद्धमा पठाउने भनेर सम्झौता गर्ने, तर एक हप्ता पनि तालिम नदिई नेपाली युवालाई युद्धग्रस्त क्षेत्रमा खटाउनुलाई के भन्ने त?” उनी भन्छन्, “उनीहरूले युद्ध अभ्यास गरेकै हुँदैन, हतियार मात्र समात्न सिक्दैमा कसरी सेना हुन्छ? यसरी कच्चा केटाकेटीलाई लड भनेर पठाएपछि मरिहाल्छन् नि।”
रुसी सञ्चारमाध्ययमले जनाएअनुसार सीमा नजिक युक्रेनी भूभागमा ६ लाख १७ हजार रुसी सेना परिचालित छन्। तर लामो समयसम्म त्यसरी खटिँदा कोही त्यहीँबाट भाग्ने गरेको, बिरामी हुने गरेको कारण करारका सैनिकलाई सीमा क्षेत्रमा खटिएका रुसी सेनाको विकल्पका रूपमा हेर्न थालिएको छ।
रुसी आर्मीका श्रीमती र आमाहरूको समूहले सीमा क्षेत्रमा करार सैनिकलाई खटाउन र आफ्ना श्रीमान् तथा छोरालाई घर पठाउन भनिरहेका छन्। उनीहरूले यस्तो माग राखेर मस्कोमा आन्दोलन र विभिन्न गतिविधि गरिरहेका छन्।
मस्को टाइम्ससँग आन्दोलनरत समूहका सदस्यले भनेका छन्, “हामी विश्वस्त छौँ कि रक्षा मन्त्री सर्गेई शोइगुले २०२३ को अन्त्यसम्ममा त्यहाँ परिचालित सेनाहरूलाई करारका सेनाले प्रतिस्थापन गर्ने वाचा पूरा गर्नेछन्।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
